काठमाडौं- सोमबारदेखि ललितपुरस्थित भव्य पार्टी प्यालेसमा नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक चलिरहँदा नेताहरू तानातानमा परिरहेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन कम्मर कसेका नेताहरूलाई फकाउने, गलाउने सबै उपाय अपनाइरहेका छन्।
एघारौँ महाधिवेशनबाट महासचिवमा दोहोरिएका शंकर पोखरेलले अलग्गै दस्तावेजसहित आफूलाई हटाउन कोसिस गरेको भन्दै ओली चिढिएका छन्।
यस्तोमा ओलीले पोखरेललाई भूमिकाविहीन बनाउँदै एकलौटी बैठक पनि चलाए । तर मंगलरबारको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो भनाइ राख्ने मौका पाए ।
त्यसअघि महासचिव पोखरेललाई गुन्डूमा बोलाएर ओलीले तीन घण्टासम्म छलफल गरेका थिए । उक्त संवादमा पोखरेलले आफू ओलीलाई हटाउने पक्षमा नरहेको बताउँदै गलत बुझाइ भएको उल्लेख गरे।
त्यसपछि रामबाघ महलमा भइरहेको बैठकमा पौडेल र महासचिव पोखरेल दुवैले सम्बोधन गरे। महासचिव पोखरेलले आफ्नो सम्बोधनमा ओलीसँग कुनै किसिमको शत्रुता नरहेको भन्दै नरम रुपमा प्रस्तुत भए ।
पोखरेलले भने, ‘सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन।’

त्यस्तै, पार्टीमा असमझदारी र विग्रह आउने गरी आफूले विशेष महाधिवेशन आयोजनाको नेतृत्व नगर्ने उनको भनाइ थियो। ‘पार्टीमा असमझदारी र विग्रह आउने गरी मैले विशेष महाधिवेशन आयोजनाको नेतृत्व गर्दिनँ,’ पोखरेलले भने ।
आफू पार्टी अध्यक्ष बन्ने विषयमा समेत पोखरेलले ओलीको असहमतिमा अध्यक्ष नबन्ने धारणा राखे। ‘तपाईंको असहमतिमा म पार्टीको अध्यक्ष बन्दिनँ,’ उनको भनाइबारे नेता सूर्य थापाले भने ।
उता मंगलबार नै एमाले बैठकलाई सम्बोधन गरेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेतृत्वको आलोचना गरेर मात्रै पार्टीलाई एकजुट बनाउन नसकिने बताए।
उपाध्यक्ष पौडेलले बैठकलाई सम्बोधनका क्रममा पार्टीभित्र देखिएको मतभेद र अन्तर्विरोधलाई संवाद र सहमतिमार्फत् समाधान गर्नुपर्ने व्याख्या गरे । महासचिव पोखरेलसँग ओलीको कलह चलिरहँदा पौडेल भने नजिकिएको चर्चा छ । ओलीसँग नजिकिएको चर्चाबीच पौडेलले आफूलाई नरम शैलीमा प्रस्तुत गरे ।
उपाध्यक्ष पौडेलले अर्का उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले निकै मिहिनेतसहित प्रतिवेदन तयार गरेको दाबी गरे। कार्यदल गठनको चरणमै विभिन्न विषयमा मतभेद रहे पनि प्रतिवेदन तयार गर्ने क्रममा धेरै विषयमा सहमति जुटेको पनि जिकिर गरे।
‘कार्यदल गठनकै क्रममा धेरै विमति थियो, तर प्रतिवेदन तयार गर्ने बेला धेरै कुरामा सहमति बन्यो’, उनले भने, ‘अहिले फेरि प्रतिवेदन तयार भइसकेको अवस्थामा पक्ष-विपक्ष विभाजनको अवस्था आयो । यो राम्रो होइन, यसले पार्टीलाई हित गर्दैन।’
उपाध्यक्ष ‘बादल’ नेतृत्वको कार्यदलले महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवालीले तयार पारेका मस्यौदा पनि समेटेर २९ पृष्ठ लामो प्रतिवेदन बनाइसकेको छ। महासचिव पोखरेलको अलग्गै प्रतिवेदनलाई छेकेका ओलीले नेतृत्व छाड्न ठाडै अस्वीकार गरिदिएका छन्। चुनाव आफ्ना कारणले मात्रै नभएर देशी-विदेशी षड्यन्त्र पनि प्रमुख रहेको उनले बताए। उनले पार्टी पुनर्गठन अभियान छाडेर आफू कहीँ नजाने बताएका छन्।
यता मंगलबारको बैठकमा उपाध्यक्ष पौडेलले पार्टीको वर्तमान अवस्था, जनताको अपेक्षा, नेता-कार्यकर्ताको भावना तथा नेतृत्व विकाससँग सम्बन्धित विषयमा बोले । पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन सबै तहका नेता-कार्यकर्ताले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनलाई अध्यक्ष ओलीले आफूतिर तानेर महासचिव पोखरेललाई एक्ल्याउन खोजेको चर्चा एमाले बृत्तमा छ । त्यही भएर ओलीले सोमबार नै महासचिव पोखरेलको आशन आफ्नो नजिकबाट हटाउने कोसिस गरेका थिए ।













प्रतिक्रिया