काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) पछि नेपाली खेलकुदको ध्यान दशौँ राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको जनाउँदै उनले त्यसको तयारी भइरहेको बताएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार प्रतियोगिताका मुख्य खेलहरू मंसिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ ।
‘मंसिर ८ गतेबाट मुख्य खेलहरू सुरु भई मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा औपचारिक उद्घाटन हुने यस बृहत् प्रतियोगिताको तयारी तीव्र पारिएको छ,’ पोखरेलले लेखेका छन् ।
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गरिए पनि हालसम्म ९ वटा मात्र संस्करण सम्पन्न हुनु दुःखद रहेको उनको भनाइ छ । विगतमा देखिएको ढिलासुस्ती र अवरोध अब अन्त्य हुने प्रतिबद्धता पोखरेलले जनाएका छन् ।
प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर उकास्न गम्भीर भएर लाग्ने उल्लेख गर्दै उनले लेखेका छन्, ‘खेलकुदलाई एउटा बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्दै दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूको साथ र सहकार्यको अपेक्षा गर्दछौँ ।’














प्रतिक्रिया