सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा « Khabarhub

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

नयाँ मतदाताको भरमा छन् दुवै



काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री घोषणा गरेर राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा होमिएको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर साह निर्वाचनमा जोखिम मोलेरै प्रधानमन्त्री हुने भन्दै झापा-५ बाट प्रतिस्पर्धा गर्ने लागेका छन् । तीन पटकसम्म प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आएर बालेन्द्र निर्वाचन जित्ने रणनीति बुनिरहेका छन् ।

तर, एमालेको संगठन बलियो हुनु र वर्षौँदेखि केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा विकासका कामहरूले अगाडि बढाएकाले बालेनलाई निर्वाचन जित्न सकस देखिन्छ । तर, पनि बालेनको सचिवालय कम्फर्टेबल रुपमा झापा-५ बाट निर्वाचन जित्ने दाबी गरिरहेको छ । झापा-५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिल्ने प्रक्रियामा रास्वपा छ ।

यस्तै नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई सर्लाही-४ मा उम्मेदवार उठाएको छ । सभापति थापा कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका दाबेदार पनि हुन् ।

शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार घोषणा गरेपछि महामन्त्री प्रदीप पौडेलले देशभर यो निर्णयले कांग्रेस शुभचिन्तक र अन्य मतदातामा पनि तरङ्ग ल्याएको दाबी गर्छन् ।

रास्वपाले युवा पुस्ताका साहलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्दा विशेष महाधिवेशनबाट सभापति बन्न सफल भएका थापालाई कांग्रेसले अगाडि सार्नु रणनीतिक योजना हो भन्दा फरक पर्दैन ।

जेन-जी आन्दोलनपछि युवा नेताहरूको माग बढिरहेका बेलामा पुरानो नेपाली कांग्रेस र २०७९ को निर्वाचनपछि उदाएको पार्टी रास्वपाले गरेको यो अभ्यासले मतदाताहरूलाई गगन-बालेनमध्ये कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयले अलमल पारेको छ।

लोकतन्त्रका लागि लडेका गगनलाई एक पङ्क्तिले प्रधानमन्त्रीको उम्मेदवार हुन सक्षम मान्छे हुन् भनिरहेका बेला जेन-जी आन्दोलनपछि उदाएका बालेन्द्रलाई पनि नवपुस्ताले रुचाएका छन्। तर प्रधानमन्त्री बन्नका लागि दुवै जना नेताहरूले निर्वाचन जितेर आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने अवस्था छ । यससँगै आम मतदाताले पुरानो पार्टी कांग्रेसलाई विश्वास गर्छन् या नयाँ पार्टी रास्वपालाई चुन्छन् भन्ने हेर्न बाँकी छ ।

गगनलाई नवपुस्ताको भरोसा

सर्लाही-४ बाट उम्मेदवार रहेका थापालाई पनि बालेनजस्तै निर्वाचन जित्न सकस देखिन्छ । उक्त क्षेत्रमा हालै रास्वपा प्रवेश गरेका नेता डा. अमरेशकुमार सिंहको दबदबा रहेको विश्वास गरिन्छ । उनलाई वर्षौँदेखि त्यहाँबाट निर्वाचन जित्दै आएका र मधेसी जनताको मनोभावना र मागलाई सम्बोधन गर्ने नेता मानिन्छ ।

यसपटक पूर्वकांग्रेस र कांग्रेसका युवा सभापतिको लडाइँले सर्लाही-४ का मतदातालाई पनि अलमलमा पारेको स्थानीय डोमलाल राजवंशी बताउँछन् । सर्लाही-४ का स्थानीय राजवंशी धेरै जना मतदाता अमरेशको पक्षमा रहेपनि यस पटक गगनले दिएको उम्मेदवारीले तरङ्ग ल्याएको दाबी गर्छन् ।

उनी गगनलाई युवाले रुचाएको र जनताले पत्याएका नेता मान्छन् । अहिले त्यहाँ गगनको पक्षमा पनि राम्रो माहोल रहेको उनी बताउँछन् ।

‘पूर्वकांग्रेस र कांग्रेस पार्टीका मतदाता गगनको पक्षमा देखिए पनि अन्य मतदाता सर्लाही-४ मा अललम छन्’, डोमलाल भन्छन्, ‘घण्टीप्रति लहर देखिए पनि गगनले कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गरेकाले उनको पक्षमा पनि उत्तिकै माहोल छ ।’

तर, कांग्रेसको बलियो संगठन भए पनि २०७९ को निर्वाचनमा डा. अमरेश सिंहले स्वतन्त्र रूपमा जितेका थिए । पूर्वकांग्रेस उनलाई रुखको भोट पनि गएको थियो ।

२०७९ मा जितेका अमरेशसँगै भेट भएका हुनाले गगनलाई चुनौतीबीच पनि जनताले चुन्न सक्ने अवस्था छ । डोमलालका अनुसार दुवैजना परिचित उम्मेदवार उठेपछि कसलाई छान्ने कुरामा मतदाता अलमलमा छन् । भिजन भएका गगन र स्थानीयबासी अमरेशको लडाइँले यहाँ तरङ्ग ल्याएको छ ।

सर्लाही-४ मा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा. रगनिशराय यादव उम्मेदवार छन् । मधेशमा राम्रो पकड भएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय उठेका छन् । यस्तोमा गगनले त्यहाँका मतदातालाई कसरी फकाउँछन् प्रतिक्षाको विषय बनेको छ।

मधेशको राजनीतिमा जातीय मुद्दा पनि हावी हुन्छ । यस्तोमा गगनलाई निर्वाचन जित्न निकै कसरत गर्नुपर्ने हुनसक्छ । तर, क्षेत्र नम्बर २ का क्षेत्रीय उपसभापति वीरेन्द्र सिंह भने गगनलाई जित्न सकस नरहेको दाबी गर्छन् ।

‘हाम्रो जित सुनिश्चित छ । हामीलाई जित्न कुनै कसरत आवश्यकता छैन । सभापतिज्यू स्थानीय नभए पनि यहाँको विकास र समृद्धिको एजेण्डामा सधैँ अग्रसर नेता हो’, उनले भने, ‘परिचित दुईजना एकै ठाउँमा नउठिदिएको भए हुन्थ्यो भन्ने भावना चाहिँ सबैको छ । तर माहोल भने हाम्रो पक्षमा छ ।’

२०७९ को निर्वाचनमा अमरेशले २० हजार १७ मत प्राप्त गरेर निर्वाचित भएका थिए । यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्रकुमार रायले १८ हजार २५३ मत ल्याए । सिंहले १७६४ मतान्तरले रायलाई पराजित गरे ।

स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२, जसपा नेपालका राकेश कुमार मिश्रले ५ हजार ८१३ पाएका थिए । यो पटक स्वतन्त्रको मत पनि गगनलाई जाने उपसभापति सिंहको आँकलन छ ।

०७९ को निर्वाचनमा बहुजन एकता पार्टी नेपालका राजा राम पासवानले १ हजार १५८, जनमतका रामबावु रायले ३ हजार ४२९ मत ल्याउँदा रास्वपाका धिरज ठाकुरले ३०६ मत पाए ।

एमालेको मत यहाँ कमजोर देखिन्छ । समानुपातिकमा एमालेले जम्मा ९ ४७१ मत ल्याएको थियो । ०७९ को निर्वाचनमा त यहाँ एमालेले जसपा नेपाललाई सघाएको थियो । ७९ को निर्वाचनमा समानुपातिकमा कांग्रेस पहिलो शक्ति बनेको थियो ।

बहुजन एकता पार्टीले ५ हजार ४४४, जसपा नेपालले ५ हजार १५२, लोसपाले ३ हजार ६७३ र राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार १९९ मत ल्याए । कांग्रेस नेता र शुभचिन्तकले मात्रै इमान्दारपूर्वक मतदान गरेको खण्डमा गगनले जित सुनिश्चित गर्ने यहाँका स्थानीय बताउँछन् ।

तर, रास्वपा नेता अमरेश यो कुरा मान्न तयार छैनन् । गगन स्थानीय नभएको र अवसरवादी नेता भएको कारणले उनलाई स्थानीयले नचिन्ने अमरेशको दाबी छ । उनी भन्छन्, ‘गगनले सर्लाही-४ का लागि के काम गरेका छन् र उनलाई चुन्छन् ? यहाँका जनताले गगनलाई चुन्छन् भनेर उनले आँकलन गर्नु व्यर्थ हो ।’

बालेनलाई पनि सकस, राप्रपाले सघाए सजिलो

गगनजस्तै बालेन पनि झापा-५ का पाहुना उम्मेदवार हुन् । युवामाझ लोकप्रिय भए पनि काम र भिजन दुवै अभाव भएकाले साउनमा उर्लिएको भेल जस्तै बालेनको पक्षमा झापाका मतदाता उर्लिन तयार नभएको दाबी यहाँका एमालेको छ ।

झापा एमाले अध्यक्ष प्रेम गिरीका अनुसार बालेनले झापा-५ का मतदाताको मनोभावना बिगार्ने गतिविधि गरेकाले एमालेले कार्यकर्ताहरू परिचालन गरेर त्यसको प्रतिरोधमा लागिरहेको छ ।

सचिवालयका अनुसार यहाँ अहिले पनि बालेनले भित्री रुपमा थुप्रै कार्यकर्ता र समर्थक खटाएर झापा-५ को माहोल बनाउने काम गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पुरानालाई होइन, अब नयाँलाई अवसर दिऊँ भन्ने नारा अगाडि बढाएको छ । यसले युवा मतदातामाझ लोकप्रिय बालेनलाई केपी ओलीविरुद्ध बलियो बनाउने सचिव शम्भु सुस्केराको दाबी छ ।

