काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण पानीजन्य तथा विभिन्न संक्रामक रोगहरूको जोखिम तीव्र रूपमा बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अधिकारीहरूले देशभर झाडापखाला, हैजा, टाइफाइड, डेंगी र श्वासप्रश्वाससम्बन्धी संक्रमणका बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढेको भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो प्रतिवेदन अनुसार देशभर महामारीको रूप लिन सक्ने संक्रामक रोगहरूको अवस्था बढ्दो छ ।
झाडापखालाका बिरामी बढ्दै
महाशाखाका अनुसार पछिल्लो एक साताको अवधिमा मात्रै देशभर ७८५ जना तीव्र झाडापखालाका बिरामी फेला परेका छन् । पछिल्ला तीन साताको निगरानीमा क्रमशः ७२०, ७६२ र ७१८ भन्दा बढी बिरामी भेटिएका ईडीसीडीले जनाएको छ ।
महाशाखाका अनुसार इन्फ्लुएन्जाजस्तो रोगका ५००, श्वासप्रश्वास संक्रमणका ४३६, डेंगीका ११३, स्क्रब टाइफसका ३७ र ज्वरोसँगै डाबर आउने समस्या भएका ३३ बिरामी फेला परेका छन् ।
झाडापखालाका सबैभन्दा धेरै ३८० बिरामी बागमती प्रदेशमा फेला परेका छन् । त्यस्तै, इन्फ्लुएन्जाका सबैभन्दा बढी १९८ बिरामी सुदूरपश्चिम प्रदेशमा र श्वासप्रश्वास संक्रमणका १०७ बिरामी लुम्बिनी प्रदेशमा देखिएका छन् ।
डेंगी संक्रमितहरूमध्ये सबैभन्दा धेरै ४३ जना कोशी प्रदेशमा फेला परेका छन् भने स्क्रब टाइफसका बिरामी गण्डकी र सुदूरपश्चिममा बढी देखिएका छन् ।
काठमाडौँ उपत्यकामा हैजाको त्रास बढ्दो
वर्षायाम सुरु भएसँगै काठमाडौँ उपत्यकामा हैजाको जोखिम उच्च बनेको छ । लगातारको वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाबाट आपूर्ति अवरुद्ध भएपछि हाल उपत्यकाका विभिन्न क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण भइरहेको छ ।
विगतमा काठमाडौँ, ललितपुर, कैलाली, रुपन्देही र प्युठानमा देखिएको हैजाको मुख्य स्रोत दूषित खानेपानी नै रहेको ठहर भएकाले यस वर्ष पनि ट्यांकर तथा अन्य स्रोतको पानी शुद्धीकरण नगरी प्रयोग नगर्न स्वास्थ्य विज्ञहरूले कडा चेतावनी दिएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा ‘भिब्रियो कोलेरी’ नामक जीवाणुबाट हुने तीव्र झाडापखालाको रोग हो । यसले शरीरमा पानी र लवणको मात्रा अत्यधिक घटाई रक्तचाप कम गराउँछ, जसका कारण समयमै उपचार नपाए केही घण्टामै बिरामीको ज्यान जान सक्छ ।
तर, समयमै जीवनजल (ओआरएस), पर्याप्त तरल पदार्थ र आवश्यक उपचार पाए अधिकांश बिरामी सहजै निको हुन्छन् ।
बच्ने उपाय
स्वास्थ्य मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा निगरानी, खानेपानी परीक्षण र जनचेतना अभियानलाई तीव्र बनाएको छ । विशेषज्ञले महामारीबाट बच्न निम्न उपाय पालना गर्न आग्रह गरेका छन्:
सफा पानी र खाना: उमालेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएको पानी मात्र पिउने । खाना राम्रोसँग पकाएर खाने, फलफूल तथा तरकारी सफा पानीले धोएर मात्र प्रयोग गर्ने र खुला स्थानका अस्वच्छ खाना नखाने ।
हातको सरसफाइ: शौचालय प्रयोग गरेपछि, खाना पकाउनु र खानुअघि तथा बालबालिकालाई खुवाउनुअघि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म अनिवार्य हात धुने ।
विशेष हेरचाह: संक्रमणको उच्च जोखिममा रहने बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र दीर्घरोगीहरूको विशेष ख्याल राख्ने ।
स्वास्थ्यकर्मीका अनुसार बारम्बार पानीजस्तो पखाला लाग्ने, बान्ता हुने, अत्यधिक तिर्खा लाग्ने, आँखा गाडिने, अत्यधिक कमजोरी हुने वा पिसाब कम हुने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा मात्र नअल्झिएर तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा पुग्नुपर्दछ ।
मनसुनको यो समयमा सुरक्षित पानी, स्वच्छ खाना, व्यक्तिगत सरसफाइ र समयमै गरिने उपचार नै रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हुन् ।












प्रतिक्रिया