एजेन्सी- टर्कीको पश्चिमी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयनजिक मङ्गलबार गोली चल्दा कम्तीमा ११ जना घाइते भएका छन्। घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई पक्राउ गरिएको अधिकारीले बताएका छन्।
न्यायमन्त्री अकिन गुर्लेकका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। मनिसा प्रान्तको तुर्गुत्लु जिल्लास्थित व्यावसायिक तथा प्राविधिक उच्च माध्यमिक विद्यालयअगाडि गोली चलेको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ।
घटनालगत्तै प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। टर्कीको समाचार संस्था हाबरतुर्कका अनुसार पक्राउ परेका व्यक्ति सोही विद्यालयका विद्यार्थी हुन्। उनले आफन्तको घरबाट ल्याएको सटगनबाट विद्यालयनजिक गोली चलाएको र त्यसपछि पैदल भाग्ने प्रयास गरेको जनाइएको छ।
घटनाको उद्देश्य भने खुलिसकेको छैन। मन्त्री गुर्लेकका अनुसार घटनाको अनुसन्धानका लागि दुई जना सरकारी वकिल खटाइएको छ। अनुसन्धानमा ती विद्यार्थी विद्यालयमा दुर्व्यवहार वा बुलिङमा परेको भन्ने दाबीसमेत समेटिएको छ।
गुर्लेकका अनुसार संदिग्धका अभिभावक र बन्दुकका मालिक रहेका उनका हजुरबुबालाई समेत अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको छ।
घटनापछि चिन्तित अभिभावक विद्यालय पुगेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यालयको प्रवेशद्वारमा सुरक्षाकर्मी र अभिभावकबीच तनावसमेत भएको थियो।
टर्कीमा पछिल्ला महिनामा विद्यालयमा भएका दुई गोलीकाण्डपछि यो घटना भएको हो। सरकारले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय तथा अन्य शैक्षिक संस्थामा सुरक्षा व्यवस्था कडा पारेको थियो।
गत अप्रिलमा दक्षिणपूर्वी सान्लिउर्फा प्रान्तको एक उच्च माध्यमिक विद्यालयमा पूर्वविद्यार्थीले गोली चलाउँदा अधिकांश विद्यार्थी गरी १६ जना घाइते भएका थिए। आक्रमणकारीले पछि आत्महत्या गरेका थिए।
त्यसको भोलिपल्ट काहरामानमारास प्रान्तमा १४ वर्षीय विद्यार्थीले विद्यालयका दुई कक्षाकोठामा गोली चलाउँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए। आक्रमणकारी प्रहरी कारबाहीमा मारिएका थिए।













प्रतिक्रिया