खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने प्रयासमा छन् । औपचारिक रूपमा गीत–सङ्गीतको शिक्षा नलिए पनि उनले गायन र सङ्गीत सिर्जनालाई निरन्तरता दिँदै आएका छन् ।
भावुक साङ्गीतिक क्षेत्रमा लागेको नौ वर्ष पुगेको छ । वैदेशिक रोजगारीका क्रममा चार वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) बसेर २०७४ सालमा नेपाल फर्किएका उनले त्यसपछि काठमाडौँमा बसेर नेपाली गीत–सङ्गीतमा सक्रियता बढाएका हुन् ।
चर्चित गायिका मेलिना राईसँग ‘छाडे पनि यो हावा बहन’ बोलको गीतमा युगल स्वर दिएर उनले औपचारिक साङ्गीतिक यात्रा सुरु गरेका थिए । त्यसको चार वर्ष नबित्दै उनको अर्को गीतले अन्तर्राष्ट्रिय अवार्डसमेत जित्यो । चर्चित गायिका अस्मिता अधिकारीसँग भावुकले गाएको ‘फूल फुल्यो’ गीतले दुबईमा आयोजित ग्लोबल अन्तर्राष्ट्रिय अवार्ड–२०२१ जितेको थियो ।
पछिल्लो समय सङ्गीतकार हरि लम्सालको सङ्गीतमा ‘यो जुनी यस्तै भो’ बोलको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका भावुकले यसअघि ‘अप्सना म्युजिक अवार्ड–२०२४’ समेत जितेका थिए । ‘छातीभित्र दुख्ने घाउ’ बोलको गीतमा दिएको एकल स्वरका लागि उनले उक्त अवार्ड पाएका थिए ।
भावुकले विदेशमा रहँदादेखि नै आफ्ना गीत–सङ्गीत सिर्जना गर्दै आएका थिए । नेपाल फर्किएपछि २०७४ सालमा आफ्नै लगानीमा ‘भावुक एल्बम’ बजारमा ल्याएका थिए । एल्बममा ‘हाम्रो माया दुई पन्छी’, ‘तिम्रो माया मेरो लागि’, ‘यो तिहारमा’, ‘मेरी आमा’, ‘बिहानीको शिरशिरेमा’, ‘घुम्दैफिर्दै’, ‘दार्जिलिङ घुम्न आएको’, ‘छाडे पनि यो हावा’ र ‘परदेशीको जीवन’ लगायतका गीत समेटिएका थिए ।
२०४९ जेठ २७ गते सोल्मामा जन्मिएका भावुक लक्ष्मण विश्वकर्मा र इन्द्रलक्ष्मी विश्वकर्माका साहिला छोरा हुन् । घरखेती गरेर परिवार चलाउँदै आएका उनका आमाबुबाले कक्षा ११ सम्म अध्ययन गराएका थिए । आर्थिक अवस्था कमजोर भएकाले उनको गायक बन्ने सपना पूरा गर्न परिवारलाई कठिन भएपछि उनी २०६८ सालमा वैदेशिक रोजगारीका लागि यूएई गएका थिए ।
गायक बन्ने लक्ष्यसहित विदेशमा चार वर्ष काम गरेर पैसा जम्मा गरेपछि उनी नेपाल फर्किए । त्यसपछि काठमाडौँलाई कर्मथलो बनाएर गायनसँगै सङ्गीत सिर्जनामा सक्रिय बने । उनले विभिन्न विधाका दर्जनौँ नेपाली गीतमा स्वर दिनुका साथै सङ्गीतसमेत भरेका छन् ।
विद्यार्थी जीवनदेखि नै गीत–सङ्गीतमा रुचि राख्ने भावुकले कक्षा ११ मा अध्ययन गर्दै गर्दा रेडियो कार्यक्रमसमेत सञ्चालन गरेका थिए । औपचारिक साङ्गीतिक शिक्षा नलिए पनि निरन्तरको अभ्यास र अनुभवबाट उनले गायन तथा सङ्गीत सिर्जनालाई अघि बढाएका छन् ।
भावुक जीवन भोगाइ र देशप्रेममा आधारित गीत गाउन तथा सङ्गीत सिर्जना गर्न रुचाउँछन् । प्रेम र वियोगका गीतसमेत गाएका उनले चलचित्र ‘प्रसाद–२’ को ‘ए माया’ बोलको गीतमा स्वर दिने अवसर पाएका थिए । उक्त गीतले आफूलाई साङ्गीतिक क्षेत्रमा प्रमाणित गर्ने अवसर दिएको उनले बताए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी जयन्ता जगमेरसँग विवाह गरेका भावुकका तीन छोरा छन् । साङ्गीतिक क्षेत्रबाटै परिवारको जिम्मेवारीसमेत पूरा गर्दै आएका उनले नेपाली गीत–सङ्गीतमा मौलिकता र स्तरीयता कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली समाज राम्रो सिर्जनाभन्दा अश्लील तथा गलत विषयवस्तुमा बढी आकर्षित हुन थालेकोमा आफूलाई दुःख लागेको भावुकले बताए । ‘अन्तिम सास रहुञ्जेल नेपाली गीत तथा सङ्गीतमा योगदान गर्ने अठोट लिएको छु,’ उनले भने, ‘साङ्गीतिक यात्रामा स्थापित र नयाँ कलाकार दुवैसँग संगत गर्ने अवसर पाएँ । हुलको पछाडि लागिनँ । जति सक्छु देशका लागि गर्छु । चर्चामा आएर पैसाका लागि इमान बेच्दिनँ ।’
भावुक अहिले नयाँ गीतको तयारीमा पनि छन् । तोरेम्पाहाङको सङ्गीत तथा चर्चित कलाकार विल्सनबिक्रम राई ‘तक्मे बुढा’को शब्दमा ‘घुम्दै आको सोल्टिनी’ बोलको पूर्वेली लोकदोहोरी गीत म्युजिक भिडियोसहित बजारमा ल्याउने तयारी भइरहेको उनले बताए ।
गायिका मन्माबी राईसँगको युगल स्वरमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा विल्सनबिक्रम राई, एलिस राई, अनुशा राई, जानुका गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । नयाँ सिर्जनामार्फत नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो यात्रा थप बलियो बनाउने लक्ष्य भावुकको छ ।












प्रतिक्रिया