लण्डन- बेलायतकी दिवङ्गत राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरको संस्मरण सार्वजनिक भएपछि बेलायतमा राजपरिवारसँग सम्बन्धित पुराना विवाद फेरि चर्चामा आएका छन् । ‘स्वान सङ : डायना, माई सिस्टर’ नामक पुस्तकमा राजा चार्ल्स तृतीयसँग सम्बन्धित विवादास्पद दाबी समेटिएपछि बकिङ्घम दरबारले समेत दुर्लभ प्रतिक्रिया जनाएको छ ।
पेन्गुइनद्वारा प्रकाशित तथा १२ भाषामा अनूदित संस्मरणमा स्पेन्सरले डायनाको पक्षबाट बोल्न र समयक्रममा स्थापित भएका गलत धारणा सच्याउन पुस्तक लेखेको बताएका छन् । सन् १९९७ मा पेरिसमा भएको कार दुर्घटनामा ३६ वर्षको उमेरमा डायनाको निधन भएको थियो ।
स्पेन्सरका अनुसार डायनाको निधनपछि राजा चार्ल्सले फोनमा ‘हामी उनलाई चाँडै बिर्सनेछौँ’ भनेका थिए । उनले डायनाका छोराहरू विलियम र ह्यारीलाई अन्त्येष्टिमा कफिनको पछाडि हिँडाउनुपर्ने विषयमा पनि चार्ल्स असन्तुष्ट भएको दाबी गरेका छन् । बकिङ्घम दरबारले लामो समयअघि भएको पारिवारिक शोकले स्मरण र घटनाको मूल्याङ्कनमा प्रभाव पार्न सक्ने बताएको छ ।
स्पेन्सरले भने यस प्रतिक्रियाले आफ्ना स्मृतिमाथि प्रश्न उठाइएको भन्दै आलोचना गरेका छन् । सन् १९८१ मा विवाह गरेका चार्ल्स र डायनाको सम्बन्ध सन् १९९६ मा टुङ्गिएको थियो । संस्मरणमा डायनाले कठिन समय भोगेको र कहिलेकाहीँ आत्महत्या गर्ने विचार आएको भए पनि छोराहरूप्रतिको प्रेमले त्यस्तो कदमबाट रोकेको स्पेन्सरको दाबी छ । डायनाको निधनपछि चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका थिए ।
शाही जीवनीकार रोबर्ट हार्डम्यान र एन्ड्र्यु मोर्टनले स्पेन्सरका केही दाबीमाथि प्रश्न उठाएका छन् । शाही टिप्पणीकार जेनी बन्डले संस्मरणलाई प्रतिशोधपूर्ण विवरणका रूपमा व्याख्या गरेकी छन् । संस्मरणमा डायनाका अन्तिम समयसँग जोडिएका डोडी फयाद र उनका पिता मोहम्मद अल–फयादबारे पनि उल्लेख छ ।
स्पेन्सरले डोडी डायनाप्रति दयालु रहेको बताएका छन् भने मोहम्मदप्रति डायनाको नकारात्मक धारणा रहेको दाबी गरेका छन् । उनले डायनाको मृत्युपछि उनका छोराहरू विलियम र ह्यारीमाथि बेलायती सञ्चारमाध्यमको प्रभावबारे पनि चर्चा गरेका छन् ।













प्रतिक्रिया