काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस अन्तिम साता दोस्रो विशेष महाधिवेशन गरेर सच्चिएको सन्देश दियो । महाधिवेशनको डेढ महिनामै सभापति गगन थापासहितले चुनावको सामना गर्नुपर्यो ।
पार्टीबाट पाखा लागेको शेरबहादुर देउवा नेतृत्वको विशेष महाधिवेशन विरोधी पक्ष अदालत गएर मौन बस्यो । निर्वाचनमा नयाँ शक्तिको कडा टक्कर र आन्तरिक द्वन्द्वका कारण १६५ क्षेत्रमा उम्मेदवार उठाएको कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा खुम्चियो । समग्रमा ३८ सिट जितेको कांग्रेसका लागि यो इतिहासकै ठूलो धक्का थियो ।
कतिसम्म भने विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापासहित सबै पदाधिकारी पराजित भए । अप्रिय नतिजाको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार राजीनामाको घोषणा गरिसकेका छन् ।
उपसभापति विश्वप्रकाश शर्माले उनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार नै केन्द्रीय कार्यसमिति बैठकमा पेश गरे । शुक्रबारदेखि सुरु भएको बैठकले विभिन्न ८ आधार दिँदै आइतबार गगनको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको छ ।
पार्टी बैठकले २१ क्षेत्रमा गुटबन्दीकै कारण हारे व्यहोरेको निष्कर्ष निकालेको छ । गुटबन्दीकै कारण निर्वाचनमा सभापति थापाले प्रतिस्पर्धा गरेको सर्लाही–४ र निवर्तमान सभापतिको क्षेत्र डडेल्धुरा गएका नैनसिंह महर हारेको निचोड कांग्रेसको छ।
उनीहरू दुवैलाई हराउन देउवा नेतृत्वको इतर पक्षले सामदाम दण्डभेदको गरेको बुझाइ कांग्रेस नेतृत्वको छ। गगनलाई हराउन गरिएका प्रयासका प्रमाण सामाजिक सञ्जालमै सार्वजनिक भए । उता सिंगापुरबाटै देउवाले सयौँजनालाई फोन गरेर कांग्रेस उम्मेदवार महरलाई भोट नहाल्न भनेको खबर पनि आइसकेको छ।
तर यस कुरालाई महरले भने स्वीकारेका छैनन् । उता गगन भने चुनावमा हारेपछि अहिलेसम्म सार्वजनिक रुपमा बोल्न सकेा छैनन् । ‘मलाई विपक्षी दलको नेताले समेत मत हालेको विश्वास छ, अरु धैरै बोल्न आवश्यक ठान्दिनँ,’ ३४ वर्ष लामो कांग्रेसको लिगेसी गुमाएका महरले खबरहबसँग भने ।
निर्वाचनको नतिजा आएलगत्तै इतर पक्षका नेता मीन विश्वकर्माले शेरबहादुर देउवा र थापा गरि कांग्रेसमा दुई सभापति रहेको बताए । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला र जीतजंग बस्नेतले पनि विशेष महाधिवेशनको औचित्य नरहेको टिप्पणी गरेका छन् ।
यसले कांग्रेस अब अर्को शक्ति संघर्षमा गएर औपचारिक फुटतर्फ धकेलिने जोखिम बढाएको छ। आइतबार सानेपामा संस्थापनको बैठक चलिरहँदा इतर पक्षले धुम्बाराहीमा आफ्नो रणनीति बनाइरहेको थियो।
विशेष महाधिवेशन इतर पक्षको गतिविधि अब समानान्तर कमिटी सक्रिय बनाउनेतिर अघि बढेको छ। आइतबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा धुम्बाराहीमा कार्यसम्पादन समितिको समानान्तर बैठक बस्यो । यस बैठकले देउवा र शेखर कोइरालानिकट चौधौँ महाधिवेशनको कार्यसमिति बोलाउने निर्णय नै गर्यो ।
बैठकमा खड्का, डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए ।
उपचारका लागि सिंगापुर गएका सभापति देउवा अर्को हप्ता नेपाल फर्किने तयारीमा छन् । देउवानिकट नेता गुरू बरालका अनुसार देउवा फर्किएपछि कार्यसमिति बैठक बोलाएर पन्ध्रौँ महाधिवेशनको मिति तय गरिनेछ । देउवा अहिले हङकङ पुगेका छन् । उनी नेपाल फर्किएपछि उनको पक्षले अझै सक्रियता बढाउने तयारी गरेको छ।
विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वको टोलीलाई वैधानिक नमान्ने स्पष्ट पार्दै बरालले भने, ‘निर्वाचनको समयमा पार्टीको मत घट्ने भएकाले हामी शान्त बसेका थियौँ, अब नियमित अधिवेशनमार्फत कांग्रेसलाई एकताबद्ध र बलियो बनाउनेछौँ,’ साथै संरचनागत सुधारमार्फत् पार्टी सुदृढ बनाउने तयारी रहेको उनले सुनाए ।
थापा र विश्वप्रकाश शर्मा कुनै शक्तिको स्वार्थमा परेकै कारण फागुन २१ को निर्वाचनमा पार्टीले ठूलो हार व्यहोर्नु परेको उनको आरोप छ । यी घटना हेर्दा कांग्रेसका दुई पक्ष यतिबेला समानान्तर मुद्दामा बहस चलाइरहेको देखिन्छ । यही कारण यतिबेला कांग्रेसमा पुनः फुट आउने आशंका समेत हुन थालेको छ ।
विश्लेषकको टिप्पणी
उक्त आंशकाबारे राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पार्टी एकताका लागि गर्नुपर्ने प्रयास छोडेर यसरी एक अर्कालाई सिध्याउन लाग्दा पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने बताउँछन् ।
‘पार्टी एकताका लागि पर्याप्त प्रयास गर्नुपर्नेमा यहाँ तँ-तँ म-म चलेको छ । निकट भविष्यमै महाधिवेशन, त्यसपछि स्थानीय निकाय र प्रदेशको निर्वाचन छ । पार्टीले ठुलो क्षति व्यहोर्न सक्छ’, उनले चिन्ता व्यक्त गर्दै भने ।
यतिबेला कांग्रेस तीनतिर लागेको उनको बुझाइ छ । ‘अहिले एउटा कांग्रेस अदालतमा छ, एउटा सिंगापुर र हङ्कङमा छ, अर्को चाहिँ कांग्रेसको पार्टी अफिसतिर छ,’ उनले कटाक्ष गर्दै भने, ‘सबैलाई जोड्ने काम अहिलेका सभापतिको हो । कांग्रेसलाई एकताबद्ध गरेर आउने दिनका चुनौतीलाई फेस गर्न सबै पक्षलाई उनले पहल गर्नुपर्थ्यो ।’
पार्टीलाई एक बनाउन पहल गर्ने पक्ष नै राजीनामा दिएर कमजोर बन्दा कांग्रेस विघटन र विद्रोहतिर जाने सम्भावना देखिएको उनले बताए ।

‘कांग्रेसमा अहिले निकै ठूलो अन्योल देखिएको छ । यो अन्योल चिरेर अगााडि बढ्न एकपटकलाई जे-जस्तो भयो, सही-गलत जे भयो, त्यसलाई आत्मसात गरेर जानेबाहेक अन्य विकल्प छैन,’ उनले सुझाए ।
अन्यथा, पार्टीको अस्तित्व नरहने उनले चेतावनीसमेत उनले दिए । यस्तै अर्का विश्लेषक जैनेन्द्र जीवन भने निर्वाचन आयोगले वैधानिकता दिइसकेको नेतृत्वलाई अवैधानिक भन्नु निरर्थक रहेको तर्क गर्छन् ।
‘करिब ६० प्रतिशत प्रतिनिधिको समर्थन र निर्वाचन आयोगको मान्यता पाएको कार्यसमितिलाई अवैध भन्न मिल्दैन । त्यसो हो भने त अब अब १३ औँ महाधिवेशनको समूहले पनि दाबी गर्दा भयो, त्यसो गर्न मिल्दै मिल्दैन’, उनले भने ।
निर्वाचन समीक्षा लगायत नयाँ कार्यसमितिको कामकारवाही चित्त नबुझे अरू बाटो अपनाएर समाधान खोज्न उनको सुझाव छ । ‘केही निर्णयमा चित्त नबुझे विज्ञप्ति निकाल्दा पनि हुन्छ । अझ असहमतिका कुरामा विशेष बैठक बोलाएर छलफल गर्न सके झन् राम्रो हुन्छ । पार्टीमा फरक धार देखिँदैन,’ उनले भने ।
निर्वाचन नतिजा बिग्रिएको सवालमा उनले विगतको नेतृत्वलेसमेत जिम्मेवारी लिनुपर्ने उनले प्रष्ट पारे । दोस्रो विशेष महाधिवेशनमा एक समूह चोइटिएसँगै पार्टी उतिबेलै फुटिसकेको उनले दाबी गरे ।
‘अस्ति भर्खर ६० प्रतिशत प्रतिनिधिले गगन थापालाई चुनेको हो । अब फेरि अर्को भोट आउँदैन नि । दुवै पक्षले सहमतिको बाटो खोज्नुभन्दा नेतृत्वबाट हट्नुपरेको तुष पाल्दा फुटिसकेको पक्ष खिइँदै बिलीन भएर जान्छ,’ देउवा पक्षलाई उनले चेतावनी दिए ।
विशेष महाधिवेशन पक्ष नै पार्टीका रुपमा कायम हुने अवस्था रहेकाले अहिले निरर्थक शक्ति सङ्घर्ष चलिरहेको उनले बताए ।
‘भोलि सबै एक ठाउँमा आउनु नै छ । आफैँलाई समस्या हुने काम गर्न हुँदैन,’ उनले भने । पार्टीलाई अन्तरद्वन्द्वबाट निकालेर स्थानीय निर्वाचनसम्म सामूहिक बलमा वैकल्पिक शक्तिलाई चुनौती दिनसक्ने गरी सबल हुन अब ढिला गर्न नहुने उनको भनाइ छ ।
‘देउवाका छोराको उमेरको मान्छे प्रधानमन्त्री बन्दै गर्दा पुरानै नेतृत्व दोहोरिन्छ भन्ने छैन । पार्टी कब्जा गर्ने भन्ने छ, तर पार्टीमा त जो सक्रिय छ जो ऊर्जाशिल छ त्यो आउँछ,’ उनले भने ।
पन्ध्रौँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चुनेर पार्टीको विरोधाभाष टुङ्ग्याउँदै सत्ताको मोह त्यागेर संगठन मजबुत बनाउन लाग्नुपर्नेमा उनको जोड छ ।
‘पन्ध्रौँ महाधिवेशन जतिसक्दो छिटो गर्नुपर्छ, त्यसले पार्टीको अर्को खेमाले पनि विरोध गर्न पाउँदैन । निर्वाचित कार्यसमिति बन्छ । अब पाँच वर्ष कांग्रेसले सत्ताको लोभ नगरी संगठन बनाउन लाग्नुपर्छ,’ उनले भने ।













प्रतिक्रिया