काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालको योगदानलाई आगामी दिनमा थप निरन्तरता दिने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा बुधबार संयुक्त राष्ट्रसङ्घको शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँग भएको भेटवार्तामा मन्त्री खनालले नेपाल शान्ति स्थापनाका लागि थप जनशक्ति उपलब्ध गराउन तयार रहेको बताएका हुन् ।
मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घको आवश्यकता र अनुरोधअनुसार नेपालले आगामी दिनमा १० हजारसम्म शान्ति सैनिक योगदान गर्न सक्ने बताए ।
उनले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि धन्यवाद दिँदै नेपालले विश्व शान्ति र सुरक्षाका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यलाई उच्च प्राथमिकता दिएको बताए ।
‘नेपालले संयुक्त राष्ट्रसङ्घसँगको आफ्नो दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको छ,’ उनले भने, ‘पारस्परिक विश्वास, सम्मान तथा सहकार्यमा आधारित यस सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउन चाहन्छौँ ।’
मन्त्री खनालले शान्ति स्थापनाका क्रममा ज्यान गुमाएका तथा घाइते भएका नेपाली शान्ति सैनिकहरूको योगदानको स्मरण गर्दै उनीहरूको त्याग र समर्पणप्रति सम्मान व्यक्त गरे ।
नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता राष्ट्रका रूपमा सक्रिय रहेको उनको भनाइ थियो । उनका अनुसार अहिले करिब १२ वटा संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा ४ हजार ३ सयभन्दा बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारी कार्यरत छन् ।
संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि सहयोगको आह्वान हुँदा नेपालले सकारात्मक र जिम्मेवार ढङ्गले प्रतिक्रिया दिँदै आएको मन्त्री खनालले बताए । कठिन तथा चुनौतीपूर्ण परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले व्यावसायिकता र अनुशासनका साथ जिम्मेवारी पूरा गर्दै आएको उनले उल्लेख गरे ।
नेपाली सुरक्षाकर्मीको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन संयुक्त राष्ट्रसङ्घीय मापदण्डअनुसार प्रशिक्षण, जवाफदेहिता, कार्यसम्पादन तथा अन्तरसञ्चालन क्षमतामा निरन्तर सुधार गर्न नेपाल प्रतिबद्ध रहेको पनि उनले बताए ।
भेटवार्तामा संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानले पछिल्लो समय सामना गरिरहेको वित्तीय तथा तरलताको समस्याबारे पनि छलफल भएको थियो । मन्त्री खनालले चुनौतीका बाबजुद नेपाल शान्ति स्थापनाप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पारे ।
संयुक्त राष्ट्रसङ्घको अनुरोधअनुसार शान्ति अभियानमा पर्ने वित्तीय भार कम गर्न नेपालले विभिन्न उपाय अपनाउँदै आएको उनले बताए । अधिकारीहरूको कार्यविधि विस्तार, व्यावसायिक उडानमार्फत शान्ति सैनिक परिचालन, सामान तथा उपकरण ढुवानीमा आवश्यक समायोजनलगायत खर्च न्यूनीकरणका उपायमा नेपालले सहयोग गर्दै आएको उनको भनाइ थियो ।
मन्त्री खनालले आगामी दिनमा हुने नयाँ परिचालनका अवसरमा नेपालले शान्ति स्थापनामा पुर्याउँदै आएको योगदानलाई उचित रूपमा सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घसँग आग्रह गरे ।
‘नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा पुर्याउँदै आएको योगदान र निरन्तर सहयोगको उचित कदर हुने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘आगामी दिनमा नयाँ परिचालनका अवसर सिर्जना हुँदा नेपाललाई उचित रूपमा विचार गरिने विश्वास लिएका छौँ।’
भेटवार्ताका क्रममा उपमहासचिव लाक्रोइक्सले विश्व शान्ति स्थापनाका लागि नेपाल र नेपाली सुरक्षाकर्मीले पुर्याउँदै आएको भूमिकाको प्रशंसा गरेका थिए।













प्रतिक्रिया