चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागीहरूका लागि दुग्ध विकास संस्थान (डिडिसी) ले चिसो मोही विक्री गर्यो । असारको गर्मीमा आयोजकले मोही बाँड्न थालेपछि सहभागीहरूबीच एकछिन हारालुछ नै भयो । कार्यक्रमका अतिथि र आम कार्यकर्तासम्मलाई मोही नै पिलाइयो ।
कार्यक्रमस्थलमा देखिएको यो दृश्य केवल एक पेय पदार्थप्रतिको आकर्षण मात्र थिएन, यसले पछिल्ला वर्षहरूमा नेपाली समाजमा मोहीप्रति बढ्दै गएको विश्वास, स्वास्थ्य चेतना र उपभोग संस्कृतिको पनि संकेत गरिरहेको थियो ।
एक समय गाउँघरको सामान्य पेयका रूपमा चिनिने मोही अहिले शहरदेखि सामाजिक समारोहसम्मको रोजाइ बन्न थालेको छ । स्वास्थ्यप्रति बढ्दो चेतना, जंक फुड र कार्बोनेटेड पेय पदार्थका असरबारे बढ्दो जानकारी तथा प्राकृतिक खानपानप्रतिको आकर्षणका कारण मोहीको लोकप्रियता निरन्तर बढिरहेको विज्ञहरू बताउँछन् ।
दैनिक पाँच लाख लिटर बढीको खपत
नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालका अनुसार नेपालमा पछिल्ला वर्षहरूमा मोहीको खपत उल्लेखनीय बढेको छ । उनका अनुसार यस वर्ष फागुनदेखि नै निरन्तर वर्षा, अपेक्षाभन्दा कम तापक्रम र चिसो मौसमका कारण मोहीको बिक्री प्रभावित हुने अनुमान गरिएको थियो । तर वास्तविक अवस्था भने त्यसको ठीक विपरीत देखिएको छ ।
मौसम पूर्ण रूपमा अनुकूल नभए पनि अघिल्लो वर्षको तुलनामा मोहीको खपत गुणात्मक रूपमा वृद्धि भएको छ खनालले बताए । उनका अनुसार नेपालभर दैनिक करिब पाँच लाख लिटर मोही खपत भइरहेको अनुमान छ । सामान्यतया अत्यधिक गर्मी हुने समयमा मोहीको माग उच्च हुने र झरी तथा चिसो मौसममा करिब १० प्रतिशतसम्म घट्ने गरेको भए पनि यस वर्ष लगातार वर्षा भइरहेका बेला समेत बजारमा माग स्थिर रहेको उनले बताए ।
खनालका अनुसार उपभोक्ताको सोचमा आएको परिवर्तनले मोहीको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । पहिले पार्टी, भोज तथा सामाजिक कार्यक्रममा मोहीलाई कम प्राथमिकता दिइन्थ्यो ।
कतिपयले यसलाई लो–क्वालिटी पेयका रूपमा हेर्थे । अहिले त्यो धारणा बदलिएको छ । विभिन्न समारोह र कार्यक्रमहरूमा मोही राख्ने चलन बढ्दै गएको खनालले जानकारी दिए ।
मोहीको मूल्य स्थानअनुसार फरक–फरक रहेको छ । दूध उत्पादन बढी हुने क्षेत्रमा मूल्य कम हुने र काठमाडौंलगायत शहरी क्षेत्रमा केही महँगो पर्ने खनाल बताउँछन् । हाल विभिन्न बजारमा मोही प्रतिलिटर ७० रुपैयाँदेखि १०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

किन बढ्दै छ मोहीप्रतिको आकर्षण ?
जनस्वास्थ्यविद् तथा पोषणविद् डा. अरुणा उप्रेतीका अनुसार मोही प्राकृतिक, रसायनरहित र स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । दहीमा पानी मिसाएर राम्रोसँग फिट्दा बन्ने मोहीलाई नेपालका विभिन्न स्थानमा मोही, मठ्ठा, छाँस, गोरस भनेर चिनिन्छ ।
‘मोही प्राकृतिक पेय पदार्थ हो । यसमा कुनै रासायनिक पदार्थ मिसाइएको हुँदैन । खाना खाएपछि पानीको सट्टा पनि मोही पिउन सकिन्छ । यसले पाचन प्रणालीलाई राम्रो बनाउँछ,’ डा. उप्रेतीले भनिन् ।
उनका अनुसार दहीमा पाइने क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्त्व मोहीमा पनि उपलब्ध हुन्छन् । त्यसैले मोही स्वादिलो मात्र नभई पोषणयुक्त पेय पदार्थ पनि हो ।

