काठमाडौं– भारतीय पौराणिक कथामा आधारित फिल्म ‘रामायण’ले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । प्रदर्शनको १७ दिनमै फिल्मले विश्वभरबाट १ हजार ६१६.७० करोड भारु ग्रस कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको छ । यससँगै विश्वव्यापी रूपमा १ हजार ६०० करोडभन्दा बढी कमाउने भारतीय फिल्मको सूचीमा ‘रामायण’ पाँचौँ स्थानमा उक्लिएको छ ।
सैकनिल्क (मनोरञ्जनसम्बन्धी तथ्याङ्क र बक्स अफिस ट्र्याकिङ गर्ने एक भारतीय प्लेटफर्म) का अनुसार फिल्मले १७औँ दिन भारतमा मात्रै २७.४० करोड भारु नेट कमाएको थियो ।
योसँगै भारतीय बजारमा फिल्मको कुल नेट कमाइ ९०६.९० करोड पुगेको छ। भारतमा फिल्मको ग्रस कलेक्सन भने १ हजार ८३.७० करोड भारु पुगेको छ ।
विदेशी बजारमा पनि फिल्मको प्रदर्शन उत्साहजनक देखिएको छ । १७औँ दिन विदेशबाट १० करोड भारु ग्रस कमाएको फिल्मले अहिलेसम्म अन्तर्राष्ट्रिय बजारबाट ५३३ करोड भारु संकलन गरिसकेको छ ।
भारतमा प्रदर्शन भएका विभिन्न भाषाका संस्करणमध्ये हिन्दीले सबैभन्दा बढी कमाइ गरेको छ । १७औँ दिन हिन्दी संस्करणले २०.२५ करोड भारु कमाउँदा मलयालमले २.७५ करोड, तमिलले २ करोड, कन्नडले १.६५ करोड र तेलुगु संस्करणले ७५ लाख भारु कमाएका छन् ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर भगवान् राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन् । नमित मल्होत्राले निर्माण गरेको यस फिल्मले भारतीय बजारमा मात्रै नभई अन्तर्राष्ट्रिय दर्शकमाझ पनि बलियो प्रभाव छाडिरहेको छ ।














प्रतिक्रिया