दमौली– शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन् । अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने मौसमकै कारण उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिरहेका छन् ।
वर्षौँदेखि मौरीपालन व्यवसायमा सक्रिय वाग्लेले यस वर्ष जेठमा करिब ३०० किलो मह उत्पादन हुने अपेक्षा गरेका थिए । तर फागुनदेखि सुरु भएको प्रतिकूल मौसमले मौरीको प्राकृतिक गतिविधिमा असर पुर्याएपछि उत्पादन लक्ष्य निकै घटेको उनले बताए ।
अहिलेको अवस्था हेर्दा जेठको अन्त्यसम्म करिब १०० किलो हाराहारीमात्र मह उत्पादन हुनसक्ने उनको अनुमान छ ।
‘पोहोरपरार यही समयमा मह निकालेर ग्राहकलाई वितरण गरिसकेका थियौँ’, वाग्लेले भने, ‘तर यसपालि मौसमले साथ दिएन । फागुन र चैतमा लागेको बाक्लो कुहिरोले मौरीले पर्याप्त मात्रामा फूलबाट रस सङ्कलन गर्न सकेनन् । त्यसपछि वैशाखभरजसो पानी परिरहँदा मौरी घारबाट निस्कनै सकेनन् ।’
उनका अनुसार मौरीपालन व्यवसाय प्रत्यक्ष रूपमा मौसमसँग जोडिएको व्यवसाय हो । मौसम अनुकूल हुँदा मौरीले फूलबाट रस सङ्कलन गरी मह उत्पादन राम्रो गर्छन् । तर लामो समयसम्म कुहिरो लाग्ने, चिसो बढ्ने वा लगातार पानी पर्ने अवस्था आए मौरी निष्क्रियजस्तै हुने र उत्पादन घट्ने समस्या देखिन्छ ।
यस वर्ष विशेषगरी फागुन र चैतमा असामान्य रूपमा बाक्लो कुहिरो लागेको उनले बताए। सामान्यतया यस समयमा विभिन्न वनस्पति तथा जङ्गली फूलहरू फुल्ने र मौरी सक्रिय हुने गर्छन् । तर घाम कम लागेका कारण फूलमा पर्याप्त रस विकास हुन नसकेको तथा मौरीको उडान अवधि घटेको वाग्ले बताउछन् ।
त्यसपछि वैशाख महिनाभर परेको लगातार वर्षाले समस्या झन् बढाएको उनले बताए । मह उत्पादन घटेसँगै बजार व्यवस्थापनमा समेत चुनौती थपिएको वाग्लेको अनुभव छ ।
दैनिक रूपमा ५० भन्दा बढी ग्राहकले मह कहिले उपलब्ध हुन्छ भनेर सोध्ने गरेको उनले बताए । सामाजिक सञ्जाल र प्रत्यक्ष सम्पर्कमार्फत ग्राहकले महको माग गरिरहेको भए पनि पर्याप्त उत्पादन नहुँदा तत्काल उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।
‘धेरै साथीभाइ तथा ग्राहकले जेठ लाग्यो, मह कहिले पाइन्छ भनेर सोधिरहनुभएको छ’, उनले भने, ‘उत्पादन हुनेबित्तिकै जानकारी गराउँछु । तर प्राकृतिक अवस्थाले साथ नदिँदा अपेक्षाअनुसार उत्पादन हुन सकेन ।’ वाग्लेले आफूले उत्पादन गर्ने मह शुद्ध र प्राकृतिक भएकाले ग्राहकको विश्वास बढ्दै गएको बताए ।
स्थानीयस्तरमै उत्पादन भएको मह स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बर्सेनि बढ्दै गएको उनको भनाइ छ ।
मौरीपालन व्यवसायलाई कृषिसँग जोडिएको महत्त्वपूर्ण आयआर्जनको माध्यम मानिन्छ । कम लगानीमा सुरु गर्न सकिने यो व्यवसायले ग्रामीण क्षेत्रका धेरै परिवारलाई आर्थिक रूपमा सहयोग पुर्याउँदै आएको छ । साथै मौरीले परागसेचनमार्फत कृषि उत्पादन वृद्धि गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।
वाग्लेले सरकारले मौरीपालन व्यवसायलाई प्रोत्साहन गर्ने नीति ल्याए पनि मौसमजन्य जोखिम न्यूनीकरणतर्फ थप ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए, ‘मौरीपालन केवल व्यवसायमात्र होइन, वातावरण र कृषि उत्पादनसँग जोडिएको विषय पनि हो’, उनले भने, ‘यसलाई संरक्षण र प्रवर्द्धन गर्न दीर्घकालीन योजना आवश्यक छ ।’
वाग्लेले विदेशमा गर्ने दुःख स्वदेशमै गरे आम्दानी र सन्तुष्टि मिल्ने आत्मविश्वाससहित मौरीपालन गरिरहेका छन् । फूलको रसको मह प्रतिकिलो रु दुई हजार र कटुसको कात्तिके मह प्रतिकिलो रु दुई हजार ५०० मा बिक्री हुँदै आएको उनले बताए ।
वाग्लेको घरमा पालिएका मौरी कहिलेकाहीँ घार छाडेर भाग्ने गर्छन् । घरदेखि एक दुई किलोमिटर टाढा पुगेका मौरी वाग्लेले खोजेर ल्याउछन् । त्यस्तो बेला उनले छातीमा टाँसेर मौरी फिर्ता ल्याउने गरेका छन् । बेलाबेलामा मौरी भाग्ने गरेको पुनः फिर्ता ल्याउने गरेको वाग्ले बताउछन् ।
प्रत्येक वर्ष फागुनदेखि जेठ र मङ्सिरमा मौरी छुट्टिने गर्छ । एउटा घारमा भएका मौरी दुई भाग लाग्छन्, त्यतिबेला मौरी उडेर जाने गरेको वाग्ले बताउछन् । ‘अनि यसरी नै फेरि खोजेर ल्याउँछु, मौरी ल्याउने पनि विभिन्न तरिका हुन्छन्’, वाग्लेले भने ।
वाग्लेले मौरीको साथसाथै बाख्रापालन पनि गरेका छन् । ‘कृषि पेसासँग लगाव बसिसकेको छ, आनन्द आउँछ । कतिपयले युवा भएर पनि के काम गरेको यस्तो पनि भन्थे’, उनले भने, ‘तर अहिले मनग्य आम्दानी हुन थालेपछि गाउँलेले पनि राम्रो गरिस् भन्छन् ।’














प्रतिक्रिया