पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैशी सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् । जैशीले आफूलाई सहकारी पीडितको रूपमा चिनाउँदै आएका थिए ।
सूर्यदर्शन सहकारीका पीडितको कार्यक्रममा समेत उनी उपस्थित हुने गरेका थिए । कास्की प्रहरीले सोमबार उनलाई अर्को सहकारी ठगी प्रकरणमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई पोखराकै धनुस बचत तथा ऋण सहकारी संस्थाबाट १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको प्रकरणमा पक्राउ गरिएको हो ।
जैसीमाथि सहकारीको ८३ लाख रुपैयाँ अपचलन गरेको आरोप छ ।
सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशले गरेको दोस्रो चरणको छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीलाई कारबाही अघि बढाउन आइतबार मात्र निर्देशन दिइएको थियो ।
प्रतिवेदन बुझाएको भोलिपल्टै प्रहरीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो । यद्यपि प्रहरीले हालसम्म केही विवरण खुलाएको छैन ।
छानबिन प्रतिवेदनअनुसार सहकारीमा भएको कुल हिनामिनाको प्रमुख हिस्सा विभिन्न पदाधिकारी तथा सम्बद्ध व्यक्तिहरूबाट भएको देखिएको छ ।
साबिक साइनो सहकारीसँग एकीकरण पूर्व नै इन्जिनियर असिम बराल (एबिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक), गमरेजजंग गुरुङ परिवार श्रीमती काशिमाया गुरुङ र छोरी सिर्जना गुरुङले ३ करोड १७ लाख रुपैयाँ घोटाला गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका व्यवस्थापक विराज सुवेदीले २ करोड १५ लाख रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, व्यवस्थापक तथा सचिवको दोहोरो जिम्मेवारी सम्हालेका जगत पौडेलले एक करोड २५ लाख रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ ।
ऋण समितिमा रहेका कृष्णप्रसाद जैशीले ८३ लाख रुपैयाँ अपचलन तथा हिनामिना गरेको प्रतिवेदनले औँल्याएको छ ।
सहकारीका अध्यक्ष राजाराम सुवेदीले बेथिति देखिएपछि आफैँले रजिस्ट्रार कार्यालयमा छानबिन माग गरेका थिए ।













प्रतिक्रिया