जोरायलले संरक्षण गर्दै बासमती धान « Khabarhub

जोरायलले संरक्षण गर्दै बासमती धान


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायलले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेपछि जोरायल गाउँपालिका–६ चित्रराज भट्ट यतिबेला यस प्रजातिको धान रोप्न आतुर देखिन्छन् ।

विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण अभियान थालनी भएपछि यस धानको खेतीतर्फ भट्टलगायतका किसान आकर्षित भएका हुन् ।

पालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेलगायतका ठाउँका किसानहरु यतिबेला धमाधम खेत रोपाइँमा व्यस्त देखिन्छन् । 

जिल्लाको  जोरायल गाउँपालिका–३ र ४ का उपत्यका क्षेत्रमा मात्रै लगाइने यो धान पछिल्लो समय बासमती धान लोप हुने अवस्थामा थियो ।

यस धानको चामलको भात पकाउँदा निकै मिठो बास्ना आउने तथा अरु विभिन्न परिकार पनि बनाउन मिल्ने भएकाले यस धानको चामल निकै लोकप्रिय मानिँदै आएको छ । यहाँका स्थानीयवासीले यस प्रदेशभन्दा बाहिर पनि यसको चर्चा पुर्‍याउन र उचित संरक्षण र विस्तारका लागि आग्रह गरेका छन् । 

जोरायलले बासमती धान संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष दुर्गा ओझाले बताए । उनले भने, ‘सुदूरपश्चिममा उत्कृष्ट मानिएको जोरायलले बासमती संरक्षणका लागि हामीले पालिकाको बजेटबाट विभिन्न कार्यक्रम पनि अघि सारेका छौँ, अब जिल्लाका अन्य क्षेत्रमा पनि उत्पादनका लागि पहल गर्नेछौँ ।’ 

वैदिककालदेखि नै सुदूरपश्चिमको जोरयालमा मात्रै जोरायलले बासमती धानको खेती गर्न थालिएको धान बालीसम्बन्धी जानकारहरू बताउँछन् । यसै धानको नामबाट यस पालिकाको नामकरण भएको बताइएको छ । 

पछिल्ला वर्षहरूमा भने जुम्लाको कालीमार्सीको चर्चा बढेजस्तै आफ्नो भेगमा उत्पादन हुने जोरायले पनि लोकप्रियता पाउनेमा उनी विश्वस्त देखिन्छन् । यो धान धेरै गर्मीमा भन्दा पनि कम नै तापक्रममा हुने तथा समथल ठाउँमा मात्रै उत्पादन हुने गर्दछ । जोरायलले बासमती धान सुदूरपश्चिमकै उत्कृष्ट र मसिनो तथा खाँदा बास्नादार चामल हुने भएकाले सुदूरपश्चिममा उक्त धानको निकै माग हुने गरेको जोरायल–५ का स्थानीय डम्मर विष्टले जानकारी दिए ।

नेपालमा पाइने विभिन्न किसिमका बासमती धानभन्दा फरक खालको यो धान भएकाले यसलाई निकै महत्वका साथ हेरिने गरेको पाइएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । उनले भने, ‘नेपालमा थुप्रै किसिमका बासमती धान छन्, तर जोरायल क्षेत्रमा मात्रै उत्पादन हुने बासमती धानको आफ्नै महत्त्व छ, यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने भएकाले पनि यसको महत्त्व अधिक छ, यसको संरक्षण गर्नु जरुरी भएको छ ।’ 

अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेको भए पनि चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो । मौसमले साथ दिए यो वर्ष पनि धान उत्पादन बढ्ने प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका कृषि प्राविधिकहरूको अनुमान रहेको छ । जोरायलले बासमतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हङ्सराज र पालपाली धान समेत लगाउँदै आएका छन् । 

यस वर्ष भने जोरायलले बासमती चामल यो वर्षको जेठ ५ गतेदेखि नै रोप्न आरम्भ भएको स्थानीयवासी बताउँछन् । मनसुन सुरु भएसँगै यहाँका सिँचाइ सुविधा पुगेका ठाउँमा उक्त धान रोपाइँ सुरु भएको हो । खोला किनारमा रहेका फाँटहरुमा जोरायलले बासमती धान रोपाइँ गर्न थालिएको जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझाले जानकारी दिए । 

उनले भने, ‘यो वर्ष समयमै बर्सात भएको छ, अहिले हामी धान रोप्न थालेका छौँ, रोपिसकेपछि पनि यो धानलाई पानी बढी चाहिने भएकाले यो वर्ष मौसम राम्रो भएमा उत्पादन बढ्ने आशा गरेका छौँ ।’

यहाँका कम्तीमा पनि आठ सय हेक्टर जमिनमा उक्त जोरायलले बासमती धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजापुरका महानिर्देशक खगेन्द्रप्रसाद शर्माले यो वर्ष पानी चाँडै पर्न थालेकाले जोरायलले बासमती धान रोपाइँ पनि छिटो भएको बताए । उनले भने, ‘सिँचाइ सुविधासँगै यो वर्ष समयमै वर्षात् भएको छ, किसानलाई जोरायलले बासमती धान रोप्न चटारो भएको छ ।’

नेपालको विभिन्न स्थान, तराई र केही पहाडी भूभागमा अझै पनि स्थानीय जातका बासमती धान लगाइने चलन रहेको जोरायलका अर्का स्थानीय मीनबहादुर ओली बताउँछन् । बासमती धान ढिलो पाक्ने, कम फल्ने र राष्ट्रिय उत्पादनमा खासै योगदान नगर्ने हुँदा जति चर्चा हुनुपर्ने हो, त्यति नभएको उनको भनाइ छ । 

बासमती धान व्यापारी प्रयोजनका लागि नभई यहाँका अधिकांश किसानले आफैँले खानकै लागि मात्रै खेती गर्ने चलन बढी भएका कारण यो धानको खासै चर्चा हुन नसकेको जोरायल गाउँपालिका–५ की स्थानीय दुर्गादेवी विष्टले बताउँछन् । 

उनले भने, ‘जोरायलले बासमती धान व्यापारी प्रयोजनका लागि नलगाई आफ्नै लागि लगाउने चलन बढी छ, बिक्री वितरण कमै गरिने भएकाले पनि यसको चर्चा र प्रचार हुन सकेको छैन ।’ यहाँ उत्पादन हुने जोरायलले बासमती चामल नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न सहरमा पनि केही वर्षयता बिक्रीका लागि पठाउने गरिएको छ । यसको मूल्य प्रतिकेजी १२० पर्ने गरेको व्यापारीहरू बताउँछन् । 

पछिल्लो समय जोरायल क्षेत्रमा मात्रै उत्पादन हुने बासमती धान लोप हुने खतरा बढेकाले त्यसको संरक्षणका लागि सबै तह र तप्काबाट लाग्नुपर्ने यहाँका किसानहरुको माग रहेको छ । जोरायलले बासमती संरक्षणका लागि स्थानीय स्तरबाट पहल भएपनि यस प्रयासले खासै ठोस रुप लिन सकेको छैन । ढिलो पाक्ने भएकाले र यसको व्यापारिक केन्द्र नतोकिएका कारण पनि किसानहरु यो धान लगाउन नमान्ने गरेको जोरायल गाउँपालिका–४ की अर्की स्थानीय किसान लक्ष्मी ओलीले बताइन् ।

उनका अनुसार यो धान अन्य धानभन्दा कम्तीमा पनि एक महिना ढिलो पाक्ने गरेका कारण पनि समस्या हुँदै आएको छ । उनले भनिन्, ‘अन्य धान छिटो पाक्छ र समयमै किसानले भित्र्याउँछन्, यो ढिलो पाक्ने भएकाले खेर जाने डरले किसानले लगाउन मान्दैनन्, बर्सेनि धान लगाउने किसानको सङ्ख्या बढ्नुको साटो घट्दै जान थालेको छ ।’

तर स्वाद र गुणका कारण यसको माग भने दिन प्रतिदिन बढ्दै छ । काठमाडौँमा नै केही वर्षयता कालीमार्सी धानको चर्चा सुरु भयो र माग बढ्यो, त्यसैगरी सुदूरपश्चिम क्षेत्रमा पनि जोरायलले बासमतीको माग बढ्दै गएको पाइएको छ ।

यस वर्ष समयमै पानी पर्न थालेपछि डोटीमा रोपाइँ सुरु भएको छ । स्वाद, सुगन्ध र गुणस्तरका कारण देशभर लोकप्रिय यस धानको रोपाइँ यस वर्ष प्रविधिमैत्री शैलीमा थालिएको हो । यसपालि परम्परागत गोरु जोत्ने पद्धतिको सट्टा धेरै किसानले मिनिटिलर प्रयोग गरेर खेत तयारी गरेका छन् । यान्त्रिक प्रयोगले खेत छिटो जोत्न सकिने, श्रम घट्ने र लागत कम हुने भएकाले कृषकहरू प्रविधिप्रति उत्साहित देखिएका छन् ।

गाउँमा खासगरी गोरु र मजदुरको अभाव भएको बेला हातेट्याक्टर प्रयोग गरेर खेत जोत्दा श्रम कम, सस्तो र समय पनि बचत हुने भएकाले विस्तारै किसानहरु यसतर्फ आकर्षित भएको कृषक भक्तराज अवस्थी बताउँछन् ।

उनका अनुसार बासमती धान रोपाइँसँगै डोटीका बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार, केआइसिंहलगायतका विभिन्न ठाउँमा पनि हातेट्याक्टर प्रयोग गरेर रोपाइँ गर्न थालिएको छ । 

डोटी जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि १० हजार छ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय  प्रमुख अवस्थीले बताए । 

जिल्लाका अधिकांश पाखा खेतमा भने साउनसम्म पनि रोपाइँ हुने गर्दछ । जिल्लाका किसानले राघा, सुक्का तिन, हल्दीनाथ, खुमल, पाल्पाली, कुसुम, राधा चार, झिनुवा, मार्सी बाँकी स्थानीय जातका धान लगाउँदै आएका छन् ।

नेपालमा कम्तीमा चार वटा जङ्गली प्रजातिका धान र रैथाने जात पनि प्रचुर मात्रामा पाइने गरेको बताइएको छ । जुम्लामा मार्सी, बारा, सुनसरी, झापालगायत पूर्वी तराई क्षेत्रमा लल्का बासमती, पोखरामा जेठो बुढो, कपिलवस्तु क्षेत्रमा काला–नमक, दाङ क्षेत्रमा तिल्की तथा डोटीको जोरायल क्षेत्रमा फल्ने जोरायलले बासमती नेपालका प्रचलित धान भएको सुदूरपश्चिम कृषि निर्देशनलाय दिपायल राजपुरको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

त्यसबाहेक बारामा अनदी बासमती, झापा, मोरङ र सुनसरीमा छोटी, कनक जिरा, जोरपाल र कालो टुन्डे, बासमती, सुनसरीमै गोला, झापालगायत केही पूर्वी जिल्लामा कालो बासमती, डडेल्धुरामा डाँडा बासमती, दोलखामा आँपझुत्ते बासमती धान चलन चल्तीमा रहेको निर्देशनालयले जनाएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको राष्ट्रिय जीन बैंकको तथ्याङ्कमा बाजुरा, मुस्ताङ, धादिङ, ललितपुर, डडेल्धुरा, बैतडी, नुवाकोट, बझाङ, रामेछाप, जुम्ला तथा डोटीलगायत जिल्लाका किसानबाट सङ्कलन गरिएका मसिनो, डाँडा, झिनुवा, हंसराज, कालो बासमतीलगायत नाम गरेका धानका जातहरू उल्लेख गरिएको छ ।

स्थानीय बासमती जातका धानलाई अन्तरराष्ट्रिय रूपमा धानको अनुसन्धान गर्ने संस्था–इरीलगायत संसारका थुप्रै जीन बैंकमा सन् १९७० र १९८० दशकतिरै नेपाललाई आवश्यक पर्दा पाउने गरी सङ्कलन र संरक्षण गरी राखिएको विभिन्न अध्ययनहरुमा उल्लेख गरिएको पाइन्छ । बासमती आँपझुत्ते, असामिया, गोल, लामो, मसिनो, नोखी, पहाडे, रातो, उजर्का, सेतो, डाँडा, कालो, मसिनो, रातो, सेते/सेतो बासमती यसैका उदाहरण भएको बताइएको छ । 

यी धानहरु राष्ट्रिय र अन्तरराष्ट्रिय जीन बैंकमा नेपालको रैथाने ‘बासमती’ धानका नामबाटै संरक्षण भएर रहेकाले नेपालले बासमती नाममाथि अन्तरराष्ट्रिय समुदायमा आफ्नो पनि अधिकार दाबी गर्ने बलियो प्रमाण भएको कृषिविज्ञहरु बताउँछन् । रासस
 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : २३ बजे

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल