ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह « Khabarhub

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह



एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु मध्येका एक मानिन्छन् । निर्वाचनमा पराजय अथवा विजयको मतादेशलाई निरन्तर शिरोधार्य गर्दै आएका ओली चार पटकसम्म देशको प्रधानमन्त्री भइसकेका छन् । फागुन २१ को निर्वाचन पनि उनको निम्ति खासै चुनौतीपूर्ण अथवा प्रतिस्पर्धात्मक हुने सम्भावना थिएन तर अब भने परिस्थिति फेरिएको छ ।

जेनजी आन्दोलनको सफलताका कारण तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेर पनि पदबाट राजीनामा गर्नु परेको थियो । आन्दोलन सफलताको नायक काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाह मानिन्छन् भने जेनजी आन्दोलन दबाउन खोज्ने पात्रको खलपात्रको अपजस ओलीले व्यहोर्नु परेको छ ।

जेनजी आन्दोलनमा ओली कार्यशैलीको त्यतिबेला तीव्र विरोध भएको थियो । भ्रष्टाचारप्रति उनको लचिलो नीतिलाई पनि देशले मन पराएको थिएन । एमालेका नेतामा देखिएको दम्भ र अहंकारले पनि ओली र उनको सरकारलाई अलोकप्रिय बनाएको थियो । फागुन २१ को निर्वाचनमा ओलीसित भिड्न बालेन झापा–५ झरेका छन् ।

ओलीले फेरि पनि आफू नै देशको प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने बालेनलाई आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको घोषित उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ । प्रधानमन्त्री बन्ने सम्भावना रहेका उपरोक्त दुई हेभिवेट नेताको भिडन्तको क्रिडास्थल झापा–५ बन्दैछ । त्यहाँका जनताले कुनै एक नेतालाई मात्रै चुनावमा विजयश्री गराउन सक्नेछन् ।

कतिपयले बालेनले झापा–५ मा उठने निर्णय गरेर आत्मघाती कदम चालेको आरोप पनि लगाउँछन् । तर यसको सूक्ष्म विश्लेषण गर्ने हो भने हो बालेनको यो निर्णय दुरदर्शी, साहसी र अग्रीम मोर्चाबाटै प्रहार गर्ने प्रवृतिको संकेत हो । २०७९ सालको आम निर्वाचनमा रवि लामिछानेले पनि संघीय राजधानी काठमाडौँबाट नभई चितवनवाट उम्मेदवारी दिएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जिल्लाबाट रविले चुनाव लड्नु र ठूलो अन्तरबाट चुनाव जित्नु कम साहसिलो काम थिएन । उनी चितवनबाट लडे पनि काठमाडौँ र वरिपरिका जिल्लामा स्वतः नै रास्वपाको लोकप्रियता बढ्ने भयो ।
पार्टीले काठमाडौं उपत्यका बागमती प्रदेश र देशका शहरी क्षेत्रमा राम्रो प्रदर्शन गर्‍यो । २०७९ सालको स्थानीय चुनावमा बालेनले काठमाडौंमा नेपाली काँग्रेस र एमालेलाई शानदार रुपमा हराएका थिए । सम्भवतः यिनै कारणले होला राजधानी बाहिर पनि स्वतन्त्र नेतृत्वलाई स्थापित गर्ने काम ग¥यो । प्रतिनिधिसभा निर्वाचनमा चारजना स्वतन्त्र सांसद निर्वाचित भएर आए ।

यो निर्वाचन एक किसिमले जेन–जी आन्दोलनको परिणाम पनि हो । बालेनले जेनजी आन्दोलनको खुलेर समर्थन गरेका छन् भने ओलीले विरोध । त्यसैले यो केवल प्रतिस्पर्धा होइन, झापा–५ मार्फत जेनजी आन्दोलनको औचित्यबारे जनमत संग्रह पनि हो ।

