काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको सजायको माग राखेका छन् । कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीसँगको कुराकानीमा उनीहरुले नयाँ बन्ने सरकारले बलात्कारीलाई फाँसी दिने कानुन ल्याउनेमा विश्वस्त रहेको बताएका छन् । यदि सरकारले बलात्कारीलाई फाँसी नदिएको खण्डमा आफूहरुले नै अपराधीको सर्वनास गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार प्रसारणमा आएको दुई घण्टाको कार्यक्रममा कमलो मन भएकोलाई छियाछिया पार्न सक्छ भनेर दर्शकलाई सजग गरिएको छ । तर, हिम्मत गरेर ठूलो मन बनाउनेहरु पनि पीडितहरुको कुरा सुन्दा मानसिक रुपमा विक्षिप्त बने । दुई दिनदेखि नेपाली समाजको विद्रुपलाई मानिसले स्वीकार गर्न सकिरहेका छैनन् ।
छाउपडी बसेकी चेलीलाई उठाएर सामूहिक बलात्कार गरेपछि तीन तलाबाट फालिएकी किशोरीको बयानले छोरीहरुका लागि बाँच्ने समाजै नभएको चित्रण गर्छ । आफ्नै बुवाले बलात्कार गर्ने र यौन पेशामा लगाउने पीडितको शब्दले जोकोहीको मन मुटु छिन्नभिन्न पार्छ । कार्यक्रममा पीडितहरुको कुराकानी संक्षिप्त प्रस्तुत गरिएको छ ।
पुष्पा–पार्ट १
म पहिलोपटक १४ वर्षको उमेर रजस्वला भएँ । सुदूपश्चिमको चलन अनुसार परिवारले छाउपडीमा पठाउनुभयो । छाउपडी कोही साथी थिएन । एक्लै बस्नुपर्थ्यो । त्यसै बेला कसैले आँखा, कसैले मुख र कपाल लछार्दै घर नजिकैको स्कुलनिर लगेर चार जनाले सामूहिक बलात्कार गरे । प्रमाण नष्ट गर्नको लागि मार्ने कोसिस गरे । बनाउँदै गरेको तीनतले भवनबाट फ्याँकिदिए ।
त्यति माथिबाट फ्याँक्दा पनि चलबलाएपछि उनीहरुले फेरि जंगलतिर लगे । रगताम्य शरीरको पूरै लुगा फुकालेर पुनः बलात्कार गरे । त्यसपछि निर्वस्त्र रुखमा बाँधेर भागे । गाउँकै एक व्यक्तिले मलाई देखेर प्रहरीलाई खबर गरे । प्रहरीले अस्पताल पुर्यायो । परिवार सबै आउनुभयो । उहाँहरुको एउटै आशा थियो–छोरी बाँचोस् । प्रहरीले न्याय दिन्छ सोचेका थियौँ । तर हामीले सोचेको भएन । अगाडी छातीको हड्डी र ढाडको हड्डी भाँचिएको थियो (यसो भनिरहँदा उनको सास रोकिएको थियो) ।
बलात्कार गर्ने नेताका मान्छे थिए । एकलाई कांग्रेसले, अर्कोलाई एमालेले, अर्कोलाई माओवादीले छुटाए । न्याय पैसा र पावरमा बिक्दोरहेछ । हाम्रो परिवार धेरै सोझो भएर न्याय पाइएन । हामी आफैँ सत्तामा नपुगी न्याय पाउँदैनौ । त्यही भएर मैले राजनीतिशास्त्र पढिरहेको छु । अहिले चौथो वर्षमा अध्ययनरत छु ।
आफू फाइटर जस्तो लाग्छ । ८ वर्ष अगाडीको घटना हो । निर्मला पन्त बलात्कारपछि हत्या भएकै वर्षको घटना हो । उनलाई मारिदिए । तर म ज्युँदो भएपनि मरेसरह छु । मैले अदालतमा बोलिरहँदा न्याय पाएको छैन (उनी रुन्छिन्, लामो सास फेर्छिन्) । पीडकहरु खुलेआम रमाइलो गरेर हिँडिरहेका छन् । समाज उनीहरुको पक्षमा छन् ।
परिवार पनि साथमा छैन । हाल उनी रक्षा नेपालको संरक्षणमा छिन् । अनपढ अभिभावकलाई ट्रयापमा पारिएको छ । शरीरको बाहिरी चोट सञ्चो भएपछि अदालतको कोठा-कोठा धाएँ । तर एक जना एक वर्ष, एक जना ५ महिनामा थुनामुक्त भए । नेताहरुले कार्यकर्ता बचाए, एउटा छोरीलाई न्याय दिन सकेनन् । पीडित छोरीहरुको आँसु लाग्छ । अब ती नेताहरुलाई नयाँ बन्ने सरकारले जोगाउने छैन । छोरीलाई धाँधली नगरेको भए पुराना दलका नेता यो अवस्थामा आइपुग्ने थिएनन् ।
सबैभन्दा पुज्ने ठाउँ अदालत हो । तर अदालतले पनि न्याय दिएन । उनीहरुको शक्तिले मेरो फाइल पनि गायब भइसक्यो होला । राजनीतिक दलप्रति कुनैपनि विश्वास छैन । पुराना र नयाँ दल दुवै उस्तै जस्तो लाग्छ । अबका माननीयले पनि आफ्नै सहजताको कानून बनाउँछन् । कसैबाट आस बाँकी छैन । मलाई न्याय देउ भनेर सबैको ढोकाढोका पुगेर पनि कसैले वास्ता गरेनन् । नयाँ सांसदहरुले बलात्कार पीडितको आवाज सुनेर नीति बनाउन् ।
नयाँ प्रधानमन्त्रीसँग माग
पीडितले बलात्कारीलाई गोली हानेर मार्न पाउने नीति ल्याओस् । नेपाल प्रहरी बनेर देशको सेवा गर्ने लक्ष्य थियो । तर शारीरिक अवस्थाले सेनामा जान पाइन् । निर्मला पन्तहरु जस्ता दिदीबहिनीहरुको लागि र बलात्कार भएर बाँचेकाहरुका लागि काम गर्नुपर्ने हुन्छ । खम्बा बनेर काम गर्नुपर्नेछ । त्यसको लागि संसद्मा पुगेर कानून बनाउँछु ।
कलेजमा सबैका अभिभावक आउँछन् । कसैले चिन्छन् कि भन्ने डर लाग्छ । तीन वर्षपछि गाउँ जाँदा ती मान्छेहरुमध्ये दुई जनाले घेरा हाले । मैले तेक्वान्दो तालिम लिएकाले पन्छाउँदै अगाडी बढेँ । ती अपराधीलाई पाप गरेको फिलै भएको छैन । मेरो हातबाट अपराधीलाई नमार्दासम्म मैले न्याय पाउँदिन ।
मिरा–पार्ट २
६ वर्षको उमेरदेखि बुवाले बलात्कार गर्नुभयो । सानैदेखि छुट्टै हुन मन लाग्ने बच्चा थिएँ । साथीहरुले एप्पल मन पर्छ भने मैले म्याङ्गो भनिदिन्थें । सबैभन्दा अलग हुन मन लाग्थ्यो । सबैभन्दा प्रिय बुवा हुनुहुन्छ भन्थे । अहिले बुवा शब्द हटाउन पाए हुन्थ्यो लाग्छ । ब्याड टचबाट सुरु भयो । टिचरहरुले ब्याड टच र गुड टच सिकाउनुहुन्थ्यो ।
कहिले किस गर्ने, प्राइभेट पार्टहरुमा हात राख्ने र सुम्सुम्याउने गर्नुहुन्थ्यो । त्यो मलाई माया हो भन्ने लाग्थ्यो । अरुको बुवाले हात समातेर हिँड्नुहुन्छ । मेरो बुवाले मलाई काखमा राख्नुहुन्छ । ८ वर्षको हुँदा घरमा कोही नभएको बेला सबै कपडा फुकाल्नुभयो । सधैं ममीले नुहाइदिने तर त्यो दिन बुवाले नुहाइदिनु लाग्नुभयो भनेर खुसी भएँ । तर त्यो खुसी क्षणभर टिकेन । आजपनि त्यो घाउ ताजै छ ।
अरु भन्दा छुट्टै बन्ने रहर गएको थिएन । त्यसपछि पनि अरुले इन्जिनियर, डाक्टर बन्छु भन्दा मैले पाइलट बन्छु भन्थेँ । मेरै सपना पुरा गर्ने भन्दै एक ठाउँमा लैजानुभयो । मेरो खुला आकाशमा उडान भर्ने सपना पूरा हुने भयो भन्दे खुसी हुँदै गएँ । तर अन्जान ठाउँमा पुर्याएर अन्जान व्यक्तिसँग सुत्न पठाउनुभयो । सुरुमा अङ्कल भनेर परिचय गराउनुभएको थियो ।
यस्तो अवस्था सिर्जना भयो । एक होटलको कोठामा दुईवटा बेड थियो । बुवाले अर्को बेडमा बसेर ‘यसरी होइन, यसरी सुतेर गर’ भनेर सिकाउनुभयो । मेरो होसै हरायो । म कोल्टे फर्केर बुवालाई हेरिरहेँ । बुवाले मेरो छोरीलाई छोड्दे भन्नुहोला भन्ने आशा राखेको थिएँ । तर बुवाको मुखबाट कुनै शब्द आएन । त्यो मान्छे गयो । चार-पाँच घण्टा बित्यो । म उठेर हिँड्नसमेत सकिन । म मिन्स नहुँदै त्यस्तो गर्नुभएको हो ।
पछि घरमै मान्छेहरु बोलाएर ‘ल आज यो मान्छेसँग सुत’ भन्नुभयो । उहाँले ममीलाई पनि त्यस्तै गर्नुहुन्थ्यो मलाई थाहा थियो । बाहिरबाट अन्जान मान्छेहरु आउँथे । ममीलाई रुममा थुनेर हामीलाई बाहिर घुम्न जाम भनेर लिएर निस्कने । घर आउँदा ममी सधैँ रोइराख्नुहुन्थ्यो । मलाई थाहा थिएन अङ्कलले भित्र के गर्थे । पछि ममीले भन्नुभयो– बाबाले पैसाको लागि ममीलाई आफ्ना साथीहरुसँग सुताउनुहुन्थ्यो ।
म मनोरञ्जनको सामाग्रीजस्तो भएँ । मेरो सपना, सपनामै सीमित भयो । २०० जना भन्दा बढीले सम्बन्ध बनाए । कतिपटक दबाई खुवाउनुभयो । एकपटक एबोर्सन गर्नुपर्यो । ती सबै क्रियाकलापले डाक्टरको सहयोग लिन पर्ने भयो । १४ पटक आत्महत्याको प्रयास गरेँ ।
मलाई बेचेर कमाएको पैसा जुवामा सकाउनुहुन्थ्यो । अरु केटीसँग रमाइलो गर्नुहुन्थ्यो । ८ कक्षामा पढ्दा त्यस्तो भएपछि ममीलाई सुनाएको थिएँ । ममीले आवाज उठायो भने समाजले राम्रो मान्दैन भन्नुभयो । तर मैले ममीले जसरी सहन सकिन । एकदुई जना साथीलाई भनेको थिएँ । साथीहरुले स्कुलको प्रिन्सिपललाई भन्दिए । तर हामीलाई बेचेर कमाएको पैसा दिएर प्रिन्सिपललाई चुप लगाउनुभयो । त्यसपछि केही बाटो रहेन ।
घरमा ममी, एक बहिनी र भाइ छन् । बुवालाई जन्मकैद भएको छ । तर त्यो काफी छैन । म किन जन्मेँ ? आफ्नो अस्तित्वमाथि प्रश्न गर्थे । ३ महिनाको गर्भ हुँदा पेटमा छोरी भएपछि फेरि यही गर्न काम लाग्ला भन्नुभएको थियो । हात जोडेर बच्चा फाल्न भने । छोरी मान्छे त्यस्तो काम गर्नकै लागि जन्मिने हो ।
बाउको नाताले सम्बोधन गर्न चाहन्न । आफ्नै छोरीको यो हालत गर्नेलाई आफ्नै हातले मार्न पाउँ । म आफ्नो परिचय, आफ्नै सिद्धान्त बनाउन चाहन्छु ।
अदालतमा मानसिक बिरामी भनेर चिनाए । यस्तो व्यक्तिले जेपनि बोल्छ भने । त्यसकारण मानसिकरुपमा तन्दुरुस्त हुन आवश्यक रहेछ । मनोविज्ञान विषयमा स्नातक तहमा पढ्दैछु । भविष्यमा मनोविद् भएर काम गर्छु । अरुलाई मार्गदर्शन गर्न चाहन्छु । मेरो जस्तो पीडितको आवाज बन्न चाहन्छु । जीवनी लेख्ने प्रक्रियामा छु । त्यसको अन्तिम पानामा न्यायको माग मेरो अन्तिम हुनेछ भनेर लेख्नेछु । मैले बाहेक यस्तो अरुले भोग्न नपरोस् ।
काठमाडौं महानगर (तत्कालिन बालेन साह) को टिमले उद्धार गरेको हो । उहाँ अब प्रधानमन्त्री बन्दै हुनुहुन्छ । अबको सरकारले बलात्कारीको लागि मृत्युको सजाय तोक्छ भन्ने अपेक्षा छ । १८ वर्ष पूरा नभएकाले उहाँहरुले नै मेरो उजुरी दिनुभएको थियो । मानवलाई क्षमा दिन सकिन्छ, दानवलाई क्षमा दिन सकिदैन । त्यो व्यक्तिले फेरेको स्वास म फेर्न चाहन्छ । म बाँच्नुपर्छ भन्ने हो भने त्यो मान्छेको स्वास रोकिनुपर्छ ।
राज्यको करले बलात्कारी पाल्ने होइन, फाँसी दिने हो : रक्षा नेपाल
यौनजन्य हिंसा, बेचबिखन र घरेलु हिंसामा परेका महिला तथा बालबालिकाहरूको उद्धार, संरक्षण र पुनस्र्थापनाको क्षेत्रमा काम गर्दै आएको संस्था ‘रक्षा नेपाल’ का अध्यक्ष मेनुका थापाले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने बताएकी छिन् ।
‘इनसाइड दि बंकर’ कार्यक्रममा उनले भनेकी छिन्, ‘हत्या भएको मान्छे एक पटक मर्छ । बलात्कृत छोरी जिन्दगीभर मर्छे । एउटा बाउको कारण, एक शिक्षकको कारण सबैको टाउको निहुरिएको छ ।
यी दुई छोरीलाई बाँचेको फिल गराउन सकिएको छैन । मिडियाले राजनीतिज्ञका कुरा उठाइदिने । उनीहरुलाई बलवान बनाइदिने काम मात्रै गर्यो । राजनीतिज्ञले नै बलात्कारीलाई संरक्षण गरे । बलात्कारीको मनोबल बढाइदिने काम गरे ।
अबको नेपाली समाज र राजनीतिक दल मृत्युदण्डको सजायको लागि तयार रहनुपर्छ । हाडनाता करणी, नाबालिका करणी, सामूहिक बलात्कार, अपाङगता र वृद्धालाई करणी गर्नेलाई बाँच्नै दिने होइन ।
बलात्कार जस्तो जघन्य अपराधका राज्यले शून्य सहिनशीलता अपनाउनुपर्छ । तर उमेर पुगेका, वैवाहिक बलात्कारका विषयमा फरक कानून हुनुपर्छ । रक्षा नेपालमा ६० प्रतिशत घरभित्र बलात्कृत भएकाहरु छन् । जन्मकैद अर्थात् २५ वर्ष जेल सजाय छ । आजीवन कारावासको व्यवस्था छैन ।
मिराको सवालमा पुर्पक्षका दुई वर्ष थुनामा राखेको थियो । फैसला भइसकेको छैन । पक्राउ गर्न पनि धेरै तिकडम गरेका थिए । फेरि उनी जेन–जी आन्दोलनमा भागे । अहिलेसम्म पक्राउ गर्न सकिएको छैन । जेन–जी आन्दोलनमा भागेका धेरै कैदीहरुको टार्गेट रक्षा नेपाल परेको थियो । अपराधीहरु घेराउ गर्न आइपुगेका थिए । छोरीहरु बाहिर निस्कन नसक्ने वातावरण बन्यो । उनीहरु कलेज जान सकिरहेका छैनन् । प्रशासन नै निकम्मा भयो ।
अबको नयाँ सरकारसँग पीडितहरुले ठूलो आशा राखेका छन् । पीडितहरु सबैको एकै माग छ– ‘बलात्कृतलाई मारिदेउ । नत्र हामी आफैँ मार्न बाध्य हुनेछौँ ।’ विभिन्न दिवसमा राष्ट्रपतिबाट आममाफी पाउने देशमा कसरी छोरी सुरक्षित हुन्छन् ? उनी प्रश्न गर्छिन् । नागरिकको करले बलात्कृत पाल्ने होइन । पीडितलाई सोधेर कानून निर्माण हुनुपर्छ ।
आमाबुवाले नै बलात्कृत जोगाइराखेका छन् । श्रीमतीले बलात्कृत श्रीमान् जोगाइराखेका छन् । नेताहरु आफै बलात्कृत अपराधमा जोडिएका, जोगाइराखेका हुन्छन् । छोरीहरु आफै आक्रमक भएर उत्रिन तयार छन् । त्यसको कन्ट्रोल सरकारले कसरी गर्छ ?
नेपालको झण्डामुनि बाँच्न गाह्रो । एक एक पार्टीको झण्डाभित्र बस्यो भने फाइदा हुने । पीडितलाई सरकारले हेरेको छैन । नीजी क्षेत्रमा धेरै राम्रा मान्छे छन् जसले रक्षा नेपालमा रहेका चेलीहरुको संरक्षण गर्नुभएको छ । बावुबाट बलात्कृत छोरीको लागि विदेशबाट सहयोग माग्नै सकिदैन । कस्तो देश भनेर सन्देश जाला डर हुन्छ ।’













प्रतिक्रिया