रास्वपा महाधिवेशनमा मोहीको क्रेज ! « Khabarhub

रास्वपा महाधिवेशनमा मोहीको क्रेज !


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागीहरूका लागि दुग्ध विकास संस्थान (डिडिसी) ले चिसो मोही विक्री गर्‍यो । असारको गर्मीमा आयोजकले मोही बाँड्न थालेपछि सहभागीहरूबीच एकछिन हारालुछ नै भयो । कार्यक्रमका अतिथि र आम कार्यकर्तासम्मलाई मोही नै पिलाइयो ।

कार्यक्रमस्थलमा देखिएको यो दृश्य केवल एक पेय पदार्थप्रतिको आकर्षण मात्र थिएन, यसले पछिल्ला वर्षहरूमा नेपाली समाजमा मोहीप्रति बढ्दै गएको विश्वास, स्वास्थ्य चेतना र उपभोग संस्कृतिको पनि संकेत गरिरहेको थियो ।

एक समय गाउँघरको सामान्य पेयका रूपमा चिनिने मोही अहिले शहरदेखि सामाजिक समारोहसम्मको रोजाइ बन्न थालेको छ । स्वास्थ्यप्रति बढ्दो चेतना, जंक फुड र कार्बोनेटेड पेय पदार्थका असरबारे बढ्दो जानकारी तथा प्राकृतिक खानपानप्रतिको आकर्षणका कारण मोहीको लोकप्रियता निरन्तर बढिरहेको विज्ञहरू बताउँछन् ।

दैनिक पाँच लाख लिटर बढीको खपत

नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालका अनुसार नेपालमा पछिल्ला वर्षहरूमा मोहीको खपत उल्लेखनीय बढेको छ । उनका अनुसार यस वर्ष फागुनदेखि नै निरन्तर वर्षा, अपेक्षाभन्दा कम तापक्रम र चिसो मौसमका कारण मोहीको बिक्री प्रभावित हुने अनुमान गरिएको थियो । तर वास्तविक अवस्था भने त्यसको ठीक विपरीत देखिएको छ ।

मौसम पूर्ण रूपमा अनुकूल नभए पनि अघिल्लो वर्षको तुलनामा मोहीको खपत गुणात्मक रूपमा वृद्धि भएको छ खनालले बताए । उनका अनुसार नेपालभर दैनिक करिब पाँच लाख लिटर मोही खपत भइरहेको अनुमान छ । सामान्यतया अत्यधिक गर्मी हुने समयमा मोहीको माग उच्च हुने र झरी तथा चिसो मौसममा करिब १० प्रतिशतसम्म घट्ने गरेको भए पनि यस वर्ष लगातार वर्षा भइरहेका बेला समेत बजारमा माग स्थिर रहेको उनले बताए ।

खनालका अनुसार उपभोक्ताको सोचमा आएको परिवर्तनले मोहीको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । पहिले पार्टी, भोज तथा सामाजिक कार्यक्रममा मोहीलाई कम प्राथमिकता दिइन्थ्यो ।

कतिपयले यसलाई लो–क्वालिटी पेयका रूपमा हेर्थे । अहिले त्यो धारणा बदलिएको छ । विभिन्न समारोह र कार्यक्रमहरूमा मोही राख्ने चलन बढ्दै गएको खनालले जानकारी दिए ।

मोहीको मूल्य स्थानअनुसार फरक–फरक रहेको छ । दूध उत्पादन बढी हुने क्षेत्रमा मूल्य कम हुने र काठमाडौंलगायत शहरी क्षेत्रमा केही महँगो पर्ने खनाल बताउँछन् । हाल विभिन्न बजारमा मोही प्रतिलिटर ७० रुपैयाँदेखि १०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

किन बढ्दै छ मोहीप्रतिको आकर्षण ?

जनस्वास्थ्यविद् तथा पोषणविद् डा. अरुणा उप्रेतीका अनुसार मोही प्राकृतिक, रसायनरहित र स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । दहीमा पानी मिसाएर राम्रोसँग फिट्दा बन्ने मोहीलाई नेपालका विभिन्न स्थानमा मोही, मठ्ठा, छाँस, गोरस भनेर चिनिन्छ ।

‘मोही प्राकृतिक पेय पदार्थ हो । यसमा कुनै रासायनिक पदार्थ मिसाइएको हुँदैन । खाना खाएपछि पानीको सट्टा पनि मोही पिउन सकिन्छ । यसले पाचन प्रणालीलाई राम्रो बनाउँछ,’ डा. उप्रेतीले भनिन् ।

उनका अनुसार दहीमा पाइने क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्त्व मोहीमा पनि उपलब्ध हुन्छन् । त्यसैले मोही स्वादिलो मात्र नभई पोषणयुक्त पेय पदार्थ पनि हो ।

पछिल्लो समय स्वास्थ्यप्रति सचेत मानिसहरूले चिनी र कार्बोनेटेड पेय पदार्थको विकल्पका रूपमा मोही रोज्न थालेका छन् । यही कारणले पनि यसको उपभोग विस्तार हुँदै गएको छ ।

गर्मी मौसममा बहुपयोगी

गर्मी मौसममा शरीरबाट अत्यधिक पसिना निस्कने भएकाले शरीरमा पानीको कमी हुन सक्छ । यस्तो अवस्थामा मोहीले शरीरमा पानीको सन्तुलन कायम राख्न सहयोग पुर्‍याउँछ ।

डा. उप्रेतीका अनुसार विशेषगरी तराई तथा अत्यधिक गर्मी हुने क्षेत्रमा मोही नियमित सेवन गर्दा लु लाग्ने जोखिम कम गर्न सहयोग पुग्छ । शरीरलाई चिसो राख्ने गुण भएकाले गर्मीबाट हुने असहजता कम गर्न मोही उपयोगी मानिन्छ ।

मोहीले पाचन प्रणालीलाई स्वस्थ राख्न, कब्जियत हुन नदिन तथा पेटसम्बन्धी विभिन्न समस्याको जोखिम कम गर्न मद्दत गर्ने उनको भनाइ छ । ‘गर्मीमा शरीरलाई चिसो राख्नुका साथै मोहीले आवश्यक पोषण पनि दिन्छ। त्यसैले यो गर्मीयामका लागि उत्कृष्ट पेय पदार्थ हो’ उनले भनिन् ।

झाडापखाला– पाचन स्वास्थ्यमा जडी

नेपालमा झाडापखालाको समयमा दही–भात खाने चलन पुरानै हो । डा. उप्रेतीका अनुसार यसको वैज्ञानिक आधार पनि छ ।

दही र भातको संयोजनले पाचन प्रणालीलाई सहज बनाउनुका साथै शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । कतिपय व्यक्तिलाई दही वा मोही छुट्टै रूपमा खान गाह्रो भए पनि दही–भात भने सजिलै पच्ने अनुभव हुने गरेको उनी बताउँछिन् ।

मोहीमा पाइने लाभदायी जीवाणुले आन्द्राको स्वास्थ्य सुधार गर्न मद्दत गर्ने भएकाले यसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

डा. उप्रेतीका अनुसार दही र मोहीलाई प्राकृतिक अमृत पनि भन्न सकिन्छ । यसले हड्डी बलियो बनाउन सहयोग गर्छ भने बालबालिकाको शारीरिक विकासमा समेत सकारात्मक प्रभाव पार्छ ।

विशेषगरी बालबालिकालाई सानैदेखि दही र मोही खाने बानी बसाल्नुपर्ने उनी बताउँछिन् । यदि बालबालिकाले नियमित रूपमा दही र मोही खाने बानी बसाले भने जंक फुड र अस्वस्थकर पेय पदार्थप्रतिको आकर्षण कम हुने उनको बुझाइ छ ।

मोही कुन समयमा खान उपयुक्त हुन्छ ?

दही वा मोही सेवनबारे केही भ्रम पनि समाजमा पाइन्छन् । कतिपयले राति दही खान हुँदैन भन्ने विश्वास गर्छन् । डा. उप्रेतीका अनुसार यो सबैमा लागू हुने नियम होइन ।

‘जसलाई दही वा मोही खाँदा रुघाखोकी बढ्ने वा असहज महसुस हुने समस्या छ उनीहरूले आफ्नो शरीरअनुसार समय मिलाएर सेवन गर्नुपर्छ । तर सबैलाई राति दही मोही खान हुँदैन भन्ने होइन,’ उननले भनिन् ।

उनका अनुसार जसलाई समस्या हुँदैन, उनीहरूले राति पनि दही वा मोही सेवन गर्न सक्छन् । डेरी व्यवसायीहरूका अनुसार मोही पौष्टिक, सुपाच्य र शरीरलाई शीतलता प्रदान गर्ने पेय पदार्थ भएकाले आगामी दिनमा यसको लोकप्रियता अझ बढ्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्यप्रति बढ्दो चेतना, प्राकृतिक खाद्य पदार्थप्रतिको आकर्षण, कार्बोनेटेड पेय पदार्थबाट दूरी र सामाजिक व्यवहारमा आएको परिवर्तनले मोहीलाई नेपाली समाजमा नयाँ उचाइमा पुर्‍याइरहेको छ ।

गर्मी मौसममा शरीरलाई चिसो, स्वस्थ र ऊर्जावान् राख्न मोही सबैभन्दा सरल, सस्तो र प्रभावकारी प्राकृतिक विकल्प हो । बजारमा यसको बढ्दो खपतले एकातिर स्वदेशी दुग्ध उद्योग र किसानलाई फाइदा पुगेको छ भने अर्कोतिर जनस्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याएको डेरी व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : १२ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’