भारत वर्षमा बङ्ग नामको देशमा बर्बरिक नाम गरेका प्रतापी राजा थिए । उनलाई बल र बुद्धिको चरम घमण्ड थियो । यद्यपि भगवान श्रीकृष्ण उनको ठूलो प्रशंसक थिए । त्यसैले महाभारत युद्धमा जसरी भए पनि उनलाई पाण्डव पक्षमा लिने उनको रणनीति थियो । पाँच पाण्डवलाई लिएर श्रीकृष्ण सहयोगका लागि आग्रह गर्न बर्बरिक कहाँ पुगे ।
उनले कडा सर्त राख्दै जसले युद्ध हार्छ, उसैको पक्षमा लाग्ने अडान लियो । बर्बरिकको संकल्पले श्रीकृष्णलाई निल्नु न ओकल्नु बनायो । उसको बल जाँच्ने उद्देश्यले सोधे– ‘तिमीसँग हारेको पक्ष जिताउन सक्ने आधार के छ ?’ उसले गर्वसाथ भन्यो– ‘युद्धका लागि जम्मा भएका १८ अक्षोणी सेना, रथी, महारथी, योद्धामध्ये पाँच पाण्डव, भीष्म, द्रोणाचार्य, कृपाचार्य, अश्वत्थामा, कर्ण र कृष्णबाहेक अरु सबैलाई एउटै बाणले खतम पार्ने र त्यो वाण पनि खर्च नभई फर्किएर मेरै ठोक्रोमा आएर बस्नेछ ।’
आफ्नो योजनामा बर्बरिक बाधक बन्ने देखेपछि श्रीकृष्ण मायावी जाल बिछ्याउने रणनीतिमा पुगेर उसको टाउको मागे । बचनमा हारेको बर्बरिकले टाउको दिने तर दिव्यदृष्टिमार्फत महाभारत हेर्न पाउनुपर्ने माग राख्यो । बर्बरिकको त्यही टाउको युद्धको साक्षी बनेको थियो ।
युद्धमा जित हात पारेपछि युधिष्ठिर धर्मको पक्षधर दाबी गर्दै हस्तिनापुरको उत्तराधिकारी आफू भएको भाइहरू सहयोगी मात्र भएको विचार व्यक्त गर्दै थिए । उता भीम आफूसँग १० हजार हात्तीको भन्दा बढी बल भएको, कौरव सेनामा सबैभन्दा बढी सेना, दुर्योधन, दुःशासन लगायत सय भाइ मारेकोले सबैभन्दा ठूलो भूमिका आफ्नो भएको धारणा राख्दै थिए ।
आफू सर्वश्रेष्ठ धनुर्धर भएको भीष्म, कर्णजस्ता वीर योद्धाहरूलगायत ठूलो संख्याका महारथीहरूलाई मारेको अर्जुनमा बेग्लै घमण्ड चढेको थियो । नकुल र सहदेव आमाको बात्सल्य गुमाउँदा गुमाउँदै पनि युद्धमा त्यत्रो भूमिका खेलेर युधिष्ठिरका लागि लडेकोमा आफ्नो त्याग कम ठान्दैनथे । पाँच पाण्डवहरूमा राज्य विभाजन गर्ने विचार समेत भित्री रूपमा भाइहरूले उठाएकाले युधिष्ठिर चिन्तित बनेका थिए ।
पाण्डवहरूमा देखिएको घमण्ड तोड्न आवश्यक देखेपछि बर्बरिकको टाउको नजिक पुगेर श्रीकृष्णले सोधे– ‘बर्बरिक तिमीलाई महाभारतको युद्ध कस्तो लाग्यो ? कुन कुन महारथीले कस्तो कस्तो वीरता देखाए ? युद्धको वर्णन गर ।’
श्रीकृष्णको प्रश्न सुनेर बर्बरिकको टाउको खित्का छोडेर हाँस्यो । ‘किन हाँस्यौ ?’ प्रश्नपछि बर्बरिकको टाउको बोल्यो– ‘श्रीकृष्णको सुदर्शन चक्र घुमी घुमी सबैको टाउको काट्थ्यो । द्रौपदी काली भेषमा रगत पिउँदै हिँड्थिन् । मैले देखेको सत्य यही हो । अरु त युद्ध नभएर केटाकेटीको खेल जस्तै दृश्य थियो ।’
