काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच मलेसियाको वैदेशिक रोजगारीमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा अन्त्य गर्ने विषयमा गम्भीर छलफल भएको छ। मंगलबार बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन मलेसियाली समकक्षीको ध्यानाकर्षण गराएको उनको निजी सचिवालयले जनाएको छ ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले रोजगारीका नाममा श्रमिकमाथि भइरहेको अन्यायपूर्ण र अव्यावहारिक परिपाटी आफ्नो सरकारलाई कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। “हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,” शाहले मलेसियाली समकक्षी इब्राहिमसँग भने, “त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।”
प्रधानमन्त्री शाहको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पारे। उनले नेपाली श्रमिकमाथि हुने शोषण रोक्न आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी ठोस निकास निकाल्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुवै देशका प्रधानमन्त्री तहमा भएको यो सम्झौतापछि वर्षौँदेखि मलेसियाली श्रम बजारमा हाबी रहँदै आएको बिचौलिया र सिन्डिकेट प्रथा अन्त्य हुने विश्वास लिइएको छ।













प्रतिक्रिया