विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनः निर्माण गर्नुपर्छ : गगन थापा « Khabarhub

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनः निर्माण गर्नुपर्छ : गगन थापा


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनस्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार अवलोकनपछि उनले जोखिमको प्राविधिक मूल्याङ्कनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरणका उपाय अपनाएर बस्ती पुनस्निर्माण गर्नुपर्ने धारणा राखे ।

प्रभावित बासिन्दाले वर्षौँदेखि बसोबास गर्दै आएको पुख्र्यौली थातथलो छाड्न नचाहेको र बेत्रावती, त्रिशूली तथा देवीघाटका बासिन्दाले जोखिम न्यूनीकरण गरेर सोही क्षेत्रमा बस्ती पुनस्निर्माण गर्न माग गरेको उल्लेख गर्दै उनले स्थानीयको भावना र सुरक्षालाई ध्यान दिनुपर्ने बताए ।

सभापति थापाले पुनस्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनस्स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे । उनले सडक, पुल, विद्युत् आयोजना तथा अन्य सार्वजनिक संरचनाको पुनस्निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीका अवसरलाई पनि पुनस्स्थापनाको योजनामा समेट्नुपर्ने बताए ।

सरकारले पुनः निर्माणका योजना तयार गर्दा प्रभावित बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्ने उनको भनाइ थियो । पुनः निर्माण र पुनः स्थापनाका कार्यक्रमलाई एकीकृत प्याकेजका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव र सहयोग गर्ने बताए ।

उनले रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न बस्ती, रसुवा–नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे, देवीघाट हुँदै धादिङको गल्छीसम्मको प्रभावित क्षेत्रको अवलोकन गरे । सो क्रममा नदीको उच्च बहावबाट क्षति पुगेका नदी किनार तथा आसपासका बस्तीको पुनस्निर्माण गर्दा भविष्यमा हुन सक्ने जोखिमको प्राविधिक अध्ययनलाई आधार बनाउनुपर्ने उनले बताए ।

अवलोकनका क्रममा सभापति थापाले स्थानीय तहका जनप्रतिनिधिसँग विपद्पछिको अवस्था, राहत तथा पुनस्स्थापनाका काम र पुनर्निर्माणका प्राथमिकताबारे जानकारी लिए । उनले प्रभावित बासिन्दासँग छलफल गर्नुका साथै उनीहरू अस्थायी रूपमा बसोबास गरिरहेका आवास केन्द्रको पनि अवलोकन गरे ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती, सडक, पुल, विद्युत् आयोजना, निजी आवास तथा व्यावसायिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । बाढी प्रभावितको स्थायी पुनस्स्थापना, सुरक्षित आवास निर्माण र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अहिलेको प्रमुख आवश्यकता रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सभापति थापालाई जानकारी गराए ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ८ : ३७ बजे

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

अन्ताल्या – विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनः निर्माण गर्नुपर्छ : गगन थापा

नुवाकोट – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्ली – नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

पेरिस – फ्रान्समा प्रदर्शन नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा – त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला