राष्ट्र संघमा मंगलबार ट्रम्पले सम्बोधन गर्दै, महासभाको ‘सामान्य बहस’मा बोल्ने छन् प्रधानमन्त्री वालेन्द्र « Khabarhub

राष्ट्र संघमा मंगलबार ट्रम्पले सम्बोधन गर्दै, महासभाको ‘सामान्य बहस’मा बोल्ने छन् प्रधानमन्त्री वालेन्द्र


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घ (राष्ट्रसंघ) महासभाको सामान्य बहस मंगलबारदेखि सुरु हुँदैछ। न्यूयोर्कमा हुने उक्त बैठक आगामी सेप्टेम्बर २८ सम्म चल्नेछ। बैठकमा राष्ट्रसंघका १९३ सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख र वरिष्ठ प्रतिनिधिहरू सहभागी हुँदैछन्।

सामान्य बहसको सुरुआत ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सम्बोधनबाट हुनेछ। त्यसपछि आयोजक तथा राष्ट्रसंघको मुख्यालय रहेको मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्नेछन्।

ट्रम्पको राष्ट्रसंघ सम्बोधन यसअघि पनि विवाद र चर्चामा आउने गरेको छ। सन् २०२५ मा राष्ट्रसंघमा सम्बोधनका क्रममा टेलिप्रम्प्टरमा समस्या आएपछि उनले असन्तुष्टि जनाएका थिए।

त्यस्तै, सन् २०१८ मा महासभामा आफ्नो कार्यसम्पादनको प्रशंसा गर्दै गरेको दाबीपछि सभाकक्षमा हाँसो सुनिएको थियो। त्यसपछि ट्रम्पले आफूले त्यस्तो प्रतिक्रिया अपेक्षा नगरेको बताएका थिए ।

ब्राजिलपछि अमेरिका बोल्ने परम्परा

सामान्य बहसमा सबैभन्दा पहिले ब्राजिल र त्यसपछि अमेरिकाले सम्बोधन गर्ने परम्परा लामो समयदेखि कायम छ। यद्यपि, यो कुनै लिखित नियम भने होइन।

राष्ट्रसंघका प्रारम्भिक वर्षमा कुनै पनि मुलुकले पहिलो सम्बोधन गर्न पहल नगरेपछि ब्राजिलले उक्त जिम्मेवारी लिएको थियो। सन् १९५५ देखि सामान्य बहसमा ब्राजिलले सबैभन्दा पहिले सम्बोधन गर्ने परम्परा बनेको हो।

ब्राजिलपछि अमेरिकालाई बोल्ने अवसर दिइनुको कारण राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुनु र अमेरिका आयोजक राष्ट्र हुनु हो।

त्यसपछि कुन देशले कहिले सम्बोधन गर्ने भन्ने राष्ट्रसंघले तय गर्छ। यस क्रममा प्रतिनिधिको हैसियत, अघिल्लो वर्ष सम्बोधन गरेको समय तथा विभिन्न देशलाई बोल्ने अवसरबीच सन्तुलन कायम गर्ने विषयलाई ध्यान दिइन्छ।

यो सामान्य बहसमा नेपालबाट प्रधानमन्त्री वालेन्द्र शाहले पनि सम्बोधन गर्दैछन् । मंगलबार न्यूयोर्क जान लागेका उनले बिहीबार राष्ट्रसंघ महासभाको सामान्य बहसमा बोल्नेछन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले यसपटक कसैसँग पनि द्विपक्षीय भेट नगर्ने निर्णय लिएका छन्। उनले बिहीबार राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन् । त्यही दिन महासचिव एन्टोनियो गुटेरेससँग मात्र शिष्टाचार भेट गर्नेछन्।

परम्परागत कूटनीतिक शैलीभन्दा फरक व्यवहारका कारण निरन्तर चर्चामा रहेका बालेनको यो निर्णयको चर्चासमेत सामाजिक सञ्जालमा भइरहेकाे छ ।

सामान्य बहस के हो?

सामान्य भाषामा भन्नुपर्दा, सामान्य बहस भनेको राष्ट्रसंघका अधिकांश सदस्य राष्ट्रले एउटै मञ्चबाट विश्वसामु आफ्ना धारणा राख्ने अवसर हो।

राष्ट्रसंघका १९३ सदस्य राष्ट्र छन् र महासभामा प्रत्येक देशको एक मत हुन्छ। हरेक वर्ष सेप्टेम्बरमा सदस्य राष्ट्रका नेता वा वरिष्ठ प्रतिनिधि न्यूयोर्क पुग्छन्। उनीहरूले आफ्ना देशका समस्या, प्राथमिकता तथा विश्वसँग सम्बन्धित महत्वपूर्ण विषयमा सम्बोधन गर्छन्।

यसै प्रक्रियालाई ‘सामान्य बहस’ भनिन्छ। यद्यपि, यहाँ नेताहरू आमनेसामने बसेर बहस गर्दैनन्। प्रत्येक देशले राष्ट्रसंघ महासभाको मञ्चबाट आफ्नो धारणा राख्ने अवसर पाउँछ।

यस अवधिमा विभिन्न देशका नेताहरूबीच द्विपक्षीय भेटवार्ता पनि हुन्छ। ती भेटमा व्यापार, सुरक्षा, युद्ध, कूटनीति तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुन्छ। त्यसैले राष्ट्रसंघ महासभाको यो सप्ताह विश्व कूटनीतिका दृष्टिले महत्वपूर्ण मानिन्छ।

ट्रम्पले इरानी राष्ट्रपति भेट्न सक्ने

यसपटक अमेरिका र इरानका राष्ट्रपतिबीच सम्भावित भेटवार्तामा विश्वको ध्यान रहनेछ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफू इरानी राष्ट्रपतिसँग भेटवार्ता गर्न तयार रहेको बताउनुभएको छ।

अमेरिका र इरानबीच करिब सात महिनादेखि युद्ध जारी रहेका बेला दुवै नेता एउटै शहरमा हुनेछन्। यस्तो अवस्थामा दुई नेताबीच सम्भावित वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

१५ मिनेटको सम्बोधन, कास्त्रोले ४ घण्टा २९ मिनेट बोलेका थिए

सामान्य बहसमा एक देशका नेतालाई सामान्यतया १५ मिनेट बोल्ने समय दिइन्छ। सबै देशलाई आफ्नो धारणा राख्ने अवसर सुनिश्चित गर्न यस्तो समयसीमा निर्धारण गरिएको हो। यद्यपि, इतिहासमा केही नेताले यसभन्दा निकै लामो सम्बोधन गरेका छन्।

क्युबाका नेता फिडेल कास्त्रोले सन् १९६० मा करिब चार घण्टा २९ मिनेट अर्थात् २६९ मिनेट लामो सम्बोधन गरेका थिए । यसलाई राष्ट्रसंघ महासभाको सामान्य बहसमा अहिलेसम्मकै सबैभन्दा लामो सम्बोधन मानिन्छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा करिब ३५ मिनेट ३८ सेकेन्ड सम्बोधन गरेका थिए । उनले २७ सेप्टेम्बर २०१४ मा राष्ट्रसंघ महासभाको सामान्य बहसलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : ३४ बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी