काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई सभापति रविले धन्यवाद दिएका थिए । उता सुशीलाले पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नमा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि ठूलो हात रहेको भन्दै आफूलाई सहयोग गरेकामा धन्यवाद दिइन् ।
करिब एक घण्टा भएको संवादमा रविले आफ्नो पार्टीले अनपेक्षित नतिजा ल्याएको स्वीकार गरेका थिए । जनताले परिवर्तन चाहेका छन् भन्ने आफूलाई थाहा भएको तर यति धेरै साथ पाइन्छ भन्ने अपेक्षा नगरेको रविले प्रधानमन्त्रीलाई सुनाए । रविले आफ्नो पार्टी पहिलो शक्ति बन्ने अनुमान गरेपनि यति ठूलो हुन्छ भन्ने अपेक्षा नगरेको प्रधानमन्त्रीलाई सुनाएका थिए ।
प्रधानमन्त्रीले पनि जनताले परिवर्तनको सन्देश निर्वाचनअगावै दिएको बताउँदै परिवर्तनको कारण पुराना दलको यो हालत हुन्छ भन्ने कुराको अपेक्षा नगरेको बताइन् । यसअघि शनिबार प्रधानमन्त्री कार्कीले संविधानविद्हरूसँग पनि छलफल गरेकी थिइन् ।
उनीहरूलाई प्रधानमन्त्रीले २० घण्टा खटेर आफूले निर्वाचन सम्पन्न गराएको अनुभव सुनाएकी थिइन् । छ महिनामा सरकारले गर्न सक्ने काम गरेको बताउँदै उनले अब भदौ २३ र २४ गते भएको आन्दोलनबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरिए आफूलाई ढुक्क हुने सुनाइन् ।
शनिबार बालुवाटारमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, चन्द्रकान्त ज्ञवाली, विपिन अधिकारी, पूर्णमान शाक्य र रामनारायण बिडारीसँगको छलफलमा पनि उनले कानुनी र संवैधानिक कारण प्रतिवेदन सार्वजनिक गर्न नमिले अबको सरकारले गर्ने अपेक्षा गरेकी थिइन् ।
उनले आफूले प्रतिवेदन सार्वजनिक नगर्दा जिन्दगीभर खड्किरहने बताउँदै कानूनी र संवैधानिक प्रक्रियाहरूको विषयमा पनि गहिरो छलफल गरेकी थिइन् । प्रधानमन्त्रीले आफूले स्वार्थ राखेर दाग लाग्ने काम नगरेको स्पष्ट गरिन् ।
जेन-जी आन्दोलनको चिन्ता
प्रधानमन्त्री कार्कीले रविसँगको भेटमा जेन-जी आन्दोलनबारे निकै गम्भीर छलफल गरेकी थिइन् । आन्दोलनपछि आयोग गठन गरिएको थियो ।
जेन-जीहरूले दबाब दिइरहँदा मन्त्रिपरिषदबाट उक्त प्रतिवेदन कार्यान्वयनमा गइसकेको छ । प्रधानमन्त्री कार्कीले प्रतिवेदन सार्वजनिक गरेकी छैनन् । आवश्यक कार्यान्वयनका लागि विभिन्न निकायहरूमा प्रतिवेदन पुग्ने प्रक्रियामा छ ।
रवि संविधानविद् र अरुसँगको भेटमा पनि यसबारे उनले गम्भीर कुराकानी गरेको भेट वार्तामा संलग्न व्यक्तिहरू बताउँछन् । ‘आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने सडकबाट दबाब बढ्दा प्रधानमन्त्री कार्कीलाई निकै चुनौती महसुस भएको रहेछ । सार्वजनिक गर्नुपर्ने चुनौती छ भनेर हाम्रो सभापतिज्यूलाई पनि भन्नुभएको छ । मन्त्रिपरिषदबाट सम्बन्धित क्षेत्रमा कार्यान्वयनको प्रक्रियामा गइसकेकाले प्रतिवेदन कहिले सार्वजनिक गर्न पाइन्छ भन्ने कुराको टुङ्गो छैन ।’ रवि निकट स्रोतले भन्यो, ‘आफूले प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने अवस्था आए अबको सरकारले आवश्यक कानुनी र संवैधानिक प्रक्रिया पूरा गरिसकेपछि प्रतिवेदन सार्वजनिक गरिदियोस् भन्ने चाहना राख्नुभएको छ । हामीले पनि संवैधानिक र कानुनी जटिलतालाई मध्यनजर गर्दै प्रतिवेदन सार्वजनिक गर्ने विश्वास दिलाएका छौँ ।’
रविको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री कार्कीले प्रतिवेदन सार्वजनिक नगरेमा शहीद र जेन-जीको आँसु आफूलाई लाग्ने समेत बताएकी थिइन् । कार्कीले यसो भनेपछि रविले पनि कुनै पनि रूपमा जेन-जी र शहीदको अपमान हुन आफूले नदिने बताएका थिए । उनले आफ्नो सरकारले पनि दोषीलाई कानुनको दायरामा ल्याउने बताउँदै कुनै पनि हिसाबले कसैमाथि दोषी भए छुट नहुने बताए । उनले कानुनी प्रक्रिया पूरा गरेर प्रतिवेदन सार्वजनिक हुने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रधानमन्त्री स्रोतका अनुसार कार्कीले आफूपछि प्रधानमन्त्री बन्न लागेका बालेन्द्रसँग पनि भेटवार्ता गरेर प्रतिवेदनलाई गम्भीर रुपमा कार्यान्वयन गर्नुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिने छिन् । स्रोतले दिएको जानकारी अनुसार अनौपचारिक रूपमा बालेन र कार्कीबीच छलफल भइरहे पनि औपचारिकता समेत दिने तयारी छ ।
