पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण « Khabarhub

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ ।

धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो । एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठूलो भएको दाबी गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार करिब १२ लाख लागतमा उक्त प्रतिमा निर्माण गरिएको हो । पञ्चकन्या मन्दिर निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर निर्माण समितिमार्फत गौमाताको प्रतिमा स्थापना गरिएको उनले जानकारी दिए ।

मूर्ति दीर्घकालीन रूपमा सुरक्षित रहोस् भन्ने उद्देश्यले बलियो र गुणस्तरीय शिलाबाट निर्माण गरिएको भट्टराईले बताए । साथै गाउँपालिकाको करिब तीन लाख लागतमा शिव, गणेश, नाग र पञ्चकन्याका अन्य शिलामूर्तिहरू पनि मन्दिर परिसरमा स्थापना गरिएको छ ।

पञ्चकन्या क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण र पूर्वाधार निर्माणका काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनका अनुसार यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

उपाध्यक्ष राईले पञ्चकन्या मन्दिरलाई ‘पूर्वको पशुपति’का रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन् । किंवदन्तीअनुसार यस क्षेत्रमा गाई आएर पञ्चकन्या देवीलाई दूध चढाउने विश्वास रहेकाले सोही आधारमा गौमाताको प्रतिमा निर्माण गरिएको उनको भनाइ छ ।

स्थानीयवासी निरप्रसाद फुँयालका अनुसार पञ्चकन्या देवी शक्तिशाली मानिन्छिन् र यहाँ दर्शन गरेमा मानिसका चिताएका इच्छा पूरा हुने जनविश्वास छ । मन्दिरको किंवदन्तीलाई आधार बनाएर गाउँपालिकाले थालेको संरक्षण र विकासको काम प्रशंसनीय रहेको उनको भनाइ छ । साथै मन्दिर परिसरमा रहेको च्याङ्ग्रे पोखरीको पानी कहिल्यै नसुक्ने उनले बताए ।

यहाँ गजुरसहित करिब ३१ फिट अग्लो पञ्चकन्या देवीको मन्दिर निर्माण भइरहेको छ । पुरातात्विक शैलीमा निर्माण गरिने मन्दिरको छाना तामाको बनाइने योजना छ । मन्दिर निर्माणको अनुमानित लागत एक करोड ८४ लाख रहेको छ । मन्दिर निर्माणका लागि २०८३ वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको विराट महायज्ञबाट एक करोड सङ्कलन गरिएको थियो । त्यसपछि पनि दाताहरूबाट थप सहयोग जुट्ने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । (रासस)

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १२ : ०५ बजे

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज