देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती « Khabarhub

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ भने आफू अध्यक्षको तस्बिर अंकित पेटिकोट लगाएर बिर्तामोड बजारमा समेत हिँड्न तयार रहेको बताएका छन्।

शनिबार झापामा आयोजित श्रम संस्कृति पार्टीको कार्यक्रममा बोल्दै किरातीले आफूले कुनै पद वा व्यक्तिगत स्वार्थका लागि नभई देशको हितका लागि पार्टी अध्यक्षको तस्बिर अंकित भेस्ट लगाएको दाबी गरे।

‘हाम्रो अध्यक्षको फोटो अंकित भेस्ट त के, यो देशका जनताको मुक्ति हुन्छ भने, देशको हित हुन्छ भने म पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु,’ उनले भने, ‘मेरो पदको लागि होइन, आफ्नो हितको लागि होइन। मेरो देशको हित हुन्छ भने म पेटिकोट लगाएर हिँड्न तयार छु।’

देशको हित नहुने अवस्थामा भने महँगो टाइसुट लगाएर हिँड्नुको कुनै अर्थ नरहेको उनको भनाइ थियो।

‘देशको हित हुँदैन भने टाइसुट लगाएर पनि केही हुँदैन। त्यसैले देशको हितका लागि अध्यक्षको फोटो अंकित पेटिकोट लगाउन पनि म तयार छु,’ उनले भने।

किरातीले आफ्नो पार्टीले राम्रो काम गर्न खोज्दा अन्य दलबाट विरोध र कटाक्ष भइरहेको गुनासो गरे। दार्चुलामा एउटा पुल निर्माण गर्दा विरोध र आलोचना गरिएको भन्दै उनले अरू दललाई आफूभन्दा बढी विकासका काम गरेर देखाउन चुनौती दिए।

‘दार्चुलामा हामीले एउटा पुल लगाउँदा अनेक भनेर विरोध र कटाक्ष गरिन्छ। हामीले एउटा पुल लगाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २६ वटा लगाउनुपर्छ। विरोध गरेर मात्रै हुँदैन,’ उनले भने।

नेकपा र नेपाली कांग्रेसजस्ता ठूला दलले आफूहरूको भन्दा तीन–चार गुणा बढी पुल निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

‘नेकपा र कांग्रेसले पनि हामीले भन्दा तीन–चार वटा धेरै पुल लगाउनुपर्छ, हामीभन्दा उनीहरू ठूला छन्,’ उनले भने।

राम्रो काम गर्न खोज्नेलाई अनावश्यक रूपमा आलोचना गर्न नहुने भन्दै किरातीले आफ्ना ‘भूतपूर्व कमरेड’ र साथीहरूलाई अरूको कमजोरी खोज्नुभन्दा आफ्ना काम हेर्न आग्रह गरे।

‘राम्रो काम गर्न खोज्दा अर्काको खुट्टामा ढड्नासोले हान्न मिल्दैन। फेरि पनि ती मेरा भूतपूर्व कमरेड र साथीहरूलाई जोडसँग भन्छु,’ उनले भने, ‘आफ्नो आङको जुम्रा देख्नु हुन्न, अरूको जिउको लिखा खोज्न नलाग्नुस्।’

उनले देश संकटमा पर्दा आफूहरू टुलुटुलु हेरेर बस्ने पक्षमा नरहेको बताए।

‘हाम्रो देश डुब्दा हामी टुलुटुलु हेरेर बस्दैनौँ। हामी देशका लागि नयाँ उपायले सोच्न सक्छौँ,’ किरातीले भने।

अध्यक्षको तस्बिर अंकित भेस्टलाई लिएर भइरहेको आलोचनाको पनि उनले प्रतिवाद गरे। भेस्टमा कुनै ‘महाराज’को नभई देश बनाउने व्यक्तिको तस्बिर रहेको उनको दाबी थियो।

‘यो भेस्टमा कुनचाहिँ महाराजको फोटो छ ? देश बनाउने हाम्रो अध्यक्षको फोटो छ,’ उनले भने।

किरातीले भेस्टको आलोचना गर्नेहरूलाई हिटलरको स्वस्तिक चिह्नसँग तुलना गर्दै आफ्नो पार्टीको भेस्टलाई त्यसको उत्तराधिकारी भन्न नमिल्ने तर्क गरे।

‘कुनै बेला हिटलरले आफ्नो स्वस्तिक छाप स्थापित गर्न विश्वका करोडौँ मान्छे मारे। त्यसैले यो नाजीवादी र फासीवादीका उत्तराधिकारीको भेस्ट होइन, म गर्वसाथ लगाउँछु,’ उनले भने।

उनले विगतमा ठूला बजेटका आयोजना लामो समयसम्म पूरा हुन नसकेको विषय उठाउँदै आफूहरूले परिणाम देखाउने गरी काम गर्न खोजेको दाबी गरे।

‘१२ अर्बको काम ५६ अर्बको हुँदा पनि नसक्ने, १७ अर्बको काम १ खर्बको पुग्दा पनि नसक्नेहरूको होइन यो भेस्ट। हामी यो भेस्ट गर्वका साथ लगाउँछौँ,’ उनले भने।

संघीय सरकारले नसकेको अवस्थामा धरानमा ९७ दिनमा पानी ल्याउने काम भएको उल्लेख गर्दै किरातीले उक्त कामका नेतृत्वकर्ताको तस्बिर अंकित भेस्ट लगाउन आफूहरूलाई गर्व लागेको बताए।

‘संघीय सरकारले नसकेको अवस्थामा धरानमा ९७ दिनमा पानी ल्याउने मान्छेको फोटो हो यो। त्यसैले माटोप्रेमी, देशप्रेमी सबैले हाम्रो अध्यक्षको फोटो गर्वसाथ लगाऊँ,’ उनले भने।

किरातीले देशको हित र जनताको मुक्तिका लागि आफूले जुनसुकै प्रकारको प्रतीक वा पहिरन लगाउन पनि तयार रहेको दोहोर्‍याउँदै पार्टीको अभियानलाई देश निर्माणसँग जोडेर अघि बढाउने दाबी गरे।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ४ : ३० बजे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान