प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकतामा राख्दै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि किमले उत्तर कोरियाको विदेश नीतिबारे यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार नवनियुक्त राजदूतहरूलाई ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने क्रममा उनले स्वतन्त्रता, शान्ति र मित्रतामा आधारित विदेश नीति अघि बढाउने बताए । कार्यक्रममा विदेशमन्त्री चो सोन हुईसहित रुसका लागि नवनियुक्त राजदूत पनि सहभागी थिए ।
किमले विश्वव्यापी सुरक्षा सङ्कट तथा राजनीतिक र आर्थिक अस्थिरता बढिरहेका बेला उत्तर कोरियाले प्रभुत्व जमाउने वा विस्तारवादी नीति नअपनाउने स्पष्ट पारे । सामान्यतया वरिष्ठ अधिकारीले गर्ने राजदूतहरूको प्रमाणपत्र ग्रहण कार्यक्रममा किम स्वयं उपस्थित हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
गत साता एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँग भेटवार्ताको प्रयास गरेका थिए । तर, भेटको व्यवस्था हुन नसकेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरी ट्रम्प बिहीबार एसियाबाट फर्किएका थिए ।
दक्षिण कोरियाको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले एएफपीसँग कुरा गर्दै ट्रम्पको पहलबाट प्रभावित नभई किमले राजदूतहरूलाई स्वागत गर्नु उत्तर कोरियाले बहुध्रुवीय विश्व व्यवस्थामा आफ्नो भूमिका विस्तार गर्न चाहेको सङ्केत भएको बताएका छन् ।
ट्रम्पको पहिलो कार्यकालमा किमसँग भएका शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने विषयमा कुनै ठोस सम्झौता गर्न सकेको थिएन । संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आफ्नो आणविक हैसियतलाई कानुनी मान्यता दिएको छ । उसले आफ्नो आणविक हतियार भण्डारलाई स्थायी र अपरिवर्तनीयसमेत घोषणा गरेको छ ।
यसैबीच, युक्रेनविरुद्धको युद्धमा रुसलाई सैन्य सहयोग गर्न उत्तर कोरियाले सेना परिचालन गरेपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको छ । पछिल्लो समय रुससँगको बढ्दो सहकार्यलाई उत्तर कोरियाले आफ्नो विदेश नीतिको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाइरहेको छ ।














प्रतिक्रिया