काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी फागुन २१ गतेको चुनावमा पार्टीले १०० सीट जित्न सक्ने बताएका छन् ।
महामन्त्री घिमिरले मोरङको विराटनगरमा पत्रकारहरूसँगको संवादका क्रममा समानुपातिकतर्फ पनि कम्तीमा ३५ लाख मत ल्याउने दाबी गरे ।
विशेष महाधिवेशनपछि पार्टी एक भइसकेको अवस्थामा प्रत्यक्ष र समानुपातिक दुवैमा कांग्रेसले ठूलो सफलता पाउने उनले दाबी गरे।
२०७९ को निर्वाचनमा जितेका र हजारभन्दा कम मतले गुमाएका सीटको समेत हिसाब गर्दा प्रत्यक्षतर्फ १०० सीटमा जित निकाल्न सकिने सुनाएका हुन् ।
घिमिरेले फागुन २१ गतेको निर्वाचनपछि संसदीय दलको नेतामा पनि सभापति गगन थापा सर्वसम्मत हुने बताए ।
घिमिरेले संसदीय व्यवस्था भएका देशमा संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने अभ्यासको पनि ब्याख्या गरे । त्यहीअनुसार थापाले संसदीय दलको नेता बनेर प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गर्ने पनि उनले उल्लेख गरे।
घिमिरले कांग्रेको १५ औँ महाधिवेशन वैशाखमा गर्न उचित नहुने बताए । एक वर्षभन्दा बढी महाधिवेशन सार्न नमिल्ने विधानको व्यवस्था रहेको स्मरण गराउँदै उनले संसदीय निर्वाचनको नतिजापछि सरकार गठनमै केही महिना जाने भएकाले महाधिवेशन वैशाखमा हुन नसक्ने सुनाए ।
घिमिरेले २०८३ सालको पुस मसान्तसम्ममा पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।













प्रतिक्रिया