काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर पार्ने काम भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा एमालेको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा आयोजित कार्यक्रममा ओलीले तत्कालिन सरकारको सिफारिसमा असंवैधानिक रुपमा प्रतिनिधिसभाको विघटन गरेर राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको बताए ।
उनले प्रधानन्यायाधीश भइसकेका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डराएर संसद बिघटन गरेको आरोप लगाए । अध्यक्ष ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध अदालतमा मुद्दा दर्ता गर्दा फैसला नगरि चूप लागेर बसेको बताए । उक्त मुद्दामा जस्तो फैसला आएपनि एमालेलाई स्वीकार्य हुने उनको भनाइ छ ।
उनले लोकतान्त्रिक संस्थाहरु संवैधानिक तवरले चल्न नसकेको उल्लेख गरे । अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक र आतंकपूर्ण आगजनी तथा तोडफोडबाट सुरु भएको उनले दाबी गरे । अध्यक्ष ओलीले देशभित्र कुनै पनि प्रकारका बेथिति हुन नदिन सचेत गराउने, बेथिति रोक्ने र रोकेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले रहर पूरा गर्न नभई विकट परिस्थितिमा तात्कालिक र दीर्घकालीन प्रतिवाद गर्ने हिसाबले नेसनल भोलेन्टियर फोर्स बनाइएको स्पष्ट पारे । अध्यक्ष ओलीले विकास निर्माण र उद्यमशीलतामा नमूना तथा दृष्टान्त बनेर अघि बढ्न र जनता वा देशलाई अप्ठ्यारो पर्दा उभिन भोलेन्टियर फोर्सलाई निर्देशन दिए ।














प्रतिक्रिया