काठमाडौं– नेपाली फिल्म ‘बाटुलो जून’ले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति देखाइरहेको छ । प्रदर्शनको ११ दिनमै आठ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको फिल्म अहिले अभिनेता अनमोल केसीको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्ने दौडमा छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फिल्मले ११ दिनमा ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा २ लाख ६९ हजार ५४४ दर्शकले फिल्म हेरेका छन् ।
कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती दिनमा निकै राम्रो व्यापार गरेको थियो। यद्यपि, कथा, प्रस्तुति र अभिनयलाई लिएर दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । समीक्षामा फरक मत देखिए पनि त्यसको असर सुरुवाती व्यापारमा खासै परेको देखिएन ।
यो कमाइसँगै ‘बाटुलो जून’ अनमोलको करिअरकै दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ। यसअघि उनको ‘जेरी अन टप’ले १२ करोड २८ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो । अब उक्त रेकर्ड तोड्न ‘बाटुलो जून’ले थप ३ करोड ९० लाख रुपैयाँभन्दा बढी कमाउनुपर्नेछ ।
तर फिल्मको पछिल्लो व्यापारले भने केही चुनौती देखाएको छ । पहिलो पाँच दिनमै ५ करोड ७५ लाख रुपैयाँ कमाएको फिल्मले त्यसपछिका छ दिनमा २ करोड ६० लाख रुपैयाँ मात्रै थपेको छ । अर्थात्, सुरुवाती उत्साहको तुलनामा कमाइको गति केही सुस्त भएको छ ।
क्यूएफएक्स सिनेमाजबाट ‘सुपरहिट’को ट्यागसमेत पाइसकेको फिल्मले अब अनमोलको पुरानो रेकर्ड तोड्न सक्छ कि सक्दैन भन्ने चासो बढेको छ ।














प्रतिक्रिया