यही वास्तविकताको बोधपछि पाण्डवहरू अभिमन्यूका छोरा परिक्षितलाई राज्य छाडेर महापथतिर हिँडेका थिए । महापथ यात्रामा युधिष्ठिरबाहेक अरु कोही सफल भएनन् । महाभारत युद्धको यो वास्तविकता सिरियलमा कतै खोलिएको छैन । सबै ग्रन्थहरूबाट निकालिएको यो सार कल्याण पुराणमा उल्लेख छ ।
रवि र बालेनको जोडी नमिलेर मिलेको जोडी हो । राजनीतिमा शंकाको सम्बन्ध एक चरणसम्म सहकार्य राम्रो चलेको नजिर छ । कुनै बेला प्रचण्ड र बाबुराम भट्टराईबीच यस्तै सम्बन्ध थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लागि संसदीय चुनाव यस्तै संयोग हो । पार्टी राम्रो भएर नभई कांग्रेस, एमाले र माओवादी नालायक हुँदा जनताको स्वाद फेर्ने मेनुमा रास्वपा परेको हो । रवि र बालेनको जोडी नमिलेर मिलेको जोडी हो । राजनीतिमा शंकाको सम्बन्ध एक चरणसम्म सहकार्य राम्रो चलेको नजिर छ । कुनै बेला प्रचण्ड र बाबुराम भट्टराईबीच यस्तै सम्बन्ध थियो । उनीहरू नङमासुजस्तो त देखिन्थे, तर त्यसलाई जोड्ने तन्तु भनेको ‘शंका’ थियो । सबैको कामना के हो भने नमिलेरै भए पनि बालेन–रवि पाँच वर्ष मिलून । कांग्रेस, एमाले, माओवादीले सत्ता, शक्तिप्रतिको आशक्ति कम्तिमा यो कार्यकालभर बिर्सिउन् ।
एउटा कार्यकारी राजनीतिज्ञ देशको मेनेजर भएकाले उसको आचरणसँग देशको भविष्य गाँसिएको हुन्छ । समयको एउटा मोडमा सद्दाम हुसेन अमेरिकाको प्रिय पात्र थिए । उपयोगिता सकिएपछि उनैलाई मार्न अमेरिकाले आफ्नो सम्पूर्ण सामर्थ्य खर्च गर्याे । रुसलाई तह लगाउन अमेरिकी हतियारको भारी बोकेर बिन लादेन वर्षौं लडे । भोग पुगेसँगै विन लादेनको दशाले पुरै अफगानीले सास्ती पाए ।
विन लादेन सिध्याउन निर्मम बनेको अमेरिकी आक्रोसले अनगिन्ती अफगानीलाई खरानी बनायो । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको शक्ति राष्ट्रसँग बाक्लिएको हिमचिमले युक्रेनजस्तो सुन फल्ने देश खरानीको चक्रव्यूहमा फसेको छ । त्यो देशको तीन पुस्ताकै भविष्य एउटा पुतली चरित्रको राजनीतिज्ञका कारण सकिएको छ । इरानको तेलमा आँखा गाडेको अमेरिकी दाउपेचले विश्व अर्थव्यवस्थालाई नराम्रोसँग धक्का दिएको छ । एउटाको राजनीतिक भोकको असर निर्दोषको चुल्होमा परेको छ ।
नेपाली राजनीतिको धुरीमा रहेका रवि र बालेन नमिलेर मिलेका पात्र हुन् । चुनावी उत्सवले उनीहरूलाई मिलाएको हो । पुराना दल मिल्काउने रविको छटपटी र महानगरको नेतृत्वमा हुँदा सिंहदरबारले नटेरेको भोकको रसायन वर्तमान शक्ति निर्माणको चुरो हो । दलको लालपुर्जा बोकेका रवि र प्रधानमन्त्री हुन दलीय चिनाटिपन अनिवार्य भएपछि भएको करारी सम्झौता हो यो । हरेक नेपालीको कामना भनेको चुनावी महाभारतको अंकगणित भन्दा पनि वर्तमानको समीकरणले बर्बरिक पात्रको निष्ठा बचाओस् भन्ने हो ।
नेपाली राजनीतिको धुरीमा रहेका रवि र बालेन नमिलेर मिलेका पात्र हुन् । चुनावी उत्सवले उनीहरूलाई मिलाएको हो ।
समाजमा देश जल्यो भनेर कुर्लिनेहरूको जमात बढ्यो । आफू आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरूको धुइरो लाग्दै गयो । समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेहरूको अनपेक्षित प्रवेश हुने हो । पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन । जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिप्छन् । कुनै मानिस सधैँ असल र सधैँ खराब भइरहने होइन ।
संसार कति स्वार्थी छ भने पैसा नराखिएको रित्तो गोजीसँग हात पनि त्यति संगत गर्न रुचाउँदैन । सँगसँगै टाँसिएर बस्ने दाँत र जिब्रोको पनि हार्दिक सम्बन्ध हुँदैन । घरीघरी दाँतले जिब्रो टोकिदिन्छ । मानिस मानिसबीचका सम्बन्धमा पनि यस्ता मेल बेमेलका थुप्रै सन्दर्भ जोडिएका हुन्छन् ।
मन्चुरियामा जापानले हमला गर्नुअघि मजदुरको भेषमा धेरै वर्षअघिदेखि त्यहाँ बसेका जापानीहरू त्यति खतरनाक छन् भन्ने कसैलाई थाहा थिएन । शिक्षा दिन र धर्म प्रचार गर्न भारत पसेका ब्रिटिसहरूले एकदिन दिल्ली दरबार कब्जा गर्छन् भनेर भारतीयले सोचेका थिएनन् । उखु खेतीमा बनिबुतो गर्न फिजी पुगेका भारतीयहरूले महेन्द्र चौधरी जन्माउँछन् भनेर शायदै कसैले सोचेको थियो । न शान्ति र मैत्रीको माला जपेर गान्तोकको इण्डिया हाउसमा बसेका भारतीय कुटनीतिज्ञहरूले स्वाधीन सिक्किमलाई भारतमै गाभ्छन् भन्ने कुराको सुइँको सिक्किमे राजालाई थियो ।
चीनसँग विशेष सम्बन्ध बनाएका जुल्फिकर अलि भुट्टो फाँसीको फन्दामा पर्दा चीन चुँ बोलेन । रुस विरुद्ध लड्न आफैँले हुर्काएको विन लादेन कालान्तरमा अमेरिकाका लागि टाउको दुखाई भयो । आफैँले दिएको हतियार खोस्न तालिवानीसँग लड्नु पर्याे । अमेरिकी डिजाइनमा हुर्किएका पनामाका सैनिक तानाशाह नोरियगाको उपयोगिता सकिएपछि राष्ट्रपति भवनबाटै गिरफ्तार भए । १८ वर्ष आफ्नो नियन्त्रणमा राखेको अमेरिकाले पक्षघातले अशक्त भएपछि फ्रान्सलाई बुझायो । जब अभाव र संकट हुन्छ नि, त्यसबेला मानवीय गुण विलाउँछ ।
कूटनीति र राजनीतिक चलाखीका दृष्टिले अघिल्लो पुस्ता धेरै अगाडि थिए । नपढेका जंगबहादुर बेलायत गएर नेपालको सैनिक, प्रशासनिक ढाँचामा परिवर्तन मात्र ल्याएनन् । उनको सम्मानमा दिइएको भोजमा अंग्रेजी गीतमा कम्मर मर्काइ मर्काइ नाचे । अंग्रेजी नबुझ्ने जंगबहादुर यसरी मच्चिई मच्चिई नाचेको देखेर अंग्रेजहरूले आश्चर्यका साथ सोधे– ‘तपाईं अंग्रेजी नबुझ्ने मान्छे अंग्रेजी गीतमा किन झुमेर नाच्नुभएको ?’ जंगबहादुरले तत्काल जवाफ दिए– ‘तपाईं चराले बोलेको बुझ्नुहुन्छ ? पक्कै बुझ्नुहुन्न । तर चरा बोलेको त तपाईंलाई मीठो लाग्छ नि हैन र ?’ कोहीसँग जवाफै थिएन ।
तुलसी गिरीका दुई श्रीमती थिए । सौता सौता चुल्ठो लुछालुछ गर्न थालेपछि गिरी झगडा छुट्याउन बीपीसँग सहयोग माग्थे रे । कति झगडा बीपीको मध्यस्थतामा साम्य बनाइएका सन्दर्भ इतिहासमा उल्लेख छ । तत्कालीन युवराज महेन्द्रले साली रत्न ल्याउने निश्चित भएपछि उनलाई युवराजबाट बर्खास्त गर्ने राजा त्रिभुवनको योजनालाई बीपीको पहलमा साप पनि मर्ने लौरो पनि नभाँचिने शैलीमा समाधान गरिएको आत्मवृत्तान्तमै उल्लेख छ ।
आफैँले थुनेका बीपीको फोटो प्रज्ञा प्रतिष्ठानमा नदेख्दा राजा महेन्द्रले तत्काल फोटो राख्न हुकुम दिएको सबैलाई थाहै छ । यहाँ उठाउन खोजिएको सन्दर्भ के हो भने मनमा तुष भएपनि सामान्य घरायसी समस्या पनि नेता मात्र हैन राजासमेत आपसमा बाँडचुड गर्थे । उनीहरू भित्रको सद्भावपूर्ण रसायन जीवनपर्यन्त जीवित देखिन्थ्यो ।
भुक्तभोगीहरू भन्छन्– राज्य सञ्चालनमा राजा महेन्द्र यति चलाख थिए कि कुनै पनि राजनीतिक निर्णय लिँदा आफ्नै पत्नीहरूलाई पनि सुइँको दिँदैनथे रे । त्यतिमात्र हैन, छोराहरूसँग व्यक्तिगत खुसामदी कहिल्यै गरेनन् रे उनले । उनले सधैँ लगाउने कालो चस्माका बारेमा कसैले डेढो आँखा छोप्नका लागि भनेका छन् भने समर्थकहरू कालो चश्माबाट अरुको अनुहार पढ्न सजिलो हुने भएकाले कुटनीति प्रयोजनका लागि लगाइएको जिकिर गर्छन् । बीपी कोइराला प्रधानमन्त्री भएका बेलाको सन्दर्भ हो ।
जन्मिएको धर्तीप्रति आत्मगौरव गर्नेहरूले मात्र माटोको सुगन्ध आत्मसात गर्न सक्छन् । ज्ञान र सत्यबाट हिँडेको मानिसले झारपातबाट पनि मह उत्पादन गर्नसक्छ । अरुलाई दुःख दिनेले कहिल्यै सुख पाउँदैन ।
मन्त्रिपरिषद्को बैठकमा यो पनि भएन, उ पनि भएन भनेर गणेशमानसिंह हरेक प्रस्तावमा भाँजो हाल्थे रे । हुँदाहुँदा अस्वीकृत प्रस्तावको चाङ लागेछ । यसबाट सरकारको बदनाम हुने सत्य बुझेका बीपीले उपाय निकालेछन् । एकदिनको बैठकमा उनले गणेशमान सिंहलाई फुर्क्याएर उहाँ र आफूमा केही फरक नभएको भन्दै वरिष्ठ मन्त्रीको हैसियतले आगामी बैठकबाट सरकारका सम्पूर्ण प्रस्ताव सिंहले ल्याउने उद्घोष गरिदिए । गणेशमानलाई आफूले सम्मान पाएको अनुभव भयो, बीपीको बाटो फराकिलो ।
जन्मिएको धर्तीप्रति आत्मगौरव गर्नेहरूले मात्र माटोको सुगन्ध आत्मसात गर्न सक्छन् । ज्ञान र सत्यबाट हिँडेको मानिसले झारपातबाट पनि मह उत्पादन गर्नसक्छ । अरुलाई दुःख दिनेले कहिल्यै सुख पाउँदैन । देश बनाउने जिम्मेवारी पाएका हाम्रो देशका अधिकांश शिल्पीहरू पढेलेखेका छन् । कुन नेता छन्, विदेश नगएका हुन् । कुन जंगी, निजामतीका अधिकारी छन्, विदेशमा पढेका छैनन् । लिक्वानको देश बनाउने भिजन, देङ सियाओ पिङको आर्थिक क्रान्ति, मोहमद महाथिरको संकल्प सबै नेतालाई कण्ठ छ । यति हुँदाहुँदै इमानदार नहुनु भनेको घामड हुनु शिवाय केही होइन । घमण्डको ओखती के पो हुन्छ र ?














प्रतिक्रिया