राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाउन थालिएको छ।
गत साउनमा जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएपछि यसको फैलावट रोक्न किसानका गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिए।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकामा पशु स्वास्थ्य प्राविधिकले किसानका गोठमै पुगेर खोप लगाइरहेका छन्।
लुम्बिनी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत केन्द्रले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर अभियान सञ्चालन गरेको हो।
यद्यपि, जिल्लाका खजुरा, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाले भने हालसम्म लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन गर्न चासो नदेखाएको सूचना अधिकारी रावलले बताए।
लम्पी स्किन गाईभैँसीमा लाग्ने भाइरसजन्य सङ्क्रामक रोग हो। यो रोग क्याप्रिपक्स समूहको भाइरसका कारण लाग्छ। पशुमा यसको सङ्क्रमण फैलिन नदिन खोप अभियान प्रभावकारी हुने पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।














प्रतिक्रिया