बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एकअर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रुस भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेपछि दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको वक्तव्यमा बाह्य हस्तक्षेपलाई युरेसियाली क्षेत्रमा स्थिरता कमजोर पार्ने प्रमुख कारकका रूपमा उल्लेख गरिएको छ। युरेसियाली एकताको प्रक्रियामा अवरोध पुर्याउने उद्देश्यले बल प्रयोग गर्ने वा बाह्य दबाब सिर्जना गर्ने कुनै पनि कार्यको दुवै देशले कडा विरोध गर्ने जनाइएको छ।
वक्तव्यमा चीन र रुसले एकअर्काका मुख्य हित तथा प्रमुख सरोकारका विषयमा निरन्तर समर्थन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
चीनले रुसको सुरक्षा, स्थिरता, राष्ट्रिय एकता, विकास, समृद्धि, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासलाई समर्थन गर्ने जनाएको छ। साथै, रुसको आन्तरिक मामिलामा बाह्य शक्तिबाट हुने हस्तक्षेपको विरोध गरेको छ।
यसैबीच, संयुक्त वक्तव्यमा रुसी राष्ट्रपति पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन सक्ने सम्भावित त्रिपक्षीय बैठकबारे भने केही उल्लेख गरिएको छैन।
क्रेमलिनका सहयोगी युरी उशाकोभले बुधबार पत्रकारहरूसँग चीन, रुस र अमेरिकाका नेताहरूबीच पहिलो त्रिपक्षीय बैठकको तयारी भइरहेको बताएका थिए। उनका अनुसार आगामी महिना चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त शिखर सम्मेलनका अवसरमा उक्त बैठक आयोजना गर्ने उद्देश्य राखिएको छ।














प्रतिक्रिया