अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ? « Khabarhub

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

चुनौतीपूर्ण बन्दै मुटुको सुरक्षा : हृदयघातबाट बच्न विज्ञका सात सुझाव


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको पर्सा गाउँपालिका–४, जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका रघुनाथ महतो अचानक बेहोस भए । रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब महतोलाई निर्वाचनमा खटिएका सहकर्मीले प्रादेशिक अस्पताल मलंगवा पुर्‍याए पनि उपचारका क्रममा उनको निधन भयो । पोस्टमार्टमपछि महतोको मृत्यु हृदयघातका कारण भएको पुष्टि भयो ।

त्यस्तै, कञ्चनपुरमा फागुन १८ गते राति खाना पकाउँदा पकाउँदै प्रहरी मानसिंह राना अचेत भए । पुनर्वास नगरपालिका–९ स्थित सीता बस्तीमा रहेको जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय रानाको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भयो । राना लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पुष्टि भयो ।

यी त सञ्चारमाध्यममा आएका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय हृदयघातकै कारण बोल्दाबोल्दै ढलेर वा अचानक बेहोस भएर मृत्यु भएका घटना गाउँ–छिमेकमा प्रायः दैनिकजसो सुन्न पाइन्छ ।

यसरी मृत्यु हुनेमा २५ देखि ३० वर्षका युवा समेत पर्ने गरेका छन् । चिकित्सकका अनुसार पछिल्लो समय हाम्रो खानपान, जीवनशैली र वातावरणीय प्रभावका कारण हृदयघातबाट मृत्यु हुनेको संख्या बढ्दो छ । सानै उमेरमा उच्च रक्तचाप र मधुमेह हुने लगायतका कारणले सबै उमेर समूहमा हृदयघातको जोखिम रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्साल बताउँछन् ।

हाम्रो खानपान, जीवनशैली र वातावरणीय प्रभावका कारण हृदयघातबाट मृत्यु हुनेको संख्या बढ्दो छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हुने कुल मृत्युको करिब २५–३० प्रतिशत मुटु तथा रक्तनली सम्बन्धी रोगका कारण हुन्छ । तीमध्ये हृदयघात मुख्य मानिएको छ ।

नेपालमा हृदयघात बढ्नुका कारण
डा. लम्सालका अनुसार बदलिँदो जीवनशैली र अस्वस्थ बानीका कारण मुटु रोगको जोखिम तीव्र रूपमा बढिरहेको छ । अस्वस्थ खानपान हृदयघातको प्रमुख कारकका रूपमा देखिएको छ । “अत्यधिक चिल्लो, जंक फुड तथा धेरै नुनयुक्त खानेकुरा सेवन गर्ने प्रवृत्तिले मुटुमा नकारात्मक असर पार्ने गरेको छ,” उनले भने ।

त्यसैगरी, शारीरिक निष्क्रियता पनि अर्को महत्त्वपूर्ण कारण हो । दैनिक व्यायामको कमी र लामो समयसम्म बसिरहने बानीले मुटुको स्वास्थ्य कमजोर बनाउने उनले बताए । धूम्रपान र मदिरा सेवन पनि हृदयघातको जोखिम बढाउने मुख्य कारण हुन् । यी बानीले रक्तनलीमा क्षति पुर्‍याई मुटुमा प्रत्यक्ष असर पार्ने गरेको उनको भनाइ छ ।

यस्तै, तनावपूर्ण जीवनशैली, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग भएका व्यक्तिमा हृदयघातको जोखिम अझ बढी रहन्छ । कामको दबाब, मानसिक तनाव र अनियमित दिनचर्याले मुटुको कार्यक्षमतामा असर पुर्‍याउने देखिएको डा. लम्सालले बताए ।

तनावपूर्ण जीवनशैली, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग भएका व्यक्तिमा हृदयघातको जोखिम अझ बढी रहन्छ ।

बाथरुममा हुने मृत्यु र हृदयघात
पछिल्लो समय बाथरुममा लडेर मृत्यु भएका धेरै घटनालाई पनि हृदयघातसँग जोडिएको पाइन्छ । तर बाथरुममा बेहोस हुने सबै कारण हृदयघात नहुने डा. लम्साल बताउँछन् । उनका अनुसार उमेर बढ्दै जाँदा शरीरका स्नायु कमजोर हुन्छन्, जसले गर्दा कहिलेकाहीँ जुरुक्क उठ्दा मस्तिष्कमा रक्तप्रवाह कम भई मानिस बेहोस हुन सक्छ ।

त्यस्तै, लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिको रक्तनली अलि चौडा भएको हुन्छ । सुतेको व्यक्ति जुरुक्क उठेर हिँड्दा रक्तचाप (प्रेसर) एक्कासि घट्छ र मान्छे बेहोस हुन्छ । रातको समयमा बाथरुममा लड्दा अन्य व्यक्तिलाई छिटो जानकारी नहुने भएकाले मृत्युको सम्भावना बढी हुने उनले बताए ।

त्यसैले ओछ्यानबाट उठ्ने बित्तिकै शरीरमा रगतको सन्तुलन मिलाउन पहिला खुट्टा चलाउने, केही बेर बस्ने वा उभिने र त्यसपछि मात्र बिस्तारै बाथरुम जान उनको सुझाव छ । पहिले नै यस्तो समस्या भइसकेको छ भने फेरि दोहोरिन नदिन चिकित्सकको परामर्श लिने र आवश्यक परे औषधि सेवन गर्नुपर्ने उनले बताए । पुरुषमा पिसाब गर्दा लड्ने जोखिम हुने भएकाले बसेर पिसाब गर्दा सुरक्षित हुने र लडिहाले पनि चोटपटक कम लाग्ने उनको भनाइ छ ।

उमेर बढ्दै जाँदा शरीरका स्नायु कमजोर हुन्छन्, जसले गर्दा कहिलेकाहीँ जुरुक्क उठ्दा मस्तिष्कमा रक्तप्रवाह कम भई मानिस बेहोस हुन सक्छ ।

हृदयघातबाट बच्न चिकित्सकका ७ सुझाव:
स्वस्थ खानपान अपनाउने:
चिल्लो, बोसोयुक्त र जंक फुड कम खाने । हरियो सागसब्जी, फलफूल र पूर्ण अन्न बढी खाने । नुन र चिनीको मात्रा नियन्त्रण गर्ने ।
नियमित व्यायाम गर्ने: हप्तामा कम्तीमा ५ दिन, दैनिक ३० मिनेट हिँड्ने वा व्यायाम गर्ने ।
धूम्रपान र मदिरा त्याग्ने: धूम्रपान हृदयघातको प्रमुख कारण हो, त्यसैले सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्ने ।
तनाव व्यवस्थापन गर्ने: ध्यान, योग वा मनपर्ने गतिविधिमा समय दिने । दैनिक ७–८ घण्टा सुत्ने ।
नियमित स्वास्थ्य जाँच गर्ने: रक्तचाप, सुगर र कोलेस्ट्रोल नियमित जाँच गरी नियन्त्रणमा राख्ने ।
तौल नियन्त्रणमा राख्ने: मोटोपनाले जोखिम बढाउने हुँदा सन्तुलित आहार र व्यायामले तौल सन्तुलनमा राख्ने ।
लक्षण चिन्ने: छाती दुख्ने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने, हात वा बङ्गारा दुख्ने जस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाने ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ९ : २६ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा