भारतमा सलह बन्दै ‘कक्रोच’ डिजिटल विद्रोह « Khabarhub

भारतमा सलह बन्दै ‘कक्रोच’ डिजिटल विद्रोह



भारतमा अहिले एउटा अनौठो राजनीतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म तरंग पैदा गरिरहेको छ । ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नामको यो व्यङ्ग्यात्मक आन्दोलन न त परम्परागत राजनीतिक दल हो, न त चुनावी राजनीति गर्ने औपचारिक संगठन । तर केही दिनमै यसले लाखौँ युवाको समर्थन जुटाउँदै देशव्यापी बहसको रूप लिएको छ । 

विशेषगरी बेरोजगारी, निराशा र राजनीतिक उपेक्षाले थाकेका युवाहरूका लागि यो अभियान अहिले एउटा ‘डिजिटल विद्रोह’ जस्तै बनेको छ । एउटा विवादास्पद टिप्पणीबाट सुरु भएको यो ‘मिम आन्दोलन’ अब भारतमा बेरोजगारी, युवाको निराशा र राजनीतिक असन्तुष्टिको प्रतीक बन्दै गएको छ ।

यो आन्दोलनको सुरुवात भारतको सर्वोच्च अदालतमा भएको एउटा टिप्पणीबाट भएको थियो । मे १५ मा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले केही बेरोजगार युवाहरूलाई ‘कक्रोच’ अर्थात् साङ्लोसँग तुलना गरेका थिए । 

उनले यस्ता युवाहरू कुनै पेशामा स्थापित हुन नसकेपछि मिडिया, सामाजिक सञ्जाल र आरटीआई अभियानमा प्रवेश गरेर अरूमाथि आक्रमण गर्ने गरेको टिप्पणी गरेका थिए । त्यति मात्र होइन, उनले ‘परजीवी’ भन्ने शब्द पनि प्रयोग गरेका थिए ।

प्रधानन्यायाधीशको यो भनाइ केही घण्टामै सामाजिक सञ्जालमा भाइरल बन्यो । धेरै युवाहरूले यसलाई आफ्नो संघर्ष, बेरोजगारी र आत्मसम्मानमाथिको अपमानका रूपमा लिए । त्यसपछि सुरु भयो एउटा अनौठो प्रतिक्रिया- ‘यदि हामीलाई साङ्लो भनिएको हो भने, अब सबै साङ्लाहरू एकजुट हुन्छन्’ भन्ने भावनासहित युवाहरू सामाजिक सञ्जालमा अभियान चलाउन थाले ।

यही क्रममा ३० वर्षीय अभिजीत दिपके नामका एक विद्यार्थी अगाडि आए । अमेरिकाको बोस्टन विश्वविद्यालयमा जनसम्पर्क विषयमा अध्ययन गरिरहेका दिपके यसअघि आम आदमी पार्टी (आप)को सामाजिक सञ्जाल टोलीमा पनि काम गरिसकेका थिए ।

उनले एक्स (ट्विटर) मा एउटा गुगल फर्म शेयर गर्दै ‘साङ्लाहरू’ लाई एकजुट हुन आह्वान गरे । आश्चर्यजनक रूपमा केही घण्टामै हजारौँ मानिसहरू अभियानमा जोडिन थाले ।

दिपकेले एआई उपकरणहरूको सहयोगमा २४ घण्टाभित्रै वेबसाइट, पोस्टर र डिजिटल प्रचार सामग्री तयार गरे । त्यसपछि ‘कक्रोच जनता पार्टी’ औपचारिक रूपमा सामाजिक सञ्जालमा देखापर्‍यो । छोटो समयमै यसको प्रभाव अत्यन्त तीव्र रूपमा बढ्न थाल्यो । 

सुरुको ४८ घण्टाभित्र २५ हजारभन्दा बढी मानिस सदस्य बने भने केही दिनमै सदस्य संख्या लाखौँ पुग्यो । इन्स्टाग्राममा पनि सीजेपीले केही दिनमै लाखौँ फलोअर कमायो । ‘#MainBhiCockroach’ अर्थात् ‘म पनि साङ्लो’ भन्ने ह्यासट्याग भारतभर ट्रेन्डिङ बन्यो । 

सीजेपीको लोकप्रियताको मुख्य कारण यसको व्यङ्ग्यात्मक शैली हो । पार्टीले आफूलाई ‘धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक र अल्छी’ पार्टी भनेर चिनाएको छ । सदस्य बन्नका लागि राखिएका सर्तहरू पनि रोचक छन्— बेरोजगार हुनुपर्ने, धेरै समय अनलाइन बस्ने, गुनासो गर्न माहिर हुने वा सधैँ आक्रोश व्यक्त गरिरहने व्यक्ति सदस्य बन्न सक्ने भनिएको छ । यी कुरा व्यङ्ग्यात्मक लागे पनि भारतका धेरै युवाले त्यसमा आफ्नो वास्तविक जीवन देखेका छन् ।

तर सीजेपी केवल इन्टरनेटको ठट्टा र मिममा सीमित छैन । यसले पाँच बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ । जसमा अवकाशप्राप्त प्रधानन्यायाधीशलाई राजनीतिक नियुक्ति दिन रोक लगाउने, मत बदर गराउने निर्वाचन अधिकारीमाथि कडा कारबाही गर्ने, संसदमा महिलालाई ५० प्रतिशत आरक्षण दिने, दल बदल्ने नेतालाई २० वर्षसम्म चुनाव लड्न नदिने तथा सरकारी प्रचारकको भूमिकामा देखिने टेलिभिजन एङ्करहरूको आर्थिक जाँच गरिनुपर्ने माग समावेश छन् ।

यी एजेन्डाहरूले भारतको न्यायपालिका, राजनीति र सञ्चार प्रणालीप्रति युवाहरूमा बढ्दो असन्तुष्टि स्पष्ट देखाउँछन् । यही कारण यो अभियानले विपक्षी नेताहरूको समेत ध्यान खिच्न थालेको छ । तृणमूल काँग्रेसकी सांसद महुआ मोइत्रा र कीर्ति आजादसहित केही चर्चित सार्वजनिक व्यक्तित्वहरूले यस अभियानलाई समर्थन जनाइसकेका छन् ।

हालसम्म सीजेपी आधिकारिक राजनीतिक दल भने बनेको छैन । तर बिहारको एक विधानसभा उपनिर्वाचनमा उम्मेदवार उठाउने विषयमा समेत छलफल सुरु भएको बताइएको छ । भारतमा शिक्षित युवाहरूको बेरोजगारी उच्च भइरहेका बेला यो अभियान धेरै युवाका लागि आफ्नो आवाज उठाउने नयाँ माध्यम बनेको छ ।

एउटा विवादास्पद शब्दबाट सुरु भएको यो आन्दोलनले अहिले भारतको राजनीति र सामाजिक सञ्जाल दुवैमा गहिरो बहस सुरु गराएको छ । यसले एउटा स्पष्ट सन्देश दिएको छ। जब युवाहरूलाई लगातार बेवास्ता गरिन्छ, तब एउटा मिम, व्यङ्ग्य वा सामाजिक सञ्जाल पोस्ट पनि शक्तिशाली आन्दोलनमा बदलिन सक्छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  २ : ०४ बजे

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा

भारतमा सलह बन्दै ‘कक्रोच’ डिजिटल विद्रोह

भारतमा अहिले एउटा अनौठो राजनीतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई