काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा आजदेखि विश्वका नेताहरुले आजदेखि सम्बोधन गर्दैछन् । महासभामा भाग लिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह कतार एयरवेजको जहाजमार्फत् आजै अमेरिका प्रस्थान गर्दैछन् । विश्वभरका दर्जनौँ नेताहरूले सम्बोधन गर्ने यस महासभामा भूराजनीतिक तनाव, क्षेत्रीय द्वन्द्व तथा प्रविधिका चुनौतीबारे गहन छलफल हुने अपेक्षा गरिएको छ ।
राष्ट्रसङ्घको महासभा सुरु भएपछि आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव एन्टोनियो गुटरेसले सम्बोधन गर्नेछन् । त्यसपछि राष्ट्रसङ्घको स्थापित परम्परा अनुसार ब्राजिलका तर्फबाट राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले महासभालाई पहिलो वक्ताका रूपमा सम्बोधन गर्नेछन् । ब्राजिलका राष्ट्रपतिको सम्बोधनलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
बिहानको सत्रमा कतारी अमिर तमिम बिन हमाद अल थानी, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका साथै फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले सम्बोधन गर्ने तय भएको छ । यसका अतिरिक्त जोर्डन, किर्गिस्तान, लिथुआनिया, पेरु, चिली, फिनल्याण्ड, लक्जमबर्ग र अङ्गोलाका प्रतिनिधिहरुले पनि यसै सत्रलाई सम्बोधन गर्नेछन् ।
गत फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि मध्यपूर्वमा सुरु भएको युद्ध अझै जारी रहेका बेला यो महासभा हुन लागेको हो । अप्रिलको सुरुमा भएको अस्थायी युद्धविरामपछि पनि दुवै पक्षबीच बेलाबेला आक्रमण र प्रत्याक्रमण हुने गरेको छ ।
यस द्वन्द्वका कारण होर्मुज जलक्षेत्रमा जलयातायात प्रभावित भई विश्वव्यापी तेल बजारमा असन्तुलन पैदा भएको छ भने कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । यसै पृष्ठभूमिमा इरानी राष्ट्रपति मसुद पेजेस्कियानको महासभामा सहभागितालाई विशेष चासोका साथ हेरिएको छ ।
अमेरिका र इजरायलले पेजेस्कियानसहित इरानका धेरै उच्च अधिकारीहरूमाथि लक्षित आक्रमण गरे पनि उनी महासभामा उपस्थित हुने निश्चित छ । यसका साथै महासभामा भाग लिन इरानबाट विदेशमन्त्री अब्बास अराघची अमेरिका पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले न्युयोर्कमा इरानी समकक्षीसँग भेटवार्ताका लागि आफू खुला रहेको बताए पनि दुई नेताबीच भेट हुने वा नहुने भन्ने विषय अझै निश्चित भइसकेको छैन ।
इरान युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पले खाडी राष्ट्रका नेताहरूसँग महत्त्वपूर्ण छलफल गर्ने भएका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धको आगामी चरण र रणनीतिबारे छलफल गर्न खाडी सहयोग परिषद (जीसीसी) का नेताहरूसँग भेटवार्ताको तय गरेका हुन् ।
उच्चस्तरीय भेटवार्तामा साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन, कुवेत र ओमानका नेता वा परराष्ट्रमन्त्रीहरू उपस्थित रहने अपेक्षा गरिएको छ । बैठकमा इरानसँगको जारी द्वन्द्वको पछिल्लो अवस्था, युद्धपछिको क्षेत्रीय सुरक्षा रणनीति र तेल आपूर्ति तथा व्यापार मार्गमा परेको असरबारे गहन छलफल हुने जनाइएको छ ।
महासभाकै क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकाको भ्रमण गर्दैछन् । राष्ट्रपति ट्रम्पको विशेष निमन्त्रणामा बुधबार अमेरिका जान लागेका सीलाई ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गर्ने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । यद्यपि राष्ट्रपति सीले महासभालाई सम्बोधन भने गर्नेछैनन् । चीनका तर्फबाट महासभामा उपराष्ट्रपति हान जेङले सम्बोधन गर्नेछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महासभालाई सम्बोधन गर्नेछैनन् । महासभामा भारतको प्रतिनिधित्व गर्दै विदेशमन्त्री एस जयशङ्करले सम्बोधन गर्नेछन् ।
यसैबीच, रुस-युक्रेन युद्ध पनि महासभाको अर्को प्रमुख एजेण्डा बन्नेछ । युद्ध अन्त्यका लागि अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डलले हालै मस्को र किभको भ्रमण गरे पनि कुनै ठोस सहमति जुट्न सकेको छैन । महासभाकै छेकोमा राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच पनि भेटवार्ता हुनेछ । महासभाका क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र अमेरिकी समकक्षी मार्को रुबियोबीच पनि द्विपक्षीय भेटवार्ता हुने जनाइएको छ ।
यसका साथै, तीव्र गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि र यसले सिर्जना गरेका चुनौतीहरूबारे पनि महासभामा विशेष छलफल हुनेछ । ट्रम्प प्रशासनले बुधबार महासभाको अवसर पारेर एआई सम्बन्धी एक उच्चस्तरीय छलफल आयोजना गर्दैछ ।













प्रतिक्रिया