नयाँदिल्ली- नेपाल र भारतबीचको ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीले आइतबार भर्चुअल माध्यमबाट सङ्खुवासभामा निर्माण हुने आयोजनाको शिलान्यास गरेका हुन् ।
करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा अघि बढाइएको हो ।
आयोजना विकास सम्झौताअनुसार उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । त्यस्तै, २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ ।
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीले आयोजना निर्माण गरिरहेको छ । नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच २०२३ जुन १ मा आयोजना विकास सम्झौता भएको थियो ।
आयोजना अरुण–३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुनेछ । अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्याएर थप विद्युत् उत्पादन गर्ने योजना छ ।
आयोजनाबाट प्रत्यक्ष प्रभावित २६८ परिवारमध्ये २५३ परिवारलाई हालसम्म करिब ९९ करोड ९८ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको आयोजना विकास कम्पनीले जनाएको छ । बाँकी प्रभावित परिवारलाई मुआब्जा वितरण तथा जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ ।
आयोजना निर्माणपछि नेपालले निःशुल्क विद्युत्का साथै रोयल्टी, कर र अन्य आर्थिक लाभ प्राप्त गर्नेछ । निर्माणका क्रममा रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया