पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’ « Khabarhub

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

भन्छन्–'पहिलो चरणको मनोनयन हो, नआत्तिनुहोस्'



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकबाट केही पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेका छन्।

सभापति लामिछानेले बैठकमा विभिन्न जिम्मेवारीका लागि प्रस्ताव गरेका नाम केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा पारित गरेको हो। रास्वपाको विधानअनुसार सभापतिले ११ जना पदाधिकारी, ५१ जना केन्द्रीय सदस्य तथा २० भन्दा बढी सचिवालय सदस्य मनोनयन गर्ने व्यवस्था छ।

महामन्त्री विपिनकुमार आचार्यले बैठक सुरु गरेपछि एजेन्डामा प्रवेश गरिएको थियो। एजेन्डामा प्रवेश गरेपछि सभापति लामिछानेले सचिवालय, केन्द्रीय कमिटी र पदाधिकारीको प्रस्ताव गरेका थिए।

उनले संगठन विभागमा जिम्मेवारी पाउने व्यक्तिहरूको नामसमेत वाचन गरेका थिए। ती सबै प्रस्ताव बैठकले हुबहु पारित गरेको एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए।

बैठकपछि पार्टीका पूर्वप्रवक्ता एवम् सांसद मनिष झाले पनि सभापतिले एजेन्डामा प्रस्ताव गरेका विषय सर्वसम्मत पारित भएको जानकारी दिएका थिए।

शुक्रबार सचिवालय सदस्यमा मनोनीत भएकी नेतृ समीक्षा बाँस्कोटाले सभापति लामिछानेले लामो छलफल र प्रयत्नपछि केन्द्रीय कमिटी, पदाधिकारी, सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख टुंग्याएको बताइन्।

‘सभापतिज्यूले लामो प्रयत्न गरेर पार्टीलाई फुलफिल गर्ने प्रयत्न गर्नुभएको रहेछ। उहाँले प्रस्ताव राख्दा कसैले पनि नाइँ भन्ने अवस्था थिएन। किनकि सबैलाई क्षमता र योग्यताका आधारमा अवसर दिनुभएको छ,’ बाँस्कोटाले खबरहबलाई भनिन्।

धेरै नेतालाई ‘सरप्राइज’

लामिछानेले पदाधिकारी, संगठन विभाग, केन्द्रीय सदस्य तथा सचिवालय सदस्यमा आउने नेताहरूको विषयमा अग्रिम जानकारी गराएका थिएनन्। जिम्मेवारी पाउने विषयमा जानकारी नहुँदा धेरै नेताहरूलाई जिम्मेवारी घोषणा ‘सरप्राइज’ बनेको बताइएको छ।

खबरहबसँग सम्पर्कमा आएका धेरै नेताले आफूलाई जिम्मेवारी आउने विषयमा कुनै जानकारी नभएको बताएका छन्। तर जिम्मेवारी पाएपछि उनीहरूले खुसी व्यक्त गर्दै आफ्नो योग्यताको कदर भएको महसुस गरेको बताएका छन्।

‘सचिवालय सदस्यमा नाम रहेछ, मलाई त थाहा नै थिएन। एकैचोटि सरप्राइज भएँ,’ एक नेताले भने, ‘प्रवक्ता तोकिएका माननीयज्यूसँग पनि मेरो कुरा भएको थियो। उहाँलाई पनि जिम्मेवारी आउँदैछ भन्ने केही जानकारी रहेनछ।’

रविले पदाधिकारीमा ल्याउने व्यक्तिहरूका विषयमा महामन्त्रीलगायत आफू निकट नेताहरूसँग भने छलफल गरेका थिए। वरिष्ठ नेता वालेन्द्र शाह तथा समायोजनबाट आएका नेताहरूसँग पनि यस विषयमा सामान्य छलफल भएको बताइएको छ।

‘यो पहिलो चरणको मनोनयन हो, नआत्तिनुहोस्’

लामिछानेले बैठकमा आफूले गरेको मनोनयन पहिलो चरणको प्रक्रिया भएको र आगामी दिनमा थप मनोनयन हुँदै जाने बताएका थिए।

‘५१ जनाको केन्द्रीय समिति पाँच वर्षभित्रमा टुंग्याइसक्ने हो। सचिवालय र पदाधिकारी पनि पाँच वर्षभित्रै टुंग्याउने हो। तपाईंहरू कोही पनि नआत्तिनुहोस्। आफ्नो क्षमता र योग्यताअनुसार जिम्मेवारी पाउनुहुन्छ,’ उनले भनेका थिए।

उनले समायोजनबाट आएका प्रमुख सरोकारवाला नेताहरू समेटिएको र छुटेका नेताहरूलाई पनि क्रमशः समेट्दै जाने बताएका थिए।

‘तपाईंहरूलाई लाग्न सक्छ, धेरै नेताहरू छुट्नुभयो। मलाई पनि लागेको छ। तर आजै सबै टुंग्याएको होइन। अरू बिस्तारै टुंगिँदै जान्छ,’ रविले भनेका थिए।

महाधिवेशनपछि पार्टीभित्र कुनै समूह वा गुट नरहेको सन्देश दिँदै उनले अब क्षमतावान र उत्कृष्ट व्यक्तिले अवसर पाउने बताएका थिए।

‘महाधिवेशनपछि राष्ट्रिय स्वतन्त्र पार्टी एउटै भइसक्यो। अब राष्ट्रिय स्वतन्त्र पार्टीमा जो-जो सक्षम छन् र उत्कृष्ट मान्छे छन्, उहाँहरूले अवसर पाउनुहुन्छ। असक्षम मान्छेलाई पनि योग्य बनाउने प्रयत्न गरिनेछ,’ उनले भनेका थिए।

उनले यो पहिलो चरणको केन्द्रीय समिति विस्तार भएको भन्दै आगामी दिनमा थप व्यक्तिलाई समेट्ने बताएका थिए।

‘आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउनुहोस्। विगतको केन्द्रीय कमिटी, सचिवालय, विभाग र केन्द्रीय सदस्यहरूले राम्रो काम गर्नुभएको थियो। कोही-कोही त पार्टीमा एक-दुई जना त्यस्तो-उस्तो भइहाल्छ। तर यसपटक नो कम्प्रमाइज। आफ्नो क्षमता र योग्यता पनि बढाउँदै जानुहोला,’ रविले भनेका थिए।

‘जिम्मेवारीमा विभेद गरिएको होइन’

लामिछानेले कसैलाई आफू निकट भएकै कारण जिम्मेवारी दिइएको वा निकट नभएकै कारण जिम्मेवारी नदिइएको भन्ने अवस्था नरहेको बताएका थिए। उनले क्षमतावान र सक्षम व्यक्तिलाई क्रमशः अवसर दिँदै जाने स्पष्ट पारे।

‘व्यक्तिको क्षमता र योग्यतालाई हेरेर अरू थुप्रै ठाउँमा अवसर आउँछन्। कसैले पनि मन सानो नबनाउनुहोला। आए आफ्नै साथी आए, आए आफ्नै पार्टीको व्यक्ति आए,’ उनले भनेका थिए।

उनले असन्तुष्टि भए पार्टीभित्रै राख्न पनि नेताहरूलाई निर्देशन दिए। ‘चित्त नबुझेको विषय यहीँभित्र राख्नुहोला। बाहिर गएर मन सानो बनाएको र दोस्रो व्यक्तिलाई मेरो त यस्तो थियो नि भनेको सुन्न नपरोस्,’ उनले भनेका थिए।

जिम्मेवारी पाउने विषयमा धेरै नेता सरप्राइजमा परेको उल्लेख गर्दै रविले प्रचारबाजीका आधारमा जिम्मेवारी नदिने बताए।

‘हो, कसैले पनि भन्छन्। प्रचारबाजी गरेका आधारमा जिम्मेवारी पाउनु हुँदैन र सक्षम व्यक्तिले कहिल्यै पनि प्रचार गर्दैन भन्ने मेरो मान्यता हो,’ उनले भनेका थिए।

कार्ययोजना हेरेर जिम्मेवारी

रास्वपाले विभाग गठन गर्दा विभाग प्रमुख बन्न इच्छुक व्यक्तिलाई आफ्नो कार्ययोजनासहित आवेदन दिन आग्रह गरेको थियो। विभाग प्रमुख बन्न चाहने व्यक्तिले छ महिनाको कार्यविधिसहित कार्ययोजना प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको थियो।

त्यसरी कार्ययोजना प्रस्तुत गरेका व्यक्तिमध्ये उत्कृष्टलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको लामिछानेले बैठकमा जानकारी गराएका थिए।

