आठपहरियाको वडाङ्मेट पर्व सुरु « Khabarhub

आठपहरियाको वडाङ्मेट पर्व सुरु


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– वर्षभरि गुमाएका आफन्तको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक विधिबाट बिसाउँदै नयाँ उत्साह र उमङ्गका साथ जीवन अघि बढाउने मौलिक परम्परा बोकेको आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड वडाङ्मेट (मङ्सिरे) पर्व सुरु भएको छ । 

धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ पर्व मनाउन थालेको हो । 

वडाङ्मेट पर्वका अवसरमा वर्षभरि आमाबुबा वा परिवारका सदस्य गुमाएका आठपहरिया समुदायका सदस्य दुःख बगाउने धार्मिक परम्परा पूरा गर्न धनकुटाबाट सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलासम्मको पैदल यात्रामा निस्किएका छन् । 

गत शनिबार धनकुटाबाट यात्रा सुरु गरेका उनीहरू चार दिनको पैदल यात्रामार्फत बराहक्षेत्र पुगेर पुनः धनकुटा फर्किने परम्परालाई निरन्तरता दिइरहेका छन् ।

आठपहरिया समुदायमा आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने र वर्षभरि लागेको जुठोबाट चोखिने विशेष धार्मिक मान्यता रहेको छ । सोही मान्यताअनुसार परिवारका सदस्य गुमाएका व्यक्तिहरु बराहक्षेत्र नजिकै रहेको कोकाहा खोलामा पुगेर कपाल र दाह्री खौरिने तथा स्नान गरी दुःख बगाउने गर्छन् । चार दिनको पैदल यात्रामा निस्किएका आठपहरियाहरु पहिलो दिन धनकुटाको आहालेमा बास बसेका छन् । 

दोस्रो दिन आइतबार बराहक्षेत्रस्थित कोकाहा खोला पुगेर कपाल र दाह्री खौरिने, स्नान गर्ने तथा बराह भगवान्को दर्शन गरी सोही ठाउँमा बास बसेको आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिए । धार्मिक विधि पूरा गरेपछि देवता घरमा ल्याउने परम्परा पनि रहेको उनले बताए ।

तेस्रो दिन सोमबार बराहक्षेत्रबाट फर्किने उनीहरू बेलुका धनकुटा नगरपालिकाको बगुवा खोलामा बास बस्ने र मङ्गलबार धनकुटा आइपुग्नेछन् । पैदल यात्राका क्रममा उनीहरू खुल्ला आकाशमुनि बास बस्नुपर्ने चलन रहेको छ । अरूले बनाएको पाटीपौवा तथा चौतारामा बास बस्न नहुने मान्यता रहेको छ । त्यसपछि बुधबार धनकुटा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका २२ वटा मार्गा थान मन्दिरमा भेला भएर विधिपूर्वक पूजा गर्नेछन् । 

वडाङ्मेट पर्व केवल आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने अवसर मात्र होइन, परिवारमा नयाँ खुसी र उपलब्धिको उत्सव मनाउने पर्वसमेत हो । मार्गा पूजा सम्पन्न भएपछि समुदायका सदस्यले घरघरमा दुःखको कर्म फुकाउने परम्परा पूरा गर्छन् । 

यस क्रममा वर्षभरि परिवारका सदस्य गुमाएका घरपरिवारले शोकसम्बन्धी परम्परागत विधि सम्पन्न गरी घरमा जेठो सन्तान जन्मिएको वा नयाँ घर निर्माण भएको अवसरमा हर्षबढाइँ गर्ने, आफन्त तथा छरछिमेकलाई बोलाएर भोज खुवाउने र सामूहिक रुपमा नाचगान गर्ने गर्दछन् । 

यो क्रम करिब १५ दिनसम्म जारी रहने र समुदायभित्र रहेका हुम्बारक, छिर्लिङे र खावाडो गरी तीन पाछाका पुस्तागत डल्ले नाच तथा मारुनी नाच चलन रहेको पुजारी उमेश आठपहरियाले जानकारी दिए । मारुनी नाच नाच्नेलाई पैसाको माला दान गर्ने चलन रहेको छ । 

धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको फरक संस्कार र संस्कृति रहेको आठपहरिया समुदायले वर्षभरि तीनवटा प्रमुख चाड मनाउने गरेका छन् । जसमा वैशाखमा विशु, भदौमा न्वागी र कात्तिक वा मङ्सिरमा वडाङ्मेट पर्व मनाउने गरिन्छ । तीनवटै चाड मनाउन विश्वका जुनसुकै ठाउँमा पुगेका भए पनि मूल बसोबास क्षेत्र धनकुटा नै आउनुपर्ने मान्यता रहेको छ । 

वडाङ्मेटलाई आठपहरिया समुदायको सबैभन्दा ठूलो तथा महत्वपूर्ण चाडका रुपमा लिने गरिन्छ । भाइटिकापछि उपयुक्त साइत जुराएर माङ्ला उठाएपछि वडाङ्मेट पर्व सुरु हुने चलन रहेको छ । धनकुटा नगरपालिकामा करिब छ हजारको हाराहारीमा आठपहरिया समुदायका मानिसको बसोबास रहेको छ । वडाङ्मेट पर्वका अवसरमा धनकुटा नगरपालिकाले मङ्सिर ८ र ९ गते सार्वजनिक बिदा दिएको छ । 

सहिदभूमिमा वाढाङ्मी (पापानी) तयारी

धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्ने राई समुदायको पापानी चाड पनि सुरु हुन लागेको छ । नयाँ बाली भित्र्याएको खुसियालीमा मनाइने यो पर्व कार्तिक शुक्ल पूर्णिमापछिको पहिलो मङ्गलबार सहिदभूमि गाउँपालिका–३ स्थित साकेन्वा थानमा पूजा गरेपछि सुरु हुने परम्परा छ । 

यो वर्ष कात्तिक पूर्णिमा मङ्गलबार मङ्सिर ८ गते परेकाले सोही दिनबाट पापानी चाड सुरु हुने स्थानीयवासी नरेन्द्र कश्चित राईले जानकारी दिए  ।

पापानी पर्वमा किराँत राई समुदायले कुलदेवताको पूजाआराधना गर्दै ढोल र झ्याम्टा बजाएर छ दिन छ रातसम्म नाचगान गर्ने गर्छन् । एकापसमा कुम जोडेर गोलो घेरामा खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्ने यस पर्वको विशेषता हो । नयाँ बाली भित्र्याएको खुसियाली साटासाट गर्दै इष्टदेवताको पूजा र सामूहिक नाचगानका साथ पर्व मनाइने गरिन्छ । 

चाडको पहिलो दिन गाउँभरिका गढी घरका ढोलहरु मूल पुजारीको घरमा भेला गरी पूजा गरेर पापानी सुरु गरिन्छ । दोस्रो दिन घरघरमा देवीदेवता भित्र्याएर पूजा गर्ने र माङ्ला अर्थात् जोखाना हेर्ने चलन छ । 

पर्वको अन्तिमतिर इष्टदेवता फुढाहाङ (बुढाहाङ) को प्रतीक ङाङसुबाथिङको घर हुँदै गढी घर, पथ्थरे र मझियाको गढी घरमा पूजा गर्ने परम्परा रहेको छ । सो अवसरमा सहिदभुमि गाउँपालिकाले मङ्सिर १३ र १४ गते सार्वजनिक बिदा दिएको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १० : ५९ बजे

दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान (तस्बिरहरू)

काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति

लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल

टीभीएस नेपालद्वारा अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल अपाचे ट्र्याक एक्सपेरियन्समा सार्वजनिक

काठमाडौं– टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रालिले अपाचे ट्र्याक

आठपहरियाको वडाङ्मेट पर्व सुरु

धनकुटा– वर्षभरि गुमाएका आफन्तको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक

मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र