काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय व्यापार र विकास एजेन्सी (अन्क्टाड) का अनुसार प्राकृतिक स्रोत, उत्पादन तथा प्रविधिको आदानप्रदान र परिमार्जित विश्व परिवेशका कारण विगत दुई दशकमा ब्रिक्स सदस्य राष्ट्रहरूबिचको व्यापार तीव्र रूपमा बढेको छ । यद्यपि, ग्लोबल साउथ व्यापारमा ब्रिक्स सदस्यहरूबिचको व्यापारको हिस्सा करिब २० प्रतिशत मात्रै रहेकाले यस ब्लकभित्र व्यापारको अझै ठुलो सम्भावना दोहन हुन बाँकी रहेको छ ।
यसै परिवेशमा अफ्रिकी मुलुक घानाले ब्रिक्स प्लसको सदस्यता वा सहकार्यको ढोका घच्घच्याउने ऐतिहासिक अवसर प्राप्त गरेको छ । घाना पहिले नै पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय (इकोवास), अफ्रिकी युनियन र संयुक्त राष्ट्रसङ्घ जस्ता बहुपक्षीय संस्थाहरूमा प्रतिष्ठित स्थान बनाउन सफल भइसकेको छ ।
साथै, सन् २०२५ देखि यसले कमनवेल्थ सचिवालयको नेतृत्व समेत सम्हालेको छ। दक्षिण अफ्रिका, इथियोपिया, नाइजेरिया र युगान्डाजस्ता अफ्रिकी देशहरू ब्रिक्ससँग जोडिइसकेको अवस्थामा घानासँग पनि यस गठबन्धनको हिस्सा बन्ने सबै मौलिक आधारहरू रहेका छन् । ब्रिक्स कुनै देशविरुद्धको मोर्चा नभई वैश्विक चुनौतीहरू समाधान गर्न र देशहरूको सार्वभौम अधिकारको सम्मान गर्दै सहकार्य बढाउने गैर-पश्चिमा मञ्च हो ।
सन् २०१५ मा स्थापित ब्रिक्सको न्यु डेभलपमेन्ट बैंक (एनडिबी) ले अहिलेसम्म ३५ अर्ब अमेरिकी डलर बराबरका १०० भन्दा बढी विकास आयोजनाहरूमा वित्तीय सहयोग गरिसकेको छ। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा यसको क्षेत्रीय कार्यालय रहेकाले यसलाई अफ्रिकामा लगानीको प्रवेशद्वार मानिन्छ । कुनै पनि राजनीतिक सर्तबिना सहुलियतपूर्ण ऋण, गरिबी निवारण र दिगो आर्थिक वृद्धिमा सहयोग गर्ने भएकाले एनडिबीले बहुध्रुवीय विश्व निर्माणमा ठुलो भूमिका खेलिरहेको छ ।
हाल बुर्किना फासो, माली र नाइजर जस्ता अफ्रिकी मुलुकहरू पनि ब्रिक्स प्लसमा जोडिन इच्छुक छन्। सन् २०२५ को ब्रिक्स अध्यक्षता सम्हालेको ब्राजिलले यसको विस्तारलाई प्राथमिकतामा राखेको छ र हाल ३० भन्दा बढी देशहरू यसमा सामेल हुन लाइनमा छन्। घानाका लागि छिमेकी मुलुक बुर्किना फासोले अन्तर्राष्ट्रिय मुद्राकोष वा विश्व बैंकको सहयोगबिनै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको रूपान्तरण पनि एउटा महत्त्वपूर्ण पाठ बनेको छ।
घानामा सन् २०२५ को जनवरीमा जोन डामानी महामाको नेतृत्वमा नयाँ सरकार बनेको छ। उच्च गुणस्तरको कोकोआ, सुन, हिरा, बक्साइट र करिब १० अर्ब ब्यारेल पेट्रोलियम पदार्थको भण्डार रहेको घानाले आफ्नो आर्थिक पुनर्उत्थानका लागि नयाँ रणनीति बनाउनु आवश्यक छ। संयुक्त राज्य अमेरिका वा पश्चिमा मुलुकहरूसँगको परम्परागत सम्बन्धमा कुनै आँच नपुर्याई ब्रिक्स प्लसको मञ्च प्रयोग गर्न सकिने अर्थशास्त्रीहरूको भनाइ छ। घानामा अफ्रिकी महाद्विपीय स्वतन्त्र व्यापार क्षेत्रको मुख्यालयसमेत रहेकाले यसले ब्रिक्स र अफ्रिकाबिचको व्यापार विस्तारमा पुलको काम गर्न सक्छ।
घानाले औद्योगिक तथा कृषिजन्य प्रशोधित सामान र खनिज निर्यात गरेर ब्रिक्स राष्ट्रहरूबाट पूर्वाधार विकास, प्रविधि र लगानी भित्र्याउन सक्छ। विश्वव्यापी आलोचनाहरूका बाबजुद ब्रिक्स प्लससँग उन्नत उत्पादन, विशाल बजार र प्रविधिको ठुलो पहुँच छ। त्यसैले, करिब ३ करोड ५० लाख जनसङ्ख्या भएको घाना र राष्ट्रपति महामाको नयाँ सरकारका लागि उदीयमान बहुध्रुवीय विश्वमा आफ्नो अर्थतन्त्रलाई सबल बनाउन ब्रिक्स प्लससँगको रणनीतिक साझेदारी एउटा कोशेढुङ्गा साबित हुन सक्छ।














प्रतिक्रिया