गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी « Khabarhub

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरण चित्त नबुझे हटाउने तयारी



काठमाडौं- गृहमन्त्री सुधन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह गम्भीर देखिएका छन् । दुवै नेताको सचिवालय स्रोतले दिएको जानकारी अनुसार गृहमन्त्री गुरुङलाई स्पष्टीकरण सोध्ने र उचित जवाफ नआए एक्सनमा जाने बालेन-रविको तयारी छ ।

स्पष्टीकरणको सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले एकिन धारणा नदिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी र रवि निकट नेताहरुले भने पार्टीको अनुशासन आयोगले गुरुङमाथि स्पष्टीकरण सोध्न लागेको दाबी गर्छ । पार्टीको अनुशासन आयोगका पदाधिकारीलाई खबरहबले सोध्दा उनीहरूले अनुशासन मिच्ने जो कोहीलाई पनि कारबाहीको दायरामा पार्टीले ल्याउने जवाफ दिएका छन् ।

पछिल्लो समय बालेनको सचिवालयले पनि गृहमन्त्रीमाथि प्रश्न उठिसकेकाले त्यसको जवाफ उनले दिनुपर्ने बताइरहेको छ । तर लिखित रूपमा स्पष्टीकरण मागेको हो ? भन्ने प्रश्नमा भने बालेनको सचिवालयले जवाफ दिन चाहेन ।

स्रोतले दिएको जानकारी अनुसार सभापति रवि र प्रधानमन्त्री बालेनले गृहमन्त्रीको विषयमा औपचारिक अनौपचारिक रुपमा छलफल गरेका छन् । उनीहरूले सार्वजनिक रूपमै उठेका प्रश्नमाथि गृहमन्त्रीले यथाशीघ्र जवाफ दिनुपर्ने र चित्तबुझ्दो जवाफ नदिए सोच्नुपर्ने अवस्थाबारे छलफल गरेको दाबी गरिन्छ ।

निर्णायक बैठक बस्न बाँकी

प्रधानमन्त्री बालेनले पनि सार्वजनिक रूपमा प्रश्न उठेपछि गृहमन्त्रीले ती प्रश्नहरूको चित्त बुझ्दो जवाफ तथ्यमा आधारित रहेर दिनुपर्ने सूचना गृहमन्त्रीसामु पुर्‍याएका छन् । स्रोतले दाबी गरे अनुसार बालेन र गृहमन्त्रीबीच एक पटक भेटघाट गर्ने तयारी समेत भएको छ । तर यसको जानकारी गराइएको छैन ।

गृहमन्त्रीलाई बालेनको सचिवालयले यथाशीघ्र जवाफ दिन सूचना भने दिइसकेको छ । अहिलेसम्म गृहमन्त्रीले प्रधानमन्त्री बालेनलाई विवादको विषयमा जानकारी दिएका छैनन् । ‘गृहमन्त्रीज्यूलाई सचिवालय मार्फत उठेका प्रश्नहरू के हुन् ? त्यसबारे यथाशीघ्र कुराहरू आउन भनेर जानकारी पुगेको छ । उताबाट त्यसका प्रमाणहरू जुटाउने काम भइरहेको होला । हामी प्रतिक्षा गरिरहेका छौँ ।’ बालेनको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूले एकपटक औपचारिक रुपमै वार्ता गर्नुहुन्छ भन्ने लागेको छ तर अहिलेसम्म त्यसको मिति तय भएको छैन । जे होस् सार्वजनिक रुपमा उठेका प्रश्नहरूको तथ्यमा आधारित भएर जवाफ आओस् भन्ने प्रधानमन्त्रीज्यूको चाहना छ।’

गृहमन्त्रीमाथि प्रश्न उठेपछि बालेन–रविले अनौपचारिक रुपमा केही छलफल भने गरेका थिए । उनीहरूले गृहमन्त्रीबाटै यसबारे तथ्यमा आधारित रहेर जवाफ आउनुपर्ने र नआएर चित्त नबुझेको खण्डमा सोच्नुपर्ने निष्कर्ष निकालेका छन् ।

दुवैको सचिवालयले दिएको जानकारी अनुसार गृहमन्त्रीको सन्दर्भलाई लिएर पछिल्लो समय बालेन र रवि दुवै तनावमा छन् । पार्टी र सरकारमाथि नै गृहमन्त्रीको कारण प्रश्न उठेकाले उपयुक्त निष्कर्ष निकाल्ने पक्षमा उनीहरू देखिएको दाबी गरिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि गृहमन्त्रीको विकल्प खोज्ने पक्षमा देखिँदा प्रधानमन्त्री बालेन भने एकपटक चान्स दिने र उपयुक्त जवाफ नआए मात्रै विकल्प खोज्नुपर्ने लाइनमा देखिएको बताइन्छ ।

यता पार्टीका दोस्रो तहका नेताहरूले भने गृहमन्त्री बारे विकल्प खोजिनुपर्ने आवाज उठाउन थालेका छन् । औपचारिक फोरममा नेताहरूले नबोले पनि अनौपचारिक रुपमा बालेन–रविलाई गृहमन्त्रीको विकल्प खोज्नुपर्छ कि भन्ने विषयमा जानकारी गराइसकेको बताइएको छ ।

गृहमन्त्री गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविले भने एकपटक छलफल गरिसकेका छन् । रविले गृहमन्त्रीलाई आफ्नो काम कर्तव्य अधिकार र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको स्पष्टीकरण दिन सुझाव दिएका थिए ।

बालुवाटार र रविनिकट स्रोतले दिएको जानकारी अनुसार गृहमन्त्रीको विषयमा बालेन रविले निर्णायक छलफल भने गर्न पाएका छैनन् । ‘निर्णायक छलफल र बैठक बस्न बाँकी छ । उहाँहरू सरकारको काम कारबाहीमा प्रश्न उठ्नेगरी कुनै पनि मन्त्रीले काम गर्दा सोच्नुपर्छ भन्ने विकल्पमा पुग्नुभएको देखिन्छ ।’ स्रोतले भन्यो, ‘पार्टीभित्रै पनि धेरै नेताहरूको असन्तुष्टि भएका कारण सोच्नुपर्ने अवस्थामा दुवै नेता पुग्नुभएको छ ।’

गृहमन्त्रीले राजीनामा दिने र हटाउने विषय थाहा छैन

यता गृहमन्त्रीको सचिवालय भने गुरुङले राजीनामा दिने विषय र पार्टीले हटाउने विषयमा आफूहरुलाई जानकारी नभएको बताउँछ । सचिवालय स्रोतका अनुसार अहिलेसम्म गृहमन्त्री राजीनामा दिने तयारीमा छैनन् बरु उनी आफूमाथि उठेको प्रश्नलाई तथ्यमा आधारित रहेर जवाफ दिने तयारीमा छन् ।

‘सार्वजनिक प्रश्न उठेपछि उहाँले जवाफ दिने तयारीमा हुनुहुन्छ भन्ने हामीलाई जानकारी छ । अहिलेसम्म राजीनामा दिने र नभएका आरोपहरूको विषयले तनावमा लिने पक्षमा उहाँ हुनुहुन्न ।’ सचिवालयका एक सदस्यले भने, ‘उहाँको पैतृक सम्पत्ति भएकाले तथ्यमा आधारित रहेर जवाफ दिने ठाउँ छ । कानुन विपरीत उहाँले कुनै पनि गतिविधि गर्नुभएको छैन । यसको जवाफ उहाँ दिने तयारीमा हुनुहुन्छ ।’

हुन त गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा पनि आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । तर त्यो जवाफलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् ।

मन्त्रिपरिषद् बैठकमा बालेनले सजग गराउलान् ?

मन्त्रिपरिषद्को दोस्रो बैठकमा प्रधानमन्त्री बालेनले मन्त्रीहरूलाई सार्वजनिक रुपमा प्रश्न उठाउने ठाउँ नबनाउन निर्देशन दिसकेका थिए । उनले काम गर्ने मनसाय नभए मन्त्रीहरूले आफ्नो ठाउँ खाली गर्दिनुपर्ने विषय त्यहीँ उठाएका थिए । आज पनि मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकमा पनि गृहमन्त्री लक्षित प्रधानमन्त्रीले केही सांकेतिक रुपमा निर्देशन दिने तयारी गरेको बुझिन्छ ।

स्रोतले दिएको जानकारी अनुसार गृहमन्त्री हटाइहाल्ने पक्षमा बालेन पुगिसकेका छैनन् । तर सार्वजनिक रुपमा निकै नै विवादित भइसकेकाले बालेन चाँडै त्यो निर्णयमा पुग्न सक्छन् भन्ने धेरैले अड्कल काटेका छन् । यसअघि श्रीमतीको नियुक्तिका कारण विवादमा तानिएपछि दीपक साहलाई मन्त्री पदबाट बालेनले पार्टीको पत्रका आधारमा निष्कासन गरिसकेका छन् । अहिले गृहमन्त्रीमाथि पनि सत्तापक्ष र प्रतिपक्षकै नेताहरूले आलोचना गर्न थालेपछि उनी दबाबमा परेको देखिन्छ ।

प्रधानमन्त्री बालेन मौन बसेरै धेरै काम गर्ने भएकाले गुरुङको विषयमा के निर्णय गर्छन् त्यो भने हेर्न बाँकी छ । स्रोतले दिएको जानकारी अनुसार पछिल्लो समय गुरुङको विषयलाई लिएर उनी बचाउने पक्षमा भने देखिएका छैनन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : २४ बजे

एमालेले माग्यो गृहमन्त्री गुरूङको राजीनामा, छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउन माग

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवादित व्यवसायी दीपक भट्टसँग

नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने