औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार « Khabarhub

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेलाबेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । 

कच्चा पदार्थको मूल्यमा हुने उतारचढावका कारण औषधि अभाव हुने समस्या समाधान गर्न औषधिको मूल्य समायोजनलगायत उपाय अवलम्बन गर्ने तयारी गरिएको हो ।

गत साता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनसहित आवश्यक नीतिगत सुधार अघि बढाउने निर्णय गरेको थियो ।

निमित्त महानिर्देशक खड्गीका अनुसार विगत ११ वर्षदेखि औषधिको मूल्य समायोजन नभएका कारण केही औषधिको आपूर्तिमा समस्या देखिएको छ । उनका अनुसार केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढिसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा बजारमा अभाव सिर्जना भएको छ ।

अर्कोतर्फ, केही औषधिको बजार मूल्य घटिसकेको भए पनि सरकारले निर्धारण गरेको मूल्य अझै उच्च रहेकाले ती औषधिको मूल्य घटाउनुपर्ने अवस्था पनि रहेको छ । 

मूल्य समायोजनसम्बन्धी मूल्य अनुगमन समितिको सिफारिस स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको अध्यक्षतामा बस्ने औषधि परामर्श परिषद्मा पेस गरिने कानुनी व्यवस्था छ । परिषद्बाट स्वीकृत भएपछि प्रस्ताव मन्त्रिपरिषद्मा पठाइनेछ । 

मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि निर्णय नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउनेछ । करिब दुई साताअघि बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका कार्बोप्लाटिन र सिस्प्लाटिनलगायत औषधि तथा सलाइनमार्फत दिइने केही इन्जेक्सन औषधिको अभाव देखिएको थियो । यसले उपचाररत बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउन चुनौती सिर्जना गरेको थियो ।

नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल ‘फार्मास्युटिकल प्राइसिङ अथोरिटी’ले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहँदै आएको छ । यसअघिका मूल्य निर्धारण प्रक्रियामा पनि यही आधार अपनाइएको थियो ।  

खड्गीले मूल्य समायोजनको प्रक्रिया कानुनी रूपमा अघि बढिरहे पनि तत्कालका लागि बजारमा औषधिको अभाव हुन नदिन सरकार औषधि उत्पादक, आयातकर्ता तथा व्यवसायीसँग निरन्तर संवादमा रहेको बताए। उनीहरूका समस्या र अप्ठ्यारा सुनेर आवश्यक सहजीकरण गर्ने कामसमेत जारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ६ : ३७ बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्