सुस्केरा झापा-५ बाट बालेन विजय भएपछि प्रधानमन्त्री बन्ने कुरामा अलमलको अवस्था नरहेको बताउँछन् । ‘ऊर्जा र उल्लासबिना एउटै उम्मेदवारलाई झापा-५ का जनताले जिताए, भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा हाम्रा छोराछोरीको हत्या भएको छ । घटना हुँदा प्रमुख जिम्मेवारलाई कुनै हालतमा जिताएर पठाउँदैनन्’, सुस्केरा भन्छन्, ‘राजनीतिक सन्देश झापाबाट राम्रो जान्छ । बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी झापाबाट हार्ने सम्भावना नै छैन ।’

यहाँ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले बालेन र ओली कसैलाई सहयोग गरेमा जित सुनिश्चित हुनेछ । तर त्यसको सम्भावना टरेर गएको राप्रपा अध्यक्ष लिङ्देन बताउँछन् ।

२०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूको मत हेर्दा झापा ५ मा एमालेको मात्रै मत ४१ हजार ६१९ छ । यहाँ दोस्रो बनेको कांग्रेसको २२ हजार २२ थियो । नेकपा माओवादी केन्द्रको जम्मा १० हजार ७७८ मात्रै थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यस निर्वाचन क्षेत्रमा ८ हजार ३५३ मात्रै मत ल्यायो । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक हजार ९८८ मत ल्यायो ।

दमक नगरपालिकाको प्रमुख जितेका राप्रपाका राम थापाले कांग्रेस र माओवादीसहितको गठबन्धनको साथ पाएका थिए । तर स्थानीय तहको गठबन्धन प्रतिनिधिसभामा आइपुग्दा उल्टियो । जहाँ एमाले र राप्रपा मिलेर कांग्रेस–माओवादीलाई धक्का दिए ।

ओली झापा क्षेत्र नम्बर ५ मा २०४८ सालदेखि उठिरहेका छन् । माओवादीको लहर भएको ०६४ सालमा उनी विश्वदीप लिङ्देनसँग पराजित भए । २०७९ मङ्सिरमा भएको निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएर कांग्रसेका डा. खगेन्द्र अधिकारीलाई हराए ।

त्यसबेला अधिकारीको मत २३ हजार ७४३ थियो । बालेनजस्तै ओलीविरुद्ध सार्वजनिक रुपमै लेख्ने बोल्ने गर्दै आएका युग पाठक सञ्चारमाध्यममा हल्ला गरेर ०७९ सालमा झापा-५ पुगे । तर उनले हजार भोट पनि कटाउन सकेनन् । त्यसबेला ३५६ मत ल्याउँदै उनी काठमाडौं फर्किए ।

त्यसबेला रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याए । समानुपातिकमा एमालेले ३५ हजार ८७ ल्याउँदा रास्वपाको मत १८ हजार २ सय ५  आयो । झापाबाट तेस्रो मत कांग्रेसले १६ हजार ८५९ मत पायो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार योपटक झापा ५ मा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छ्न । ७९ को निर्वाचनपछि यहाँ १० हजार मतदाता थपिएका हुन् ।

०७४ को झापा ५ मा एक लाख ३७ हजार ५४१ मतदाता थिए । जसबाट ओलीले मात्रै ५७ हजार १३९ मत पाए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याए । २०७९ मा एमालेविरुद्ध पाँच दलीय गठबन्धन बन्दा पनि ओली रक्षात्मक अवस्थामा पुग्ने अवस्था थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितले यहाँ ओलीलाई परास्त गर्न सारा रणनीति बनाए । तर परिस्थिति उल्टो भयो ।

ओलीको निर्वाचन क्षेत्र रहेको दमक नगरमा राप्रपाले स्थानीय तहको चुनाव जित्दा अनेक आशंका पनि गरिए । तर ओलीले त्यही राप्रपाको पनि साथ लिएर गठबन्धनलाई लोकप्रिय मतसहित घुँडा टेकाए । यस पटक पनि राप्रपासँग अन्तिमसम्ममा गठबन्धन हुने ओलीले संकेत गरेका छन् ।

तर, राप्रपा अध्यक्ष लिङ्देन कुनै पनि हालतमा यसपटक गठबन्धन गरेर अगाडि नबढ्ने दाबी गर्छन् । ‘राप्रपाले यसपटक कसैसँग गठबन्धन गर्दैन । जनतासँग मात्रै गठबन्धन गर्छ’, लिङ्देनले भने, ‘गठबन्धनका लागि प्रस्तावहरू आएका छन् तर हामीले त्यसलाई स्वीकारेका छैनौँ र स्वीकार्दैनौँ ।’

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ६ : २८ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका