मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह « Khabarhub

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ । मौसम परिवर्तनसँगै बढ्दो वायु प्रदूषणका कारण भाइरल ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने र श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको सङ्ख्या बढेको चिकित्सक बताउँछन् ।

विशेषगरी काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा वायु प्रदूषण बढ्नु यसको प्रमुख कारणमध्ये एक रहेको चिकित्सकको भनाइ छ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकाका निजामती कर्मचारी अस्पताल (सिभिल), वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत निजी तथा सरकारी अस्पतालमा बिरामीको सङ्ख्या बढिरहेको चिकित्सक बताउँछन् ।

निजामती अस्पतालमा कार्यरत फिजिसियन डा. जेन्नर कुरुङबाङले पछिल्लो केही सातादेखि रुघाखोकी तथा भाइरल ज्वरोका बिरामी बढिरहेको जानकारी दिए । उनका अनुसार सिभिल अस्पतालको बहिरङ्ग विभाग (ओपीडी) मा आउने बिरामीमध्ये आधाभन्दा बढी भाइरल ज्वरो तथा रुघाखोकीकै समस्या लिएर आउने गरेका छन् । ओपीडीमा आएका बिरामीमध्ये कतिपयलाई श्वासप्रश्वासमा कठिनाइ भएपछि भर्ना नै गरेर उपचार गर्नुपरेको उनले बताए । सबै उमेर समूहमा यो समस्या देखिए तापनि बालबालिका, ज्येष्ठ नागरिक तथा मधुमेह र उच्च रक्तचापजस्ता दीर्घरोग भएका बिरामीलाई अझ बढी समस्या हुने गरेको डा. कुरुङबाङको भनाइ छ ।

वायु प्रदूषण र सङ्क्रमणको जोखिम
मौसम परिवर्तनसँगै विभिन्न प्रकारका भाइरसहरू सक्रिय हुने भएकाले वर्षेनी यतिबेला रुघाखोकी तथा भाइरल ज्वरोका बिरामी बढ्ने गरेको डा. कुरुङबाङले बताए । त्यस्तै, चिसो मौसम सकिएर गर्मी सुरु हुने सङ्क्रमणकालीन समयमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर बन्ने र सङ्क्रमणको जोखिम बढ्ने उनको भनाइ छ ।

विशेषगरी बिहान–साँझ तापक्रममा हुने उतारचढावले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगी बढी प्रभावित हुने देखिएको छ । त्यसमाथि काठमाडौं उपत्यका लगायत विभिन्न सहरी क्षेत्रमा बढ्दो वायु प्रदूषणले समस्या झनै जटिल बनाएको डा. कुरुङबाङले बताए । धुलो, धुवाँ र प्रदूषित हावाका कारण श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण छिटो फैलिने र रुघाखोकी तथा भाइरल ज्वरोको जोखिम बढ्ने उनको तर्क छ । उनका अनुसार प्रदूषणका कारण घाँटीमा जलन, सुक्खा खोकी र एलर्जीसम्बन्धी समस्यासमेत देखिने गरेको छ ।

यस्तो समयमा मास्क प्रयोग गर्ने, भीडभाडबाट जोगिने, तातो तथा झोलिलो खानेकुरा सेवन गर्ने, पर्याप्त पानी पिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिन उनले सुझाव दिएका छन् । वायु प्रदूषण बढ्दो क्रममा रहेकाले अझै केही साता सतर्कता अपनाउन उनको आग्रह छ ।

जोखिममा को-को ?
-वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिक।
-मधुमेह, उच्च रक्तचाप (प्रेसर) र मिर्गौला सम्बन्धी दीर्घरोगी।
-दम वा श्वासप्रश्वासको समस्या भएका व्यक्ति।

के हुन् लक्षण ?
रुघाखोकी लागेका बिरामीमा नाक बग्ने वा बन्द हुने, हाछ्युँ आउने, घाँटी दुख्ने वा खसखस हुने, सुक्खा खोकी लाग्ने, टाउको भारी हुने, हल्का ज्वरो आउने तथा शरीर थकान हुने लक्षण देखिन्छन् । यस्तो समस्या सामान्यतया सामान्य प्रकृतिको हुने र ३ देखि ७ दिनभित्र आफैँ निको हुने डा. कुरुङबाङले जानकारी दिए ।

त्यसैगरी भाइरल ज्वरोका बिरामीमा अचानक ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, आँखा भारी हुने, कमजोरी तथा थकान हुनेजस्ता लक्षण देखिने गरेका छन् । कतिपय बिरामीमा वान्ता वा झाडापखालासमेत हुने गरेको उनले बताए ।

भाइरल ज्वरो प्रायः ३ देखि ५ दिनसम्म रहने र पर्याप्त आराम, झोलिलो खानेकुरा तथा प्रशस्त पानी पिउँदा निको हुने गर्दछ । यदि ३ देखि ५ दिनसम्म पनि निको भएन र सास फेर्न गाह्रो हुने, छाती दुख्ने, अत्यधिक कमजोरी हुने वा बेहोस हुनेजस्ता लक्षण देखिएमा ढिलो नगरी नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह अनुसार उपचार गराउन उनको सुझाव छ ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा यस्तो समस्या जटिल बन्न सक्ने भएकाले बढी सतर्कता अपनाउनुपर्ने उनले बताए । साथै मौसम परिवर्तनको समयमा व्यक्तिगत सरसफाइमा ध्यान दिने, भीडभाडमा मास्क प्रयोग गर्ने, पोषिलो खानेकुरा खाने र पर्याप्त आराम गर्ने बानीले यस्ता सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने डा. कुरुङबाङले स्पष्ट पारेका छन् ।

बच्ने उपाय
मास्कको प्रयोग: धुलो र धुवाँबाट बच्न घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउने।
खानपान: तातो तथा झोलिलो खानेकुरा प्रशस्त खाने, पानी धेरै पिउने।
सरसफाइ: नियमित साबुन-पानीले हात धुने र भीडभाडमा नजाने।
आराम: सङ्क्रमण भएको बेला शरीरलाई पूर्ण आराम दिने र पोषिलो खानेकुरा खाने।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : ३१ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।