काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त वर्गबाट सुरक्षित छैनन् । खुलेआम बलात्कार गरेर हिँडिरहेका छन् । यदि त्यसविरुद्ध कसैले आवाज उठायो या विरोध गर्यो भने कुनै न कुनै मुद्दा लगाएर फसाइन्छ ।’
यो भनाइ डा. दिनेश चमारको हो । ‘सरकार कोठा खाली छ ?’ अभियान अन्तर्गतको धर्ना कार्यक्रमका क्रममा सोमबार (वैशाख ७) मा उनी माइतीघर मण्डलामा उनी भेटिएका थिए । दलितले कोठासमेत नपाएको भन्दै उनी सरकारसँग कोठा खै ? भनेर प्रश्न सोध्न उभिएका थिए । रुपन्देहीका दिनेश दलितमा पनि मधेशी दलितलाई राज्यले सबैभन्दा धेरै दबाएको बताउँछन् ।
प्रधानमन्त्री वा राजनीतिक दलले दलितसँग माफी मागेर ढोंग गरेको उनको भनाइ छ । राज्यको संवैधानिक निकायमा प्रतिनिधित्व नदिएर माफी मात्रै माग्नुलाई उनले ढोंगको संज्ञा दिएका छन् । ‘दलित भएकै कारणले काठमाडौँमा कोठा बस्न नपाएको स्थिति छ । दलितले आधारभूत कुराबाटसमेत वञ्चित हुनुपरेको अवस्थामा माफीले मात्रै केही हुँदैन’, उनले भने ।
साथै, विभेदलाई नीतिगत तवरबाटै समाधान गर्न उनले सरकारको ध्यानाकर्षण गरेका छन् । भू–विज्ञानमा पीएचडी गरेका दिनेशले खबरहबसँग आफू र आफ्ना समुदायमाथि राज्यले नै कसरी विभेद गरिरहेको छ भनेर सुनाए :
दलितले एसएलसी पास गर्ने भन्दै कुटे
मेरो गाउँका सबै दलित अर्काको घरमा हलि बस्ने प्रथा थियो । मेरो आमाबुवा पनि मजदुरी गर्नुहुन्थ्यो । हामी पाँच सन्तानमध्ये म साँइलो हुँ । २०६१ सालमा पोखरभिण्डी स्कुलबाट दलित समुदायबाट म एक जना मात्रैले एसएलसी पास गरेँ । अरु बाँकी सबैजना फेल भए । ५८ प्रतिशत ल्याएर पास भएको थिएँ । एसएलसी पास गर्यो, अब अब गुलामी गर्न आउँदैन भनेर गैरदलितले कुटे ।
मलाई जेगाउन आउँदा मेरी आमालाई समेत कुटे । गाउँलेको कुटाइबाट आमाको कम्मर भाँचियो । अहिले पनि आमा निहुँरेर हिँड्नुहुन्छ । दलितले एसएलसी पास गर्दा समाजले दिएको उपहार नै आमाको भाँचिदिएको कम्मर हो ।
थर परिवर्तन
एसएलसी पास गरेपछि भैरहवा बसेर पढेँ । भैरहवा उच्च माध्यामिक विद्यायलका शिक्षकको घरमा बस्थेँ । उहाँ गुल्मीको काराखेती थरको बाहुन हुनुहुन्थ्यो । उहाँले मेरो थर गौतम राखिदिनुभयो । मधेशी चमार हो भन्यो भने घरमा बस्न दिँदैनन् ।कसैले सोध्यो भने ‘गौतम बाहुन हुँ’ भन्न लगाउनुभयो । पहिलो पटक उहाँले नै झूट बोल्न सिकाउनुभयो । उहाँकै सहयोगले प्सल-टू पास गरे ।

प्लस-टू पास गरेपछि मेरो यात्रा काठमाडौँतिर लम्कियो । स्नातकको लागि काठमाडौँ गएर पढ्न उचित हुन्छ लाग्यो । रुपन्देही र काठमाडौँ यात्रा गर्दा मैले यातायातमा पनि विभेद भोगेँ । टिकट काट्नेबेला नाम लेख्नुपर्थ्यो । थर सुनेपछि गाडीको अगाडि र बीचको सिट कहिले पाइनँ । पछाडि बस्, होइन भने गाडी नचढ्सम्म भने ।
उनीहरुले दलितले दिएको पैसाको मूल्य गैरदलितको तुलनामा कम हुने जस्तो व्यवहार गरे । जिल्ला छोडेर देशकै राजधानी जाँदा निकै प्रफुल्ल थिएँ । धनी र सम्पन्नमात्रै होइन, राजधानी काठमाडौँ बौद्धिक वर्गको वर्चस्व भएको ठाउँ पनि हो । कम्तीमा काठमाडौँमा गौतम बाहुन हुँ भनेर थर झुट बोलेर हिँड्न पर्दैन भन्ने मलाई लागेको थियो ।
सिनामंगलमा एक जना यादव साथीसँग कोठामा बस्ने योजना बन्यो । साथीले जनै लगाउन भन्यो । साथै, उसले चमार होइन, यादव थर लेख्न लगायो । साथीले भने बमोजिम गर्दा पनि घरबेटीले मधेशी भन्न छोडेनन् । त्यसपछि मधेशीलाई पनि काठमाडौँमा इज्जत रहेनछ भन्ने बुझेँ ।
थर झूट बोलेर बस्दा पनि घरबेटीले एकदिन मधेशी यहाँबाट निस्केर जा भने । केही उपाय बाँकी नरहेपछि हामी पशुपति धर्मशालामा गएर बस्यौँ । त्यसपछि मैले घर निर्माणका लागि सिमेन्ट बोक्ने काम गर्न थालेँ । बस्ने खाने ठेगान नहुँदा पनि भाइ पढाउनुपर्ने थियो ।
तर, भाइले पुल्चोक इन्जिनियर क्याम्पसमा छात्रावृत्तिमा नाम निकाल्यो । उसको पढाइ खर्चका बारेमा चिन्ता गर्न परेन । तर, बाँकी सबै समस्या यथावत थियो । भाइ काठमाडौँ आएपछि बुद्धनगरमा कोठा खोज्न गइयो । साथीहरुले कोठमा बस्ने हो भने जनै लगा भने । उनीहरुले गुल्मेली धुर्कोटे गौतम भनेर कोठा खोज्न लगाए ।
त्यहा पनि ढाँटेर बसियो । त्यहि कोठाबाट बीएससी एमएससी पास गरेँ । सानैदेखि वयस्कसम्म र गाउँदेखि शहरसम्मै विभेद भोग्नुपरेपछि त्रिवि कलेजबाटै दलित अभियानमा जोडिएँ । पढ्दै गर्दा अभियान अन्तर्गत विभिन्न काम गरेँ । संविधानसभामा हाम्रो समुदायको प्रतिनिधित्व थिएन । हामी त्यसैको अधिकारका लागि संघर्षमा उत्रियौँ । संविधान बनेपछि पनि हाम्रो समुदायलाई ठाउँ दिइएन ।
दलितको छोरोको पीएचडी यात्रा
बुद्धनगरको कोठा भाडा तिर्न नसकेर जुत्ता चप्पल सिलाउने बुवाले मलाई सहयोग गर्नुभयो । पाँच पाँच रुपैयाँ उठाएर कोठा भाडा तिरिदिनुभयो । ती बुवासँग अहिले पनि भेट हुन्छ । उहाँहरुको आवाज बन्नुपर्ने जिम्मेवारी छ । उहाँहरुले जर्मनीमा पीएचडी गर्न जान हौसला दिनुभयो । पाँच वर्षे कोर्षमा उहाँहरुले पैसा उठाएर एक वर्षको शुल्कसमेत तिरिदिनुभयो ।
जर्मनमा एनआरएनएमा जोडिएँ । प्रवक्ता भएर काम गरेँ । विदेशमा पनि एकेडेमिक व्यक्ति भएका कारण मलाई विभेद गरिएन । तर सानो काम गर्ने आधारमा विभेद गरेको पाएँ । जियोलोजीमा पीएचडी सकेर नेपाल आएको डेढ वर्ष भयो । आफ्नै समुदायको हक अधिकारको लागि काम गर्नुपर्छ भनेर नेपाल फर्किएको हुँ । चमार, मुसहर र डोम समुदाय जुनसुकै ठाउँमा अन्यायमा परेका छन् ।
‘चमार वेलफेयर सोसाइटी’ छ । हामीले संसदमा हाम्रो प्रतिनिधित्वको लागि संघर्ष गरिरहेका छौँ । पहिले हुन्छ–हुन्छ भन्छन् तर अन्तिममा हामी प्राथमिकतामै पर्दैनौँ । मधेशी दलित पुरै शून्य अवस्थामा छ । एउटा पार्टीले दलित समुदायसँग माफी माग्नु र सबै विभेद अन्त्य भएजस्तो गर्नु ढोंग मात्रै हो । उनको पार्टीमा कति जना केन्द्रीय कमिटी अथवा समितिमा मधेशी दलित छन् ? कति कोही पनि छैन । ११ समितिमा एक जना पनि छैन ।

चमार समुदायको केटीलाई रेप गर्न पाउनुपर्छ भन्ने मानसिकता भएका मानिसहरु समाजमा अझै छन् । यदि त्यसविरुद्ध कसैले आवाज उठायो भने उसलाई मारिन्छ वा कुनै मुद्दा लगाएर फसाइन्छ । त्यो तोड्न म सडकमा आएको छु ।
अशिक्षित केटीसँग बिहे गरेर पढाएँ
पीएचडी गरेको मान्छेले पढेलेखेकै केटीसँग बिहे गर्न सक्थेँ । तर, मलाई पढाइबाट वञ्चित केटीसँग बिहे गरेर उसलाई शिक्षित बनाउनुपर्छ भन्ने लाग्यो । पढ्न नपाएकोलाई कसले पढाउने ? त्यो जिम्मा पढेलेखेका युवाको हो, मेरो हो, तपाईंको हो । एक अब्बल समाज निर्माण गर्ने दायित्व हरेक नागरिकको हो । त्यसमा अझै पढेलेखेकाको हो । अवसरबाट वञ्चितलाई पछि छोडेर समाज अग्रसरतातिर लम्कनै सक्दैन ।

‘कोठा खाली छ’ अभियानमा दलित मात्रै नभएर गैरदलितको पनि सहभागिता थियो । जातको नाममा हुने विभेद दलितको मात्रै नभएर हरेक एक सच्चा नागरिकको भएको बताउदै उनीहरुले अभियानमा एक्यबद्धता जनाएका थिए । साथै, जेन–जी अगुवा माजिद अन्सारी र उपार्जुन चाम्लिङलगायतले अभियानमा एक्यबद्धता जनाएका थिए ।













प्रतिक्रिया