पछिल्लो समय स्वास्थ्यप्रति सचेत मानिसहरूले चिनी र कार्बोनेटेड पेय पदार्थको विकल्पका रूपमा मोही रोज्न थालेका छन् । यही कारणले पनि यसको उपभोग विस्तार हुँदै गएको छ ।
गर्मी मौसममा बहुपयोगी
गर्मी मौसममा शरीरबाट अत्यधिक पसिना निस्कने भएकाले शरीरमा पानीको कमी हुन सक्छ । यस्तो अवस्थामा मोहीले शरीरमा पानीको सन्तुलन कायम राख्न सहयोग पुर्याउँछ ।
डा. उप्रेतीका अनुसार विशेषगरी तराई तथा अत्यधिक गर्मी हुने क्षेत्रमा मोही नियमित सेवन गर्दा लु लाग्ने जोखिम कम गर्न सहयोग पुग्छ । शरीरलाई चिसो राख्ने गुण भएकाले गर्मीबाट हुने असहजता कम गर्न मोही उपयोगी मानिन्छ ।

मोहीले पाचन प्रणालीलाई स्वस्थ राख्न, कब्जियत हुन नदिन तथा पेटसम्बन्धी विभिन्न समस्याको जोखिम कम गर्न मद्दत गर्ने उनको भनाइ छ । ‘गर्मीमा शरीरलाई चिसो राख्नुका साथै मोहीले आवश्यक पोषण पनि दिन्छ। त्यसैले यो गर्मीयामका लागि उत्कृष्ट पेय पदार्थ हो’ उनले भनिन् ।
झाडापखाला– पाचन स्वास्थ्यमा जडी
नेपालमा झाडापखालाको समयमा दही–भात खाने चलन पुरानै हो । डा. उप्रेतीका अनुसार यसको वैज्ञानिक आधार पनि छ ।
दही र भातको संयोजनले पाचन प्रणालीलाई सहज बनाउनुका साथै शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । कतिपय व्यक्तिलाई दही वा मोही छुट्टै रूपमा खान गाह्रो भए पनि दही–भात भने सजिलै पच्ने अनुभव हुने गरेको उनी बताउँछिन् ।
मोहीमा पाइने लाभदायी जीवाणुले आन्द्राको स्वास्थ्य सुधार गर्न मद्दत गर्ने भएकाले यसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

डा. उप्रेतीका अनुसार दही र मोहीलाई प्राकृतिक अमृत पनि भन्न सकिन्छ । यसले हड्डी बलियो बनाउन सहयोग गर्छ भने बालबालिकाको शारीरिक विकासमा समेत सकारात्मक प्रभाव पार्छ ।
विशेषगरी बालबालिकालाई सानैदेखि दही र मोही खाने बानी बसाल्नुपर्ने उनी बताउँछिन् । यदि बालबालिकाले नियमित रूपमा दही र मोही खाने बानी बसाले भने जंक फुड र अस्वस्थकर पेय पदार्थप्रतिको आकर्षण कम हुने उनको बुझाइ छ ।
मोही कुन समयमा खान उपयुक्त हुन्छ ?
दही वा मोही सेवनबारे केही भ्रम पनि समाजमा पाइन्छन् । कतिपयले राति दही खान हुँदैन भन्ने विश्वास गर्छन् । डा. उप्रेतीका अनुसार यो सबैमा लागू हुने नियम होइन ।
‘जसलाई दही वा मोही खाँदा रुघाखोकी बढ्ने वा असहज महसुस हुने समस्या छ उनीहरूले आफ्नो शरीरअनुसार समय मिलाएर सेवन गर्नुपर्छ । तर सबैलाई राति दही मोही खान हुँदैन भन्ने होइन,’ उननले भनिन् ।
उनका अनुसार जसलाई समस्या हुँदैन, उनीहरूले राति पनि दही वा मोही सेवन गर्न सक्छन् । डेरी व्यवसायीहरूका अनुसार मोही पौष्टिक, सुपाच्य र शरीरलाई शीतलता प्रदान गर्ने पेय पदार्थ भएकाले आगामी दिनमा यसको लोकप्रियता अझ बढ्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्यप्रति बढ्दो चेतना, प्राकृतिक खाद्य पदार्थप्रतिको आकर्षण, कार्बोनेटेड पेय पदार्थबाट दूरी र सामाजिक व्यवहारमा आएको परिवर्तनले मोहीलाई नेपाली समाजमा नयाँ उचाइमा पुर्याइरहेको छ ।
गर्मी मौसममा शरीरलाई चिसो, स्वस्थ र ऊर्जावान् राख्न मोही सबैभन्दा सरल, सस्तो र प्रभावकारी प्राकृतिक विकल्प हो । बजारमा यसको बढ्दो खपतले एकातिर स्वदेशी दुग्ध उद्योग र किसानलाई फाइदा पुगेको छ भने अर्कोतिर जनस्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याएको डेरी व्यवसायीहरु बताउँछन् ।












प्रतिक्रिया