प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन « Khabarhub

प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन् । अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने मौसमकै कारण उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिरहेका छन् ।

वर्षौँदेखि मौरीपालन व्यवसायमा सक्रिय वाग्लेले यस वर्ष जेठमा करिब ३०० किलो मह उत्पादन हुने अपेक्षा गरेका थिए । तर फागुनदेखि सुरु भएको प्रतिकूल मौसमले मौरीको प्राकृतिक गतिविधिमा असर पुर्‍याएपछि उत्पादन लक्ष्य निकै घटेको उनले बताए । 

अहिलेको अवस्था हेर्दा जेठको अन्त्यसम्म करिब १०० किलो हाराहारीमात्र मह उत्पादन हुनसक्ने उनको अनुमान छ ।

‘पोहोरपरार यही समयमा मह निकालेर ग्राहकलाई वितरण गरिसकेका थियौँ’, वाग्लेले भने, ‘तर यसपालि मौसमले साथ दिएन । फागुन र चैतमा लागेको बाक्लो कुहिरोले मौरीले पर्याप्त मात्रामा फूलबाट रस सङ्कलन गर्न सकेनन् । त्यसपछि वैशाखभरजसो पानी परिरहँदा मौरी घारबाट निस्कनै सकेनन् ।’

उनका अनुसार मौरीपालन व्यवसाय प्रत्यक्ष रूपमा मौसमसँग जोडिएको व्यवसाय हो । मौसम अनुकूल हुँदा मौरीले फूलबाट रस सङ्कलन गरी मह उत्पादन राम्रो गर्छन् । तर लामो समयसम्म कुहिरो लाग्ने, चिसो बढ्ने वा लगातार पानी पर्ने अवस्था आए मौरी निष्क्रियजस्तै हुने र उत्पादन घट्ने समस्या देखिन्छ ।

यस वर्ष विशेषगरी फागुन र चैतमा असामान्य रूपमा बाक्लो कुहिरो लागेको उनले बताए। सामान्यतया यस समयमा विभिन्न वनस्पति तथा जङ्गली फूलहरू फुल्ने र मौरी सक्रिय हुने गर्छन् । तर घाम कम लागेका कारण फूलमा पर्याप्त रस विकास हुन नसकेको तथा मौरीको उडान अवधि घटेको वाग्ले बताउछन् ।

त्यसपछि वैशाख महिनाभर परेको लगातार वर्षाले समस्या झन् बढाएको उनले बताए । मह उत्पादन घटेसँगै बजार व्यवस्थापनमा समेत चुनौती थपिएको वाग्लेको अनुभव छ । 

दैनिक रूपमा ५० भन्दा बढी ग्राहकले मह कहिले उपलब्ध हुन्छ भनेर सोध्ने गरेको उनले बताए । सामाजिक सञ्जाल र प्रत्यक्ष सम्पर्कमार्फत ग्राहकले महको माग गरिरहेको भए पनि पर्याप्त उत्पादन नहुँदा तत्काल उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

‘धेरै साथीभाइ तथा ग्राहकले जेठ लाग्यो, मह कहिले पाइन्छ भनेर सोधिरहनुभएको छ’, उनले भने, ‘उत्पादन हुनेबित्तिकै जानकारी गराउँछु । तर प्राकृतिक अवस्थाले साथ नदिँदा अपेक्षाअनुसार उत्पादन हुन सकेन ।’ वाग्लेले आफूले उत्पादन गर्ने मह शुद्ध र प्राकृतिक भएकाले ग्राहकको विश्वास बढ्दै गएको बताए । 

स्थानीयस्तरमै उत्पादन भएको मह स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बर्सेनि बढ्दै गएको उनको भनाइ छ । 

मौरीपालन व्यवसायलाई कृषिसँग जोडिएको महत्त्वपूर्ण आयआर्जनको माध्यम मानिन्छ । कम लगानीमा सुरु गर्न सकिने यो व्यवसायले ग्रामीण क्षेत्रका धेरै परिवारलाई आर्थिक रूपमा सहयोग पुर्‍याउँदै आएको छ । साथै मौरीले परागसेचनमार्फत कृषि उत्पादन वृद्धि गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

वाग्लेले सरकारले मौरीपालन व्यवसायलाई प्रोत्साहन गर्ने नीति ल्याए पनि मौसमजन्य जोखिम न्यूनीकरणतर्फ थप ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए, ‘मौरीपालन केवल व्यवसायमात्र होइन, वातावरण र कृषि उत्पादनसँग जोडिएको विषय पनि हो’, उनले भने, ‘यसलाई संरक्षण र प्रवर्द्धन गर्न दीर्घकालीन योजना आवश्यक छ ।’

वाग्लेले विदेशमा गर्ने दुःख स्वदेशमै गरे आम्दानी र सन्तुष्टि मिल्ने आत्मविश्वाससहित मौरीपालन गरिरहेका छन् । फूलको रसको मह प्रतिकिलो रु दुई हजार र कटुसको कात्तिके मह प्रतिकिलो रु दुई हजार ५०० मा बिक्री हुँदै आएको उनले बताए । 

वाग्लेको घरमा पालिएका मौरी कहिलेकाहीँ घार छाडेर भाग्ने गर्छन् । घरदेखि एक दुई किलोमिटर टाढा पुगेका  मौरी वाग्लेले खोजेर ल्याउछन् । त्यस्तो बेला उनले छातीमा टाँसेर मौरी फिर्ता ल्याउने गरेका छन् । बेलाबेलामा मौरी भाग्ने गरेको पुनः फिर्ता ल्याउने गरेको वाग्ले बताउछन् । 

प्रत्येक वर्ष फागुनदेखि जेठ र मङ्सिरमा मौरी छुट्टिने गर्छ । एउटा घारमा भएका मौरी दुई भाग लाग्छन्, त्यतिबेला मौरी उडेर जाने गरेको वाग्ले बताउछन् । ‘अनि यसरी नै फेरि खोजेर ल्याउँछु, मौरी ल्याउने पनि विभिन्न तरिका हुन्छन्’, वाग्लेले भने  । 

वाग्लेले मौरीको साथसाथै बाख्रापालन पनि गरेका छन् । ‘कृषि पेसासँग लगाव बसिसकेको छ, आनन्द आउँछ । कतिपयले युवा भएर पनि के काम गरेको यस्तो पनि भन्थे’, उनले भने, ‘तर अहिले मनग्य आम्दानी हुन थालेपछि गाउँलेले पनि राम्रो गरिस् भन्छन् ।’
 

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ६ : ५८ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई