पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली « Khabarhub

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा आफूलाई नेतृत्वबाट हटाउने गरी चलाइएको अभियानबारे आक्रामक प्रतिक्रिया जनाएका छन् ।

विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीमा महासङ्कटको अवस्था उत्पन्न भएमा मात्रै पुनर्गठन हुने भन्दै अहिले त्यसको आवश्यकता नरहेको दाबी गरे ।

उनले विगतमा २०१९, २०२८ र २०७७ सालमा कम्युनिष्ट आन्दोलनमा उत्पन्न गम्भीर परिस्थितिका कारण पार्टी पुनर्गठन गरिएको स्मरण गराउँदै अहिले पुनर्गठनको औचित्य नरहेको बताए ।

‘पार्टी पुनर्गठन’ शब्दको दुरुपयोग गरेर अध्यक्ष हटाउने अभियान चलाइएको छ’, उनले भने , ‘त्यसबाट भ्रमित नहुन कार्यकर्तालाई आग्रह गर्छु।’ अध्यक्ष हटाउने विषय पार्टी पुनर्गठनभित्र नपर्ने पनि उनको दाबी थियो ।

ओलीले नेतृत्व परिवर्तनका विषयमा पनि निश्चित प्रक्रिया र समय हुने भन्दै विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठकको मागलाई ‘बेमौसमी बाजा’को संज्ञा दिए ।

‘कसैले पनि सीमाबाहिर गएर स्वेच्छाचारी ढङ्गले दृष्टिकोण राख्ने स्थिति हुनुहुँदैन। कुनै पनि विषयमा आफ्ना दृष्टिकोण राख्ने समय हुन्छ, नेतृत्वको विषयमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने समय हुन्छ,’ उनले भने।

ओलीले वर्तमान सरकार देशमा डर, त्रास र भयको वातावरण सिर्जना गर्दै स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको र फासीवादतर्फ उन्मुख भएको आरोप लगाए।

जनताले दिएको बहुमत देशमा आतङ्क सिर्जना गर्न नभई राम्रोसँग शासन सञ्चालन गर्न दिएको ‘लाइसेन्स’ भएको उनको भनाइ थियो । उनले एमालेको अहिलेको मुख्य अभिभारा देशलाई ‘प्रतिगमन’बाट संवैधानिक बाटोमा फर्काउनु रहेको बताए ।

त्यसका लागि पार्टीलाई वैचारिक र सांगठनिक रूपमा तयार पार्दै आन्दोलनमा सँगै हिँड्न सक्ने सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने उनले बताए ।

गत फागुन २१ गतेको निर्वाचनमा एमालेले धक्का बेहोरेको स्वीकार गर्दै ओलीले त्यसबाट पार्टीको राजनीतिक आन्दोलन कमजोर नहुने दाबी गरे । उनले पार्टीभित्रका कमजोरी सच्याउनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘पार्टी नबदल्ने, भोट बदल्ने १ त्योभन्दा लज्जाजनक कुरा के हुन्छ ।’

प्रतिगमनविरुद्धको आन्दोलनलाई सफल बनाउन पार्टीलाई एकताबद्ध र सक्रिय बनाउनुपर्नेमा जोड दिँदै ओलीले आगामी स्थानीय तहको निर्वाचनमा सफलता हासिल गर्ने गरी तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले सामाजिक सञ्जाललगायतका साधनलाई पार्टीको हितमा प्रभावकारी रूपमा प्रयोग गर्न र निराशा तथा हतोत्साह त्यागेर उच्च मनोबलका साथ पार्टी काममा लाग्न आग्रह गरे ।

ओलीले एमालेको अन्तिम राजनीतिक गन्तव्य समाजवाद भएको दाबी गर्दै साम्यवाद परिकल्पना भए पनि समाजवाद आफ्नै समयमा हासिल गर्न सकिने यथार्थ लक्ष्य भएको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य समाजवाद भएको उनको भनाइ थियो।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ९ : ४२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको