झापा– जङ्गली हात्तीको बढ्दो आतंकका कारण झापाको उत्तरी क्षेत्रका किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । भारतको पश्चिम बङ्गालबाट हुल बाँधेर नेपाल प्रवेश गर्ने हात्तीले खेतबारीको बालीनाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीको जनधन असुरक्षित बनेको छ ।
शुक्रबार राति अर्जुनधारा नगरपालिका–६ स्थित खेमकुमारी श्रेष्ठको मकैबारीमा पसेका दुईवटा जङ्गली हात्तीले मकै खाएर र कुल्चेर नष्ट गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको थियो ।
हात्तीको त्रासका कारण जिल्लाका विभिन्न स्थानमा किसानले खेतमा पाकेको बाली सुरक्षाकर्मीको सहयोगमा भित्र्याउनुपर्ने अवस्था छ । गत साता मेचीनगर नगरपालिका–४ बाहुनडाँगीकी किसान लक्ष्मी घिमिरेले पनि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा पाकेको धान हतारहतार काटेर घर भित्र्याइन् । तर, खेतबाट धान भित्र्याए पनि उनलाई भकारीमा राखेको अन्न कसरी जोगाउने भन्ने चिन्ताले छाडेको छैन ।
‘खेतबाट धान काटेर घर त ल्याइयो, तर भकारीमा थन्क्याएको अन्न कसरी जोगाउने भन्ने पिरलो छ’, घिमिरेले भनिन्, ‘हात्तीले खेतको मात्र होइन, घरकै भित्ता भत्काएर भित्र राखेको धानसमेत खाइदिन्छ । वर्षभरि के खाने भन्ने चिन्ताले सताएको छ ।’
मेचीनगर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका सयौँ किसान अहिले यस्तै समस्याबाट गुज्रिरहेका छन् ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख रामबरत यादवका अनुसार भारतको आसाम र पश्चिम बङ्गालका जङ्गल हुँदै मेची नदी पार गरेर नेपाल प्रवेश गर्ने हात्तीको परम्परागत जैविक मार्ग (करिडोर) अवरुद्ध हुँदा समस्या थप जटिल बनेको हो । मङ्सिरमा धान पाक्ने भएकाले खानाको खोजीमा हात्ती बस्ती पस्ने क्रम बढ्ने गरेको उनले बताए ।
विशेषगरी बाहुनडाँगी क्षेत्रमा जडान गरिएको सोलार फेन्सिङ (विद्युतीय तारबार) ठाउँठाउँमा बिग्रिएको र हात्तीले वैकल्पिक बाटो प्रयोग गर्न थालेकाले बस्तीमा क्षति बढेको यादवको भनाइ छ ।
मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले हात्ती नियन्त्रणका लागि रातिको समयमा गस्ती बढाउनुका साथै ‘¥यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको बताए । तर, हात्तीको सङ्ख्या ठूलो भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको उनले उल्लेख गरे ।
पीडित किसानले बिग्रिएका विद्युतीय तारबार तत्काल मर्मत गर्न, नियमित साइरन र उज्यालोको व्यवस्था मिलाउन तथा बालीनालीमा भएको क्षतिको उचित र शीघ्र क्षतिपूर्ति उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरेका छन् ।














प्रतिक्रिया