‘विभागमा मनोनयन गर्दा धेरै साथीले कार्यविधि पठाउनुभएको थियो। मनोनीतमध्ये उत्कृष्ट भएका व्यक्तिहरूलाई हामीले विभाग प्रमुखको जिम्मेवारी दिएका छौं। अरू व्यक्तिहरू र विभागको विषयमा अध्ययन भइरहेको छ,’ उनले भनेका थिए।

उनका अनुसार केही दिनअघि कुन विभाग हेर्न चाहेको हो भनेर पार्टीले नेताहरूबाट नाम मागेको थियो। त्यस क्रममा धेरैले आफूले रोजेको विभागमा कसरी काम गर्ने भन्ने कार्ययोजनासमेत प्रस्तुत गरेका थिए।

‘अस्ति हामीले कसले कुन विभाग हेर्न चाहन्छ भनेर नाम मागेका थियौं। मागेकामध्ये धेरै जनाले कार्यविधि पठाएर यो विभागमा यसरी काम गर्छु भनेर कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। त्यही कार्ययोजनाका आधारमा छनोट गरिएको हो,’ रविले भनेका थिए।

लामिछानेले जिम्मेवारी दिँदा कसैलाई अन्याय नगरेको र अवसर दिने क्रममा सबैलाई समेट्ने प्रयास गरिएको बताएका थिए।

बालेनको खोजी भएन?

रास्वपाको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको अनुपस्थितिबारे कुनै प्रश्न नउठेको बैठकमा सहभागी केही नेताले बताएका छन्।

उनीहरूका अनुसार पार्टी सञ्चालन सभापति लामिछानेले र सरकार सञ्चालन प्रधानमन्त्री शाहले गर्ने भएकाले बैठकमा वरिष्ठ नेताको उपस्थितिबारे प्रश्न नउठेको हो।

‘बैठकमा किन वरिष्ठ नेता आउनुभएन भन्ने प्रश्न उठेन। पार्टी सभापतिले चलाउने, सरकार प्रधानमन्त्री एवम् वरिष्ठ नेताले चलाउने भन्ने हिसाबले कसैले पनि कुरा उठाउनुभएन,’ केन्द्रीय समितिका एक नेताले भने।

यद्यपि, तीन जना पदाधिकारी चयन नहुनु तथा थुप्रै सचिवालय र केन्द्रीय कमिटी सदस्य मनोनीत नहुनुमा भने नेताहरूको चासो रहेको ती नेताले बताए।

‘तीन जना पदाधिकारी चयन नहुनु र थुप्रै सचिवालय तथा केन्द्रीय समिति नआउनुमा सबैको चासो थियो। तर सभापतिज्यूले पहिले नै आवश्यकता अनुसार मनोनीत हुँदै जानुहुन्छ भन्ने कुरा राखेपछि चुपचाप हुनुभयो,’ उनले भने।

बैठकमा बालेन पक्षका धेरै नेताहरू केन्द्रीय कमिटी सदस्य बनेका छन्। तर प्रधानमन्त्री शाहले आफू पक्षबाट पदाधिकारीमा पठाउने नेताहरूको नाम रविलाई नदिई मुस्ताङ भ्रमणमा निस्किएको बताइएको छ। उनी शुक्रबार पोखरा पुगेर बसेका थिए।

केही दिनअघि बसेको संसदीय दलको बैठकमा भने प्रधानमन्त्री शाहको खोजी भएको थियो। तर शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा उनको अनुपस्थितिबारे कुनै प्रश्न नउठेको नेताहरूले बताएका छन्।

यी हुन् जिम्मेवारी पाउने नेताहरू

रास्वपाले आज पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा विभिन्न संगठन विभागको जिम्मेवारी पाएका नेताहरूको नाम सार्वजनिक गरेको छ।

जसअनुसार केन्द्रीय समिति सदस्यमा सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई मनोनयन गरिएको छ।

त्यस्तै, सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान र सहकोषाध्यक्षमा बसुमाया तामाङलाई जिम्मेवारी दिइएको छ।

प्रवक्तामा ललितपुरका जगदीश खरेल तथा सहप्रवक्तामा डा. नमिता यादव र सुरेन्द्र चौधरीलाई नियुक्त गरिएको छ।

७ विभागमा जिम्मेवारी

रास्वपाले विभिन्न केन्द्रीय विभागको नेतृत्वसमेत तोकेको छ।

संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ।

प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ८ : २६ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल