मुस्ताङ– नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ ।
कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो । भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो घटना हो ।
गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएकाले विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम वृद्धि भएको हुन सक्ने भन्सार कार्यालय अधिकृत अमिन्द्र सिंहले जानकारी दिए ।
उनका अनुसार, चालु वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को सङ्ख्यामा ती विद्युतीय नेपाल भित्रिएका हुन् ।
यसैबीच, नेपाल भित्रिएका ती सवारीसाधनलाई गन्तव्यसम्म पुर्याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव हुँदा विभिन्न चुनौती खेप्न परेको भन्सार प्रमुखको भनाइ छ ।
सोही समस्याका कारण मुस्ताङ भन्सारमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै पनि सडकमै रहेको पाइएको छ । रासस














प्रतिक्रिया