काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूका कारण लोकतन्त्र र पार्टीको शिर झुक्ने अवस्था आउन नदिन सबै नेता–कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताएका छन्।
रास्वपाले शनिबार र आइतबार काठमाडौंमा केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले आफूहरूलाई पुराना दललाई दोष दिएर मात्रै उम्किने छुट नरहेको बताए।
‘सरकारले बाटो बिराएमा हाम्रो शिर झुक्छ। शिर झुकाउने काम हामी कसैले गर्नु हुँदैन,’ उनले भने, ‘केही गर्न नसके कम्तीमा गलत नगरौँ। राम्रो केही गर्न नसके पनि नराम्रो केही नगरौँ।’
लामिछानेले विगतमा पुराना दलका कमजोरी औँल्याएर आफूहरू राजनीतिक रूपमा अग्लो देखिन सक्ने अवस्था रहे पनि अब त्यो सुविधा रास्वपालाई नरहेको बताए।
‘हिजोसम्म पुराना दललाई दोषैदोषको चाङ देखाएर हामी अग्लो हुन सक्थ्यौँ, तर आज हामीलाई यसमा छुट छैन,’ उनले भने।
उनले अब विगतको हिसाब खोजेर मात्रै बस्नुभन्दा आगामी पुस्ताका लागि देश कस्तो बनाउने भन्ने स्पष्ट योजना बनाउनुपर्नेमा जोड दिए।
‘अब हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्ष कस्तो बनाउने, त्यो चाहिँ तयारी थालौँ,’ लामिछानेले भने।
उनका अनुसार विगतमा बनेका विभिन्न संरचनाले आफ्नो ठाउँमा काम गरिरहेका छन्। अबको मुख्य चुनौती ती संरचनाको आधारमा आगामी ३५ वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने स्पष्ट दृष्टिकोण जनतामाझ प्रस्तुत गर्नु रहेको उनले बताए।
‘बितेका ३५ वर्षमा देशमा कयौँ संरचना छन्। पुराना दलले बनाइदिएको संरचनाले स्वतः काम गर्छन्। अबको ३५ वर्ष हामीले के गर्ने भन्ने सन्देश जनतालाई दिनुपर्छ,’ उनले भने।
लामिछानेले रास्वपाले शिक्षा, स्वास्थ्य, विकास र अर्थतन्त्रका विषयमा स्पष्ट नीति निर्माण गर्नुपर्ने बताए।
‘शिक्षा र स्वास्थ्य नीति के हो? विकासको नीति के हो? हाम्रो अर्थतन्त्रले के आकार ग्रहण गर्दैछ?’ उनले प्रश्न गरे।
राजनीतिक प्रशिक्षणका क्रममा सहभागीहरूलाई राजनीतिक विषय मात्रै नभई फरक ढंगले सोच्न र प्रस्तुत हुनसमेत आवश्यक रहेको उनले बताए।
‘यो प्रशिक्षणमा राजनीतिक कुरा पाउनुभयो होला। जब धेरै चिन्ता लाग्छ साथीहरूलाई सम्झाउन राजनीतिभन्दा फरक तरिकाले प्रस्तुत हुन मन लाग्दो रहेछ,’ उनले भने।
लामिछानेले आफूहरू देशको ठूलो राजनीतिक शक्तिको नेतृत्वमा रहेको दाबी गर्दै त्यससँगै ठूलो जिम्मेवारी पनि आएको बताए।
‘देशको सबैभन्दा ठूलो दलको सबैभन्दा ठूलो नेतासँग ठूलो जिम्मेवारी छ,’ उनले भने, ‘मेरा कारणले तपाईंहरूको शिर झुक्न दिन्न। तपाईंहरूको शिर उठाउने जमर्को गर्छु।’
आफूहरू राजनीतिक यात्रामा लड्न सक्ने तर लडेपछि फेरि उठेर दौडिन सक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ थियो।
‘लडिएछ भने उठेर दौडिने अवस्था पनि बनाउँछु। हरेकले आफ्ना कारण पार्टीको शिर झुक्न दिन्न भन्नुपर्छ,’ लामिछानेले भने।
विभिन्न पेसा र क्षेत्रबाट मानिसहरू राजनीतिमा जोडिन आएको उल्लेख गर्दै उनले रास्वपाका नेता–कार्यकर्ता अझ बढी जिम्मेवार हुनुपर्ने बताए।
‘विभिन्न पेसाका मानिस राजनीति संलग्न हुन आएका छन् भने यो बेला हामी सबैभन्दा जिम्मेवार हुनुपर्छ,’ उनले भने।
जानाजान वा अनजानमा हुने गल्तीका कारण लोकतन्त्र कमजोर नहोस् भन्नेमा सचेत रहन पनि उनले पार्टीका नेताहरूलाई आग्रह गरे।
‘जानेर वा नजानेर, झुक्किएर पनि हामीबाट भएका क्रियाकलापले लोकतन्त्र कमजोर नहोस्,’ लामिछानेले भने।
देशका विभिन्न संघसंस्था अहिले डराएको अवस्था देखिए पनि लोकतन्त्र कमजोर भइसकेको निष्कर्षमा पुग्न नहुने उनको भनाइ थियो।
‘आज विभिन्न संघसंस्था डराएका छन्। यो कमजोर छैन। कमजोर हुँदो हो त धेरै अगाडि ढलिसक्थ्यो,’ उनले भने।
लामिछानेले लोकतन्त्रलाई थप बलियो बनाएर लैजाने जिम्मेवारी रास्वपाका नेता–कार्यकर्ताको काँधमा रहेको बताए।
‘तिमीहरूले बलियो बनाएर लैजानुपर्छ। हामीले बलियो बनाएको लोकतन्त्र कमजोर भयो भनेर हामीसँग सोध्न सक्छन्। त्यसैले हामीले अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्छ,’ उनले भने।















प्रतिक्रिया