के सामाजिक सञ्जालमा गालीगलौज गर्नु पनि मानसिक समस्या हो ? « Khabarhub

के सामाजिक सञ्जालमा गालीगलौज गर्नु पनि मानसिक समस्या हो ?


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजको समयमा सामाजिक सञ्जाल आम मान्छेको जीवनशैलीको अभिन्न हिस्सा बनेको छ । बिहान उठेदेखि राति सुत्ने बेलासम्म मानिसहरू फेसबुक, टिकटक, युट्युब वा एक्स (ट्विटर) मा जोडिएका हुन्छन् । सूचना आदान–प्रदान, अभिव्यक्ति र मनोरञ्जनका लागि बनेका यी माध्यम पछिल्लो समय भने नकारात्मक टिप्पणी, अपमानजनक अभिव्यक्ति र सनसनीपूर्ण सामग्री फैलाउने माध्यमका रूपमा पनि बदनामी कमाउन थालेका छन् ।

कुनै घटना सार्वजनिक हुनेबित्तिकै तथ्यभन्दा पहिला गालीगलौज, अपमानजनक नकारात्मक टिप्पणीको वर्षा हुने प्रवृत्ति देखिन्छ । कतिपय आलोचनाका कारण पीडितको सामाजिक प्रतिष्ठा नै गुम्ने जोखिम पनि हुन्छ । यस्तै प्रवृत्तिले मानिसको मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र सामूहिक सोचमा गम्भीर असर पारिरहेको मनोचिकित्सक डा. वासुदेव कार्की बताउँछन् ।

उनका अनुसार सामाजिक सञ्जालमा बढ्दो नकारात्मकताको मूल कारण व्यक्तिको मानसिकता र त्यो मानसिकता निर्माण हुने सामाजिक परिवेश हो । मानिस कुन वातावरणमा हुर्कियो, उसले कस्तो शिक्षा पायो, परिवार र समाजले उसलाई कस्तो संस्कार दियो भन्ने कुराले उसको व्यवहार निर्धारण गर्ने उनको भनाइ छ ।

डा. कार्कीका अनुसार सामाजिक सञ्जालको अल्गोरिदमले नै नकारात्मक सामग्रीलाई बढी फैलाउने हिसाबले काम गर्छ । सनसनीपूर्ण सामग्रीमा धेरै प्रतिक्रिया, ‘लाइक’, ‘सेयर’ र टिप्पणी आउने भएकाले प्लेटफर्महरूले त्यस्ता सामग्रीलाई अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउँछन् ।

सकारात्मक सामग्री भन्दा विवादास्पद र आक्रामक अभिव्यक्तिमा मानिसको ध्यान बढी जान्छ । सामाजिक सञ्जालले त्यही व्यवहारलाई पुनः प्रोत्साहन गरिरहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘मानव व्यवहारमा ‘रिइन्फोर्समेन्ट’ अर्थात प्रोत्साहनले ठूलो भूमिका खेल्छ । कुनै व्यवहारलाई बारम्बार प्रशंसा वा ध्यान दिइयो भने त्यो दोहोरिने सम्भावना बढ्छ । सामाजिक सञ्जालले नकारात्मक अभिव्यक्तिलाई भ्यु र लोकप्रियताको माध्यम बनाइदिँदा मानिसहरू त्यतैतर्फ आकर्षित भइरहेका छ्न् ।’

सामाजिक दूरीको असर

पछिल्लो समय विशेषगरी विदेशमा रहेका नेपालीहरू सामाजिक सञ्जालमा बढी सक्रिय देखिन्छन् । यसबारे डा. कार्कीको विश्लेषण भने फरक छ ।

उनका अनुसार खाडी लगायतका मुलुकमा श्रमका लागि गएका धेरै नेपाली शारीरिक श्रममा आधारित काममा संलग्न छन् । उनीहरूको हुर्काइ र शिक्षा प्रणालीमा बौद्धिक बहस, मानसिक स्वास्थ्य वा सामाजिक सन्तुलनबारे पर्याप्त अभ्यास हुन नपाउँदा सामाजिक सञ्जालमा भावनात्मक र आवेगपूर्ण प्रतिक्रिया बढी देखिने गरेको छ ।

हाम्रो समाजमा बौद्धिक बहसभन्दा सनसनीपूर्ण कुरालाई बढी महत्व दिने प्रवृत्ति विकास भयो, त्यसैले सामाजिक सञ्जालमा पनि त्यही संस्कार हाबी हुँदै गएको डा. कार्कीले जनाए । सामाजिक सञ्जालको अत्यधिक प्रयोग अब सामान्य बानी मात्र नभई मानसिक स्वास्थ्यसँग जोडिएको समस्या भइसकेको डा. कार्कीको बुझाइ छ ।

उनका अनुसार अहिले विश्वभर डिजिटल प्लेटफर्मको अत्यधिक प्रयोगलाई ‘एडिक्सन’ अर्थात लतका रूपमा हेरिन थालिएको छ । जसरी मदिरा, चुरोट वा लागूऔषधको लत लाग्छ, त्यसरी नै डिजिटल प्लेटफर्मको पनि लत लाग्न थालेको उनले बताए ।

अत्यधिक सामाजिक सञ्जाल प्रयोगले मानिसमा तनाव, आवेग नियन्त्रणमा कठिनाइ, सामाजिक दूरी र आत्मसम्मानमा कमी ल्याउन सक्छ । कतिपय अवस्थामा अनलाइन बुलिइङ वा ट्रोलिङका कारण मानिस गम्भीर मानसिक दबाबमा समेत पुग्ने गरेको डा. कार्कीले बताए । उनका अनुसार सामाजिक प्रतिष्ठामाथि हुने आक्रमणले मानिसलाई आत्मग्लानि, निराशा र सामाजिक एक्लोपनतर्फ धकेल्ने खतरा बढाएको छ ।

नेपालमा नियामक निकाय कमजोर

डा. कार्कीका अनुसार विकसित मुलुकहरूले सामाजिक सञ्जाल प्रयोगमा उमेर र समयको सीमा निर्धारण गर्न थालेका छन् । केही देशमा निश्चित उमेरभन्दा कमका बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा कडाइ गरिएको छ ।

तर, नेपालमा भने डिजिटल साक्षरताभन्दा पहिले प्रविधिको पहुँच बढेकाले समस्या जटिल बनेको उनी बताउँछन् । ‘हामी डिजिटल युगमा प्रवेश त गर्‍यौँ, तर डिजिटल साक्षरता विकास गर्न सकेनौँ,’ उनी भन्छन्, ‘प्रविधि प्रयोग गर्ने चेतना नहुँदा यसको दुरुपयोग बढिरहेको छ ।’

प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको सम्पति विवरणमा सामाजिक सञ्जाल नै सम्पत्ति आर्जनको स्रोत भएको उल्लेख भएकोप्रति आपत्ति जनाउँदै डा.कार्की भन्छन् ‘मुलुकका प्रमुख निकायका व्यक्तिले नै यसलाई नियमन तथा नियन्त्रण गर्नुको साटो बढावा दिइरहेका छन् । यसबाट नयाँ पुस्ताले के सिक्ने ?’

उनका अनुसार साइबर अपराध, अनलाइन ठगी र सामाजिक सञ्जालमार्फत हुने मानसिक हिंसाका घटना बढ्दै गएका छन् । तर नीति निर्माण तहमा अझै पर्याप्त समझ र गम्भीर बहस हुन नसकेको उनले बताए ।

समाधान के ?

डा. कार्कीका अनुसार यसको मुख्य समाधान सचेतना नै हो । सामाजिक अगुवा, शिक्षक, अभिभावक, नीति निर्माता र सञ्चारमाध्यम सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने उनि बताउँछन् । प्रभावशाली व्यक्तिहरूले सामाजिक सञ्जाललाई केवल कमाइको माध्यमभन्दा पनि सामाजिक जिम्मेवारीका साथ प्रयोग गर्नुपर्ने उनको धारणा छ ।

‘मानिसले पहिले म के गरिरहेको छु ? यसको असर के पर्छ ?’ उनी भन्छन् । उनका अनुसार विद्यालय तहदेखि नै डिजिटल साक्षरता, मानसिक स्वास्थ्य र सामाजिक व्यवहारसम्बन्धी शिक्षा आवश्यक छ । साथै सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी, सामग्री निगरानी र कानुनी व्यवस्थाबारे पनि गम्भीर बहस हुनुपर्ने उनको सुझाव छ ।

डा. कार्कीले भने ‘सामाजिक सञ्जालले समाजलाई धेरै जोडेको पनि छ, तर यही माध्यमले मानिसको मानसिकता र सामाजिक सम्बन्धमा गहिरो असर पनि पारिरहेको छ । अब यसलाई केवल प्रविधि होइन, मानसिक र सामाजिक स्वास्थ्यको विषयका रूपमा बुझ्न जरुरी छ ।’

सामाजिक सञ्जाल आफैँमा नराम्रो प्रविधि नभएपनि यसको अमर्यादित प्रयोगले सामाजिक सद्भाव र बौद्धिकतामाथि ठूलो आक्रमण गरिरहेको उनको बुझाइ छ । भर्चुअल दुनियाँको यो अदृश्य हतियारलाई बेलैमा नियन्त्रण र नियमन नगर्ने हो भने, यसले भोलिको पुस्ताको मानसिक स्वास्थ्यलाई पूर्ण रूपमा ध्वस्त पार्ने निश्चित छ । त्यसैले चेतना र नियमन नै यसको एकमात्र ओखती भएको डा. कार्कीले बताए ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ६ : ३९ बजे

शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी

अध्यक्षबाट हट्नु भन्ने नेताहरूलाई ओलीको प्रश्न : बाहिरका कुरा सुनेर बोलेको कि मनभित्रैबाट भनेको ?

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा

प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन

दमौली– शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह

ओलीको बचाउमा बादल, भने : नेतृत्व अप्ठ्यारोमा पर्दा ताली बजाउनु राम्रो होइन

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा