ओलीको बचाउमा उत्रिँदै सूर्यले भने- अध्यक्षलाई मात्रै दोष नथोरौँ, एकढिक्का भएर चुनावको तयारी थालौँ « Khabarhub

ओलीको बचाउमा उत्रिँदै सूर्यले भने- अध्यक्षलाई मात्रै दोष नथोरौँ, एकढिक्का भएर चुनावको तयारी थालौँ


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापाले पार्टीभित्रको नेतृत्व विवाद र गुटगत ध्रुवीकरण अन्त्य गर्दै एमालेलाई एकताबद्ध र सुदृढ संगठनका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थापाले पार्टी राष्ट्रिय कार्यभार र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने समयमा आन्तरिक विवादमा अल्झिएको बताए।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आत्मसमीक्षामा आधारित र पार्टी पुनर्जागरणमा केन्द्रित रहेको भन्दै उनले त्यसको स्वागत गरे।

अध्यक्ष ओलीमाथि काठमाडौं महानगर प्रमुख वालेन्द्र शाह (बालेन) नेतृत्वको स्थानीय सरकारले गरेको व्यवहारलाई व्यक्तिगत विषयका रूपमा नभई पार्टी नेतृत्वमाथिको आक्रमणका रूपमा बुझ्नुपर्ने थापाको धारणा थियो। यस विषयमा पार्टीभित्र एकीकृत दृष्टिकोण बन्न नसक्नु कमजोरी भएको उनले बताए।

निर्वाचनपछिको समीक्षा गर्दा सबै जिम्मेवारी अध्यक्षमाथि मात्र थोपर्न नहुने बताउँदै थापाले महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गरिएको अभ्यासको असर निर्वाचन परिणाममा समेत परेको बताए। त्यसको जिम्मेवारी सामूहिक रूपमा लिनुपर्ने उनको भनाइ थियो।

‘अध्यक्षको नेतृत्वमा जनतामाझ जान सकिँदैन’ भन्ने भाष्य निर्माण गरेर पार्टीविरोधी शक्तिको प्रभावमा पर्न नहुने उनले बताए।

पार्टीको पराजयको कारण खोज्न गठित कार्यदल पात्र खोज्न बढी केन्द्रित भएको थापाको टिप्पणी थियो। पार्टी किन पराजित भयो भन्ने वस्तुगत कारण पहिचान गर्नुपर्नेमा कार्यदल को जिम्मेवार हो भन्ने बहसमा केन्द्रित भएको उनले बताए।

नेतृत्व परिवर्तनलाई मात्रै समाधानका रूपमा प्रस्तुत गर्न नहुने बताउँदै थापाले दुई कार्यकाल र ७० वर्षे उमेरहदलाई पनि कुनै ‘रामबाण उपचार’ का रूपमा लिन नहुने धारणा राखे। नेतृत्व निर्माण, पुस्तान्तरण र जिम्मेवारी हस्तान्तरणको विषय राजनीतिक प्रतिवेदनमै स्पष्ट रूपमा आएको उनले बताए।

पार्टीभित्रको गुटगत ध्रुवीकरण लुम्बिनी प्रदेशको पहिलो अधिवेशनदेखि तीव्र बनेको उल्लेख गर्दै थापाले प्यानल संस्कृति र विभाजनकारी प्रवृत्तिबाट शिक्षा लिनुपर्ने बताए। आन्तरिक विभाजनका साथ निर्वाचन जित्न नसकिने भन्दै उनले एमाले एकढिक्का भएर चुनावी मैदानमा जानुपर्नेमा जोड दिए।

अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बहस पार्टीका विभिन्न तहका बैठक तथा ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेको विषय भएको भन्दै त्यसलाई निरन्तर सार्वजनिक बहसको विषय बनाउन नहुने उनले बताए।

पार्टीलाई अन्त्यहीन बहसको ‘डिबेट क्लब’ बनाउन नहुने र महाधिवेशनका निर्णय तथा पार्टी विधि सबैका लागि बाध्यकारी हुनुपर्ने उनको भनाइ थियो।

गत वर्ष भदौ २३ र २४ गतेका घटनाबारे पार्टीले साझा दृष्टिकोण बनाउनुपर्ने आवश्यकता औँल्याउँदै थापाले उपलब्ध तथ्य, प्रमाण, विभिन्न आयोगका प्रतिवेदन, ग्रेजोनको खुलासा तथा मानवअधिकारसम्बन्धी अध्ययनको विश्लेषण गरी सत्यतथ्य अभिलेखीकरणका लागि निष्पक्ष नागरिक छानबिनको पहल गर्नुपर्ने बताए।

अध्यक्ष ओली तथा उपाध्यक्ष–महासचिवबीच पछिल्लो समय देखिएको सम्बन्धको तिक्तताले पार्टीपंक्तिमा निराशा बढाएको उल्लेख गर्दै उनले नेतृत्व तहबीच पुनः विश्वास र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरे। केही महिनाअघि व्यक्त गरिएको सहकार्यको प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो।

थापाले पार्टी र नेतृत्वविरुद्ध फैलाइएका कुप्रचारको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गर्दै सरकारका संविधानविरोधी तथा जनविरोधी गतिविधिविरुद्ध सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए।

आत्मनिन्दा, गुनासो र विभाजनमा ऊर्जा खर्च नगरी पार्टीलाई थप एकताबद्ध र क्रियाशील बनाउनुपर्नेमा जोड दिँदै उनले असफलताबाट शिक्षा लिएर पार्टीलाई सफलतातर्फ अघि बढाउनुपर्ने बताए।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : २५ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री