इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द हो । ‘इस्लाम’ को मूल रूप ‘स-ल-म’ हो र यसको दुई वटा अर्थ लाग्दछ । पहिलो अर्थ शान्ति र दोस्रो अर्थ आत्मसमर्पण हुन्छ । इस्लाम धर्मका अनुयायीहरू एकेश्वरवादी हुन् ।
उनीहरूको विश्वास अनुसार संसारमा ईश्वर केवल एक छन् । त्यसैले एउटै ईश्वर अर्थात् अल्लाहको भक्ति गर्नु नै इस्लामीहरूको एक मात्र उद्देश्य हुन्छ । इस्लाम धर्मको पवित्र धर्मग्रन्थको नाम ‘कुरआन’ हो । कुरआन वा कुरानको शाब्दिक अर्थ बारम्बार पढिने पुस्तक भन्ने लाग्दछ ।
कुरआनको दार्शनिक परम्पराअनुसार चल्ने अनुयायीहरूलाई नै ‘मुस्लिम’ भनिन्छ यो शब्द पनि अरबी भाषाको हो । मुस्लिमहरूको सामूहिकतालाई नै मुसलमान भनिन्छ ।
मुसलमानहरूलाई यो दुनियाँमा आदमद्वारा ल्याइएको हो भन्ने मान्यता तथा विश्वास रहेको छ । उनीहरूको विश्वास अनुसार मानिसहरूलाई सत्कर्म, सुमार्ग तथा सत्यवादी बनाउनकै लागि ईश्वरले संसारमा पटक-पटक पैगम्बरहरू पठाएका हुन् । यसरी पैगम्बरहरू अर्थात् ईश्वरका दूतहरू एक लाख चौबीस हजार पैगम्बरहरू ईश्वरले पठाएका र तीमध्ये अन्तिम पैगम्बर मुहम्मद अन्तिम हुन् भन्ने विश्वास मुस्लिमहरुमा पाइन्छ ।
यी विभिन्न पैगम्बरहरूमा आदम, नूह, इब्राहिम, इस्माइल, इसहाक याकुब, युसुफ, मुसा, दाउद, सुलेमान, ईशा आदि हुन् । यसरी प्रथम पैगम्बर आदमदेखि अन्तिम पैगम्बर मोहम्मदसम्म ईश्वरका दुत हुन् भन्ने विश्वास मुस्लिम समुदायमा पाइन्छ ।
पैगम्बर मुहम्मद अत्यन्तै परोपकारी एवम् क्रान्तिकारी सोचका व्यक्ति थिए । उनको जन्म पिता अब्दुल्लाह र माता अमिनाका एक मात्र पुत्रका रूपमा अरबको एउटा गरिब परिवारमा भएको थियो । उनी कुरैशी परिवारका हुन् ।
उनी गरिब भएका कारण नै शिक्षादीक्षा प्राप्त गर्न सकेनन् तर उनले एकाग्र ध्यानबाट आफूले ज्ञान प्राप्त गरे भन्ने विश्वास गरिन्छ । पैगम्बर मुहम्मद जनप्रेमी तथा जनसेवी भएकै कारण तत्कालीन शासकहरू उनीदेखि चिढिएका थिए ।
त्यसैले उनी ५३ वर्षको उमेरमा आफ्नो जन्मभूमि अरबको मक्का छाडेर मदिना सहरतिर प्रस्थान गरेको मानिन्छ । यसरी आफ्नो जन्मभूमि घटनालाई मुस्लिमहरू हिजरत (त्याग) भन्ने गर्दछन् । त्यही त्याग गरेको दिनदेखि एउटा अरबी संवतको सुरुवात भएको थियो । यसलाई हिज्री सना अर्थात् हिज्री सम्वत् भनिन्छ । अहिले यो संवत् १४३८ चलिरहेको छ र पैगम्बर मोहम्मदको जन्म हिज्रीपूर्व ५३ तिर अर्थात् आजभन्दा १४९० वर्ष पहिले भएको भनिन्छ ।
पैगम्बर मुहम्मदले एक मात्र ईश्वर अल्लाह रहेको र अन्य देवीदेउताहरू ईश्वरका दूतहरू भएको सन्देश दिएका छन् । मोहम्मदलाई सुरु सुरुमा खासै पत्याइएन । त्यसैले उनले आफ्नो परिवार र केही विश्वासीहरूको सानो जत्थाको निर्माण सुरु गरे । यसरी सानो समूहलाई सुरु गरिएको धर्मलाई इस्लाम भनियो र यसको अर्थ हो-आदेश मान्नु, आज्ञा पालना गर्नु वा आत्मसमर्पण गर्नु ।
ईश्वरीय आदेशहरू मान्ने वा आज्ञाको पालना गर्ने भएको हुँदा नै यस धर्मको नाम इस्लाम भनिएको हो । त्यसैले इस्लाम धर्मका अनुयायीहरूले पूर्ण रूपमा अल्लाहमा समर्पण भएर जीवनयापन गर्ने मान्यता राख्दछ । यसरी हेर्दा के देखिन्छ भने सुरुमा आफ्नो धार्मिक गतिविधि अगाडि बढाउन पैगम्बर मोहम्मदलाई निकै असहज र कठिन थियो ।
मक्काका व्यापारी र स्थानीय बासिन्दाको उग्र विरोधका कारण मक्का छाडेर उनी मदिना सहर पुगे । मदिनामा पुगेर भने उनले केही शुभेच्छुकहरूको सहयोग र समर्थनमा शासकका रूपमा काम गरे । मदिनाका मानिसहरूले उनलाई अन्तिम पैगम्बरका रूपमा स्वीकार गरे ।
मदिनामा मुहम्मद पैगम्बरले शासन गरेको केही वषपछि मक्काका बासिन्दाहरूले मदिनामाथि आक्रमण गरे । उक्त लडाई सात वर्षसम्म चल्यो भने उक्त युद्धमा मुहम्मदका अनुयायीहरूले अर्थात् मदिनाका जनताले विजय प्राप्त गरे । यसरी मदिनाका जनताहरूले मक्का सहरलाई ईसं ६३० मा आफ्नो अधिनमा लिएको थियो ।
यसपछि मुहम्मद र उनका अनुयायीले मूर्तिहरू तोड्न थाले भने एक मात्र ईश्वरका रूपमा अल्लाहलाई स्वीकार गर्दै आफूलाई ईश्वरका दूतका रूपमा उभ्याएर इस्लाम धर्मको धार्मिक आधार कुरआनको प्रादुर्भाव गरे ।
कुरआन र कुरान के हो ?
कुरआन वा कुरान कसैले लेखको वा रचना गरेको नभई ईश्वरीय वचनका रूपमा लिइन्छ । यसको श्लोकहरू सबै एकैपटक प्राप्त गरिएको नभई २३ वर्षसम्म समय लागेर यसको अवतीर्ण वा अवतार (प्रकट) भएको मानिन्छ । कुरआनको प्रथम श्लोक पैगम्बर मुहम्मद मक्काको गुफामा चिन्तन गरिरहेको बेलामा प्रकट भएको मानिन्छ । यस बेला महुम्मद ३९ वर्षका थिए भन्ने विश्वास गरिन्छ । यसरी कुरआनको पहिलो श्लोकको उत्पत्ति ईसं ६१० मा भएको र अन्तिम श्लोक ईसं ६३३ मा मुहम्मदको मृत्यु हुनुभन्दा केही समय पहिलो भएको मानिन्छ ।
कुरआनमा जम्मा ११४ अध्याय रहेको छ जसलाई सूरह भनिन्छ यसरी कुरआनमा ११४ अध्याय ६२३६५ श्लोक र ७७९३३ अक्षरहरू समाविष्ट छन् । कुरआनका श्लोकहरू अवतीर्ण (प्रकट) भएपछि ती श्लोकहरूलाई पैगम्बर मुहम्मदले कुनै लेखकलाई बोलाएर त्यसको विषय र प्रसङ्ग अनुसारको अध्यायमा विभाजन गर्न लगाएको र विभिन्न विषयवस्तुका अध्यायहरू विभाजित भएको विश्वास गरिन्छ ।
सुरुमा कुरआन मौखिक रूपमा कष्ठाग्र गरेर मात्र स्मृतिका रूपमा राख्ने गरिएको र पछि मात्र यसलाई लिखित रूपमा उतार्ने गरिएको बुझिन्छ । ‘कुरआन’ अरबी भाषा हो र यसको शाब्दिक अर्थ हुन्छ – शब्द र अर्थलाई मिलाएर पढ्नु वा बारम्बार पढ्नु ।
कुरानलाई मानवजीवनको पूर्ण संविधान जसले प्रत्येक समयमा मार्गदर्शन गर्दछ । आदमको पालादेखि सुरु भएर मुहम्मदसम्म आएर कुरआनको पूर्णता भएको मानिन्छ । कुरआनलाई किताब फुरकान जिक्र, जिंका, नूर, हुँदा आदि पनि भनिन्छ । कुरआनमा अल्लाहको चर्चा गरिएको पाइन्छ ।
‘अल्लाह’ शब्द अल र इलाह जोडेर बनिएको छ जसको अर्थ ‘अल्लाह’को शाब्दिक अर्थ सर्वशक्तिमान, अनादि, अनन्त, सर्वज्ञ, सर्वोत्तम, दयावान, सर्वगुण सम्पन्न, अत्यन्तै उच्च आदि लाग्दछ । कुरआनमा प्रयोग हुने अर्को महत्वपूर्ण शब्द नवी र रसूल हो ।
नवीको अर्थ अल्लाहको मार्गदर्शन प्राप्त व्यक्ति र रसूलको अर्थ पढाइएको वा अह्राइएको भन्ने लाग्छ । यसरी हेर्दा के देखिन्छ भने नवी र रसूलको अर्थ मोहम्मद वा ईश्वरको दर्शन गराउने उद्देशयले पढाइएको दूत भन्ने अर्थ लाग्दछ । यसरी नै बाह्य, फरिश्ता आदि शब्दको पनि कुरआनमा प्रशस्त मात्रामा प्रयोग भएको देखिन्छ ।
मूलतः इस्लाम बन्नका लागि मुहम्मदले कुरआनमा मुख्य पाँचवटा कुरामा जोड दिएका छन् – पहिलो अल्लामाथि विश्वास, दोस्रो अल्लाहका दूतहरू माथि विश्वास, तेस्रो अल्लाहका किताबमा आस्था, चौथो अल्लाहका रसूलहरूमाथि आस्था र पाचौँ आखिरतमाथि आस्था ।
पैगम्बर मुहम्मदले कुरआनमा मानिसलाई अल्लाहको इच्छाअनुसार जीवनयापन गर्ने विधि बताएका छन् । ती विधिहरूलाई समग्रमा उपासना भनिन्छ । उपासनालाई मुस्लिमहरूले ईश्वरले सेवाको रूपमा अर्थ्याइएको पाइन्छ । उनीहरूको अनुसार सत्य बोल्नु, गलत नबोल्नु, अर्काको हत्या, हिंसा नगर्नु, स्वार्थमा नफस्नु, इश्वरसित डराउनु, अर्काको हत्या, हिंसा नगर्नु, स्वार्थमा नफस्नु, ईश्वरसित सधैँ डराउनु अर्थात् ईश्वरको ख्याल गर्नु, गरिबलाई सहयोग गर्नु आदि परोपकारको समग्रतालाई उपासना भनिन्छ ।
समग्रमा भन्दा मुसलमानहरूले उपासनाका मुख्य यी पाँचवटा अनिवार्य अङ्ग मानेका छन्-
१. नमाज
नमाज मुसलमानहरूको पहिलो र अनिवार्य पालना गर्नुपर्ने उपासना हो । बिहानै उठेर शुद्ध भए पछि अल्लाहका सामु, अल्लाहलाई सम्झिएर बसेर, निहुरिएर नमाज पढ्नु पर्छ । यसरी मुस्लिमको धर्मअनुसार दैनिक पाँचपटक नमाज पढ्नु पर्दछ । यसरी फरक फरक समयमा नमाज पढ्ने कामलाई फरक फरक नामकरण गरिएको पाइन्छ । विहानको समयमा पढिने नमाजलाई फज्र त्यसपछि क्रमशः मध्यान्हमा जुहर, अस सुर्यास्त हुनुअघि, मग्रिव झमक्क रात पर्नुअघि, ईशा मध्यरातमा पढिने यसरी फरक फरक समय अल्लाहको भक्तिमा जीवन समर्पण गर्नु पर्दछ भन्ने दार्शनिक चिन्तन मुस्लिम समुदायमा पाइन्छ ।
२. जकात
जकात उपासनाको दोस्रो विधि र भक्तिभाव हो । जकात भनेको दान गर्नु हो । आफ्नो आम्दानीको कम्तीमा २.५ प्रतिशत गरिब, असहायहरूलाई दिनु नै जकात हो । मुस्लिम समुदायमा एउटा महत्वपूर्ण पक्ष के छ भने जकात दिएपछि कसैलाई नसुनाउ, झ्याली नपिट, धन्यवादको आशा नगर, विज्ञापन नगर भन्ने मान्यता पाइन्छ ।
३. रोजा
अर्को तेस्रो उपासना हो-रोजा । ‘रोजा’ भनेको उपवास हो । मुस्लिम समुदायमा रोजाको अत्यन्त ठूलो महत्व छ । अरबी क्यालेन्डर अनुसार रोजा नवौं महिना अर्थात् रमजानको महिनामा बिहानदेखि बेलुकासम्म निरहार बसेर रोजाको पालना गरिन्छ । रोजा त्यस्तो उपासना विधि हो जसलाई धनी गरिब, ठूला साना सबैले एकै समयमा अनिवार्य रूपमा सम्पन्न गरिन्छ ।
४. हज
हज भनेको धार्मिक केन्द्रको भ्रमण हो । अझ प्रष्ट भन्ने हो भने मुसलमानहरूले जीवनमा एक पटक मक्का मदिनाको दर्शन गर्नुलाई हज भनिन्छ । मक्का र मदिनाबाट अल्लाहको आवाजहरू संसारभरि पुर्याउने उद्देश्यका साथ हरेकले हज गर्ने गर्दछन् । हज गर्नुको प्रमुख ध्यये भक्ति, उपासना र विश्वव्यापी एकताको लागि पनि हो भन्ने मान्यता मुसलमानहरू पाइन्छ ।
५. इस्लामको सहायता
यो भनेको कट्टरता हो । जस्तासुकै कठिन परिस्थिति आए पनि, अवरोध भए पनि कुनै हालतमा पनि इस्लामको रक्षा र सहायता गर्नु भन्ने मान्यता इस्लामहरूमा पाइन्छ । यसरी अल्लाहमा जीवन त्याग गर्नुलाई जिहाद भनिन्छ । आफ्नो धर्मको रक्षाको लागि आफ्नो शरीरको त्याग गर्नु पनि तयार हुनुपर्दछ अर्थात् जिहादको लागि पनि तयार हुनु पर्दछ भन्ने मान्यता मुसलमानहरूमा पाइन्छ ।
यसरी हेर्दा के देखिन्छ भने पैगम्बरहरूद्वारा निसृत श्लोकहरूको सङ्ग्रह नै कुरआन हो र ती कुरआनहरूको पालना नै हरेक मुसलमानहरूको परम कर्तव्य हो भन्ने चिन्तन मुस्लिम धर्ममा पाइन्छ ।
इद उल फित्र के हो ?
इद उल फित्र मुस्लिम समुदायको अत्यन्तै महत्त्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्व हो । यो पर्वलाई छोटकरीमा इद भनिन्छ । फित्रको अर्थ उपवास तोड्नु अथवा रोजा खोल्नु भन्ने हुन्छ । महिनाभरी रोजा उपवास बसेपछि रजमानको अन्त भई नयाँ चन्द्रमा देखिएपछि यो पर्व मनाइन्छ ।
त्यसैले रोजा अथवा उपवास समाप्त भएको खुसीमा मनाइने पर्व नै इद उल फित्र हो । यो पर्वमा साथीभाइ, इष्टमित्र, आफन्त आदि भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, स्वादिष्ट परिकारहरु बनाएर खाने गरिन्छ । यो दिन गरिब दुःखीलाई दान जकात दिने गरिन्छ । इद सिया, सुन्नी सम्पूर्ण मुस्लिम समुदायले मनाउने साझा पर्व हो । तर चन्द्रमा हेर्ने विधि फरकफरक हुने हुँदा कहिलेकाही यो पर्व फरक दिन पर्न सक्छ ।
नेपालमा मुस्लिम आगमन कहिले भयो ?
नेपालमा मुस्लिमहरूको आगमन मुस्लिमहरूको अन्तिम पैगम्बर भनिएको मुहम्मदकै पालामा भएको मानिन्छ । पैगम्बर मुहम्मदकै पालादेखि नै मुस्लिम धर्मगुरुहरू धर्म विस्तार वा धर्मप्रचार गर्न चिनसम्म जाने गरेको देखिन्छ । यसरी चिनसम्म जाने क्रममा नै मुस्लिमहरूले भारत र नेपालको बाटो प्रयोग गर्ने क्रममा नै नेपालमा मुस्लिमहरूको आगमन भएको मानिन्छ ।
अझ मोहम्मद पूर्वकै पेगम्बरकै पालादेखि नै दक्षिण एसियामा मुस्लिमहरूको फैलावट र दबदबा भइसकेको भन्ने विचारहरू पनि पाइन्छ । यसरी हेर्दा यसरी अरबी क्षेत्रबाट पूर्वतर्फ फैलने क्रममा नै मुसलमानहरूको नेपालमा प्रवेश भएको देखिन्छ ।
यसरी अरब, भारत हुँदै नेपाल प्रवेश गरेका मुसलमानहरूको नेपालका सम्पूर्ण तराई क्षेत्र पहाडी क्षेत्र र उपत्यकामा समेत बसोबास रहेको देखिन्छ ।
मुस्लिमहरूको मातृभाषा उर्दू हो । यस उर्दू भाषाको उत्पत्ति सन् १००१ देखि १२०६ का बीचमा भारतका मुस्लिम बादशाहरूको दरबारमा भएको मानिन्छ । अवधि लगायतका स्थानीय भाषाहरूको सम्पर्क र संसर्गबाट नयाँभाषाको जन्म भएको र उक्त भाषालाई सर्वप्रथम मुगल शासनका बर्दीधारीहरूले प्रयोग गरे ।
त्यसैले सुरुमा यस भाषालाई बर्दीभाषा, उर्दीभाषा हुँदै उर्दु भाषा भनिन्थ्यो । उर्दू भाषाको सम्बन्ध अरबी भाषासँग पनि रहेको देखिन्छ । नेपालको प्रायः सबै मदरसा, मस्जिद, मजार, मिरमाह, दरगाह, मुसाफिरखाना जस्ता संघसंस्थाहरूमा उर्दू भाषाले नै कामकाजी भाषाको रूपमा मान्यता पाएको देखिन्छ ।













प्रतिक्रिया