एमालेका ओलीको परम्परागत निर्वाचन क्षेत्रमा बालेनको प्रवेश आफैंमा चमत्कारपूर्ण छ । यसले देशको राजनीतिक वृतलाई तरङ्गित गरिदिएको छ । ओलीको सर्वाधिक सुरक्षित निर्वाचन क्षेत्रमा बालेनको उम्मेदवारी कुनै चलचित्रका नायकको जस्तो उपस्थिति हेर्ने बित्तिकै दशर्क ताली बजाउँछन्, उत्साही हुन्छन्, तर यो राजनीतिको मैदान हो र यहाँ तालीका साथै चुनावमा निर्णायक जनादेश पनि चाहिएको हुन्छ ।
वर्तमान अवस्थामा ओली काठमाडौ वा काठमाडौं उपत्यकामा खुला रुपमा सार्वजनिक मञ्चमार्फत भाषण गर्ने साहस जुटाउन सकिरहेका छैनन् तर बालेन भने आफनो गृह संसदीय क्षेत्र महोत्तरी–३ तथा कर्मभूमि काठमाडौंको कुनै क्षेत्रलाई नरोजी झापा रोज्नुले जो कोहीलाई पनि आश्चर्यचकित बनाएको छ ।

२०७९ सालको संसदीय निर्वाचनमा ओलीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भन्दा दोब्बर मत ल्याएका थिए । उनलाई राप्रपाको पनि समर्थन प्राप्त थियो । समानुपातिक तर्फ नेकपा एमालेले ३५ हजार ८७२ र राष्ट्रिय स्वतन्त्र पार्टीले १८ हजार २०५ मत नेपाली कांग्रेसले १६ हजार ८५९ र राप्रपाले सात हजार ३७० मत प्राप्त गरेको थियो ।

अस्तिसम्म नेकपा (एमाले)लाई निर्विकल्प मानिएको थियो । नक्सलवाडी (सीमावर्ती पश्चिम बङ्गालको नक्सलवाडी क्षेत्र) जहाँबाट चारु मजुमदार, कानु सन्याल, विनोद मिश्र र दिपांकर भट्टाचार्य जस्ता भारतीय नक्सलाइट नेताले हिंस्रक आन्दोलन सुरु गरेका थिए । तिनकै सानिध्यमा बसेर नेपालका युवाले पनि नक्सलवादी आन्दोलनमा आफ्नो सक्रिय भूमिका निर्वाह गरेका थिए ।

झापा र मोरङमा नक्सलवादी आन्दोलनको प्रभाव थियो । नेपाली नक्सलवादीले नेकपा माले नामको पार्टी खोलेका थिए । युवाको जमात भएका कारण नेकपामा मालेले पुराना वामपन्थी दललाई विस्थापित गर्दै आफूलाई स्थापित गरे । मालेको हिंस्रक आन्दोलनमा झापा र मोरङका दर्जनौ किसानको घाँटी रेटिएको थियो । किसान हत्याको आरोपमा ओलीले एक दशकभन्दा लामो समयसम्म जेलको यात्रा पनि गर्नुप¥यो ।

नेकपा (माले)को त्यस आन्दोलनको प्रभाव धेरै लामो समयसम्म रहयो । झापामा माओवादी आन्दोलनको त्यति बढी प्रभाव देखिएन, जतिकै मालेको असर रहयो । पुरानो माले २०४७ सालमा एमाले भएपछि हालसम्म झापामा एमालेको प्रभाव देखियो । एक दुई चुनावको परिणाम अपवाद रह्यो, तर परिस्थिति अब पुरानो रहेन ।

मेची नदीमा धेरै पानी बगिसकेको छ । गिरिबन्धु टी स्टेटको विवाद झापासँग जोडिएको मुद्दा हो भन्ने नक्कली भुटानी शरणार्थी प्रकरण पनि झापासँग नै जोडिएको विषय हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री रहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको उजागर भएको थियो । एमाले र नेपाली कांग्रेसका नेता यसमा सामेल छन् । सम्भवतः बालेनले उपरोक्त दुई मुद्दालाई चर्को रुपमा उठाएर ओलीलाई घेर्ने प्रयास गर्नेछन् । रवि लामिछाने र डा.स्वर्णिम वाग्लेको चुनाव प्रचारले ओलीलाई थप समस्यामा पार्नेछ ।

राजनीतिक मुद्दाका सामु आर्थिक विषय गौण हुन्छन् । यसकारण ओलीले आफ्नो संसद अवधिमा गरेका विकास निर्माण कार्यका जतिसुकै चर्चा गरे पनि भ्रष्टाचारको मुद्दा सामु अन्य मुद्दा गौण हुन जान्छ ।

फागुन २१ मा हुने निर्वाचनप्रति नेपाली जनतामा त्यति बढी उत्साह देखिदैन । यसको प्रमुख कारण नेपालमा आजसम्म भएका राजनीतिक परिवर्तनको अनुभूति जनतालाई हुन सकेन । देशका स्थापित र पुराना राजनीतिक दलप्रति जनताको बिल्कुलै विश्वास छैन । खराबमध्ये अपेक्षाकृत कम खराबलाई विकल्पको रुपमा रोज्न नेपाली जनता बाध्य भएका छन् ।

जेनजी आन्दोलनको सफलताले देशको राष्ट्रिय राजनीतिमा पराकम्पन ल्याइदिएको छ । राजनीतिक दलहरु पनि आफ्नो संगठनभित्र युवालाई स्थान दिने कुरा गरिरहेका छन् । नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत् गगन थापालाई सभापतिमा निर्वाचित गरेको छ । एमालेमा भने तत्काल यस्तो सम्भावना छैन ।

झापामात्रै होइन देशभरिका मतदाता नै बालेनलाई विगतको योगदान भन्दा पनि भोलिको आशा–विश्वास र सम्भावनाका साथै मुलुक निर्माणको आधार स्तम्भको रुपमा हेरिरहेका छन् । झापा–५ को निर्वाचन प्रति त्यहाँका जागरुक मतदाता र युवापुस्ता निकै सचेत छन् । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा ५० प्रतिशत संगठित सदस्यले आफ्नो सदस्यता नवीकरण नगराउनुको अर्थ एमालेको संगठन पनि अब केवल कागजमै सीमित रहेको मान्न सकिन्छ । विगत ३५ वर्षदेखि एउटै उम्मेदवारलाई पटक पटक चुनाव जिताएका जनता अब ओलीमा आकर्षण देखिरहेका छैनन् ।

एउटै मान्छे सांसद, मन्त्री र प्रधानमन्त्री भइरहेका छन्, जनताले पटक पटक बहुमत र दुई तिहाई समर्थन दिए पनि आधारभूत समस्या समाधान हुन सकेन । जनतामा चरम असन्तुष्टि छ । राष्ट्रवादको सुनपानीले ओलीलाई पटक पटक चोख्याउन सक्दैन । गाउँघरका आमाबुबाले अब स्वेच्छाले मत दिने अवस्था रहेन । विदेशमा काम गर्न गएका वा पढ्न गएका तिनका छोरा–छोरीले मन पराएका उम्मेदवारलाई भोट दिनुपर्ने बाध्यकारी अवस्था छ ।

बालेनले चालेका केही साहसिक कदमले यहाँका युवालाई आकर्षित गरेको छ । काठमाडौंको मेयर जस्तो पदबाट राजीनामा गरेर चुनावमा जाने साहस गर्नु सामान्य हिम्मतको काम होइन । बालेनको रुपमा आएको नयाँ पुस्ताको आकांक्षा र पुराना दलप्रतिको चरम वितृष्णाबीच हुन गइरहेको निर्वाचनमा झापा–५ का जनताले सुझबुझपूर्ण निर्णय लिने सम्भावना छ ।

झापा आफैंमा शिक्षित, जागरुक र सचेत मतदाताको जिल्ला हो । विगत साढे तीन दशकमा नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलमा झापाकै नेताहरुको महत्त्व रहेको देखियो । सम्भवतः बालेनलाई झापाका जनता आफ्नो नै ठानेर मतदान गर्नेछन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ९ : १२ बजे

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु