चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका नागरिकलाई जोड्दै अभियान थालेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अहिले त्यही सपनाको ऋण बोकेर फेरि विदेशिएका छन्। आफ्नै देशमा न्याय पाउने आशासहित दुई महिनाअघि छोरी लिएर नेपाल फर्किएका उनी अन्ततः निराश हुँदै अमेरिका प्रस्थान गरेका हुन्।
देश छाड्नुअघि कट्टेलले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत आफ्नो पीडा सार्वजनिक गरे। उनले आफू नेपाल फर्किँदा यसपटक भने राज्यबाट न्याय पाउने, आफ्नै माटोमा दुःख-सुख साट्ने र पहिलेजस्तै नेपा लीलाई हँसाउने ठूलो सपना बोकेको बताएका छन्। तर, दुई महिनासम्म निरन्तर प्रयास गर्दा पनि आफूले राज्यका निकायबाट अपेक्षित सहयोग र न्याय नपाएको उनको गुनासो छ।
कट्टेलका अनुसार उनले रंगशालासँग जोडिएको ऋण दायित्व समाधानका लागि पटक-पटक सरकारी निकाय धाए। सिंहदरबारदेखि भरतपुर महानगरपालिकासम्म पुगेर समस्या समाधानका लागि आग्रह गरे। तर, समस्या समाधान हुनुको सट्टा संघीय सरकारले ऋण दायित्व सम्बोधन गर्न छुट्याएको भनिएको १५ करोड रुपैयाँसमेत उपयोग हुन नसक्ने अवस्था बनेको उनले बताएका छन्।

संघीय सरकारले रंगशालाको पुरानो ऋण दायित्व फर्छ्योटका लागि १५ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको थियो। तर, सार्वजनिक खरिद ऐन, लेखापरीक्षण प्रक्रिया तथा भ्याट बिललगायतका कानुनी र प्राविधिक विषयका कारण भरतपुर महानगरपालिकाले उक्त रकम फाउन्डेसनलाई हस्तान्तरण गर्न सकेको छैन। कट्टेलले यही प्रक्रियागत जटिलताका कारण रकम फ्रिज हुने अवस्था आएको भन्दै असन्तुष्टि जनाएका छन् ।
यो विवादको जड भने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणसँग जोडिएको छ। धुर्मुस-सुन्तली फाउन्डेसनले २०७५ साल माघ १६ गते भरतपुर महानगरपालिकासँग सम्झौता गर्दै जनस्तरबाट सहयोग जुटाएर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो। नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार दिने उद्देश्यले सुरु भएको यो अभियानले सुरुवातमा देश-विदेशबाट उल्लेख्य समर्थन पाएको थियो।
रंगशाला निर्माणका क्रममा विभिन्न व्यक्ति, संस्था, व्यवसायी र सर्वसाधारणबाट सहयोग जुटाइएको थियो। निर्माणको काम अघि बढ्दै गर्दा कोभिड-१९ महामारी फैलियो। महामारीका कारण आर्थिक स्रोत संकलन प्रभावित भयो र निर्माणका लागि आवश्यक रकम जुट्न नसक्दा परियोजना रोकियो।
निर्माण रोकिएपछि रंगशालाका लागि सामग्री उपलब्ध गराएका स्थानीय आपूर्तिकर्ता, हार्डवेयर व्यवसायी तथा कामदारको भुक्तानी बाँकी रह्यो। यसरी फाउन्डेसनमाथि करिब १८ करोड ४३ लाख रुपैयाँको ऋण तथा बक्यौता दायित्व सिर्जना भयो। आर्थिक रूपमा परियोजना अघि बढाउन नसक्ने अवस्था आएपछि फाउन्डेसनले २०७८ सालमै भरतपुर महानगरपालिकालाई लिखित पत्र पठाउँदै रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गरेको थियो। त्यसपछि परियोजनाको स्वामित्व राज्यतर्फ जाने प्रक्रिया अघि बढ्यो।
यसबीच त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसले रंगशालाको प्राविधिक तथा वित्तीय मूल्याङ्कन गरेको थियो। मूल्याङ्कनमा फाउन्डेसनले रंगशाला निर्माणमा करिब ५७ करोड ९२ लाख रुपैयाँ बराबरको काम गरिसकेको देखिएको थियो। त्यसमध्ये १८ करोड रुपैयाँभन्दा बढी रकम भने विभिन्न पक्षलाई भुक्तानी गर्न बाँकी रहेको पुष्टि भएको थियो।
लामो समयसम्म अलपत्र परेको रंगशालाको बाँकी निर्माण कार्य अहिले संघीय सरकार र बागमती प्रदेश सरकारको साझेदारीमा भरतपुर महानगरपालिकाले ठेक्कामार्फत अघि बढाइरहेको छ। अर्थात्, फाउन्डेसनले सुरु गरेको रंगशालाको भौतिक संरचना निर्माणको जिम्मेवारी अन्ततः राज्यले लिएको छ। तर, संरचना राज्यको स्वामित्वमा पुगे पनि त्यस क्रममा सिर्जना भएको ऋण र बक्यौता रकम कसरी फर्छ्योट गर्ने भन्ने विषय अझै जटिल बनेको छ।
यही ऋणको बोझ अहिले धुर्मुसका लागि सबैभन्दा ठूलो समस्या बनेको छ। ऋणदाताहरूले फाउन्डेसन र आफूलाई दैनिकजसो आर्थिक तथा मानसिक दबाब दिइरहेको कट्टेलको भनाइ छ। समस्या समाधानका लागि सरकारी कार्यालय धाउँदा पनि ठोस निकास ननिस्किएपछि आफू शारीरिक र मानसिक रूपमा थकित बनेको उनले बताएका छन्।
कट्टेलले आफ्नो जीवनको करिब एक दशक समाजसेवामा समर्पण गरेको पनि स्मरण गरेका छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि उनले काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी र रौतहटमा नमुना एकीकृत बस्ती निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यसपछि क्रिकेट रंगशाला निर्माणको अभियानमा लागेका उनले आफ्नो व्यक्तिगत लोकप्रियता र सामाजिक सञ्जालको प्रभावलाई समेत जनसहयोग जुटाउन प्रयोग गरेका थिए।
अहिले भने त्यही समाजसेवाको यात्राबाट सिर्जिएको आर्थिक दायित्वका कारण देश छाड्नुपरेको अवस्था आएको उनको भनाइ छ। उनले आफ्नै देशमा इमानदारीका साथ केही गरौँ र आफ्नो माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति यस्तै हुने हो कि भन्ने प्रश्नसमेत उठाएका छन्।
देश छाड्दा कट्टेलले राज्यप्रति पूर्ण निराशा मात्र व्यक्त गरेका छैनन्, भविष्यप्रति एउटा झिनो आशा पनि राखेका छन्। कुनै दिन राज्यले आफूहरूको पीडा बुझ्ने, समयले सत्य बोल्ने र आफ्नो संघर्षको मूल्यांकन हुने विश्वास उनले व्यक्त गरेका छन्। ‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको’ अनुभूति भएको भन्दै उनले त्यो दिनको प्रतीक्षा गरिरहने बताएका छन्।
यसरी नेपाली क्रिकेटको पूर्वाधार निर्माण गर्ने ठूलो सपना बोकेर सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कथा अहिले केवल एउटा अधुरो निर्माण परियोजनाको कथा मात्र बनेको छैन। यो जनसहयोग, समाजसेवा, आर्थिक दायित्व, सरकारी प्रक्रिया र जिम्मेवारीको प्रश्नसँग जोडिएको जटिल विषय बनेको छ।















प्रतिक्रिया