बालेन्द्रले पनि प्रधानमन्त्री कार्कीले खेलेको भूमिका र कठिन समयमा सरकारको बागडोर सम्हालेको प्रति सार्वजनिक रुपमै प्रशंसा गर्दै आएका छन् । अहिलेसम्मको अवस्था हेर्दा कानुनी प्रक्रिया पूरा गरेर कार्कीले नै प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरे पनि समय अपुगका कारण त्यो सफल हुन्छ, हुँदैन टुङ्गो लागेको छैन । कार्कीले प्रतिवेदन सार्वजनिक नगरे पनि आगामी बन्ने बालेन्द्र नेतृत्वको सरकारले भने त्यसको कानुनी प्रक्रिया पूरा गरेर सार्वजनिक गर्ने र गराउने प्रक्रियामा कार्कीले पनि भूमिका खेल्नेछिन् ।
कार्की नेतृत्वको सरकारप्रति सदाशयता
रवि र प्रधानमन्त्री बीच भेटघाटमा केही दुःखसुखका कुराकानी समेत भएका थिए । प्रधानमन्त्रीले रविलाई विभिन्न आरोपहरू आइरहेकाले त्यसको कानुनी प्रक्रिया पूरा गरेर मात्र आवश्यक कदम चाल्न सुझाव दिएकी थिइन् । प्रधानमन्त्री कार्कीले आफूले पनि दिनरात खटेर राम्रो काम गर्दागर्दै विभिन्न क्षेत्रमा आलोचना भइरहेकाले सरकारलाई घाटा लाग्ने र देशलाई कुभलो हुने कुनै पनि किसिमको काम नगरेको बताइन् ।
उनले आफू प्रधानमन्त्री भएपछि मुख्य ध्यान सफल कार्यकाल बनाउने र निर्वाचन सम्पन्न गराउने भएको बताउँदै ६ महिनाको अथक मेहनतका कारण निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको सुनाइन् । सरकारले गरेका हरेक निर्णय पनि जनतामुखी भएको बताउँदै प्रधानमन्त्री कार्कीले आफूले यसरी मेहनत गरेर काम गर्दागर्दै पनि विभिन्न आरोपहरु खेप्नुपरेको भन्दै दुखेसो गरिन् ।
‘दिनरात नभनी काम गरेको छु । मैले देशलाई राज्यलाई र सरकारलाई घाटा हुने कुनै पनि कुकाम गरेको छैन । तर, ममाथि आलोचना हुने गरेको छ । म यो सहन तयार छु ।’ प्रधानमन्त्री कार्कीले रविलाई भनिन, ‘मेरो मुख्य एजेन्डा र ध्यान शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न होस् र नयाँ जनादेशलाई सरकार सुम्पिन पाइयोस् भन्ने थियो त्यो मैले पूरा गर्दैछु । अब गौरीबहादुर कार्कीज्यूको आयोगले बनाएको प्रतिवेदनलाई पूर्ण कार्यान्वयन गराएपछि र सार्वजनिक गरेपछि मलाई ढुक्क हुन्छ ।’
कार्कीले त्यति भनेपछि रविले यो सरकारले गरेका कुनै पनि कामका विषयमा पार्टीको तर्फबाट कुनै पनि आपत्ति नरहेको बताएका थिए । उसले अझ केही दिन सरकारको आयु बाँकी रहेकाले अन्तिम दिनसम्म पनि काम गर्न सक्ने र आफूले त्यसमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘यहाँको साहस निडर र सक्षमतालाई मैले जहिले पनि प्रशंसा गर्नैपर्ने हुन्छ। यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीका तर्फबाट कुनै आपत्ति छैन । अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ ।’ बालुवाटार स्रोतले दिएको जानकारी अनुसार रविले भनेका थिए, ‘ऐतिहासिक अभिभारा पूरा गरेको सरकारप्रति त हाम्रो उच्च सम्मान छ। मलाई पनि पूरा भरोसा र विश्वास छ यहाँले गलत गर्नुभएको छैन । र यो सरकारले गरेको कामलाई हामीले पूरापूर विश्वास गरेका छौँ र शीरोधार्य पनि गरेका छौँ । आयोगको प्रतिवेदन कार्यान्वयनमा गइसकेको जानकारी मलाई पनि भएको हुनाले अबको सरकारले त्यो काम अगाडि बढाउँछ। मलाई यहाँप्रति कुनैपनि हिसाबले गुनासो छैन ।’
रविले प्रधानमन्त्री कार्कीलाई तत्काल राजीनामा नदिन र अन्तिम दिनसम्म पनि काम गर्न भनेका थिए । प्रधानमन्त्री कार्कीको सचिवालयले दिएको जानकारी अनुसार पनि उनले १२ गते अगाडि राजीनामा दिने तयारी गरेकी छैनन् । ‘प्रधानमन्त्रीज्यूले १२ गते अगाडि राजीनामा दिने तयारी गर्नुभएको छैन । १३ गते प्रधानमन्त्री नियुक्ति हुने भएकाले उहाँले १२ गते बेलुकासम्ममा राजीनामा दिन सक्नुहुन्छ अथवा १३ गते बिहान दिने अवस्था छ ।’
प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्री र हामी सबैले एकैपटक १२ गते बेलुका अथवा १३ गते राजीनामा बुझाउँछौँ होला । त्यहाँभन्दा अगाडि पनि हामीले धेरै काम सक्नुपर्नेछ । अहिले हाम्रो मुख्य यो सरकारले टुङ्ग्याउनुपर्ने काम र आयोगको प्रतिवेदन सार्वजनिक गर्नेमा छ ।’













प्रतिक्रिया