टिप्पणी : भ्रष्टाचार र करछली छाडेर सुकुम्बासीतिर लाग्दै बालेन « Khabarhub

टिप्पणी : भ्रष्टाचार र करछली छाडेर सुकुम्बासीतिर लाग्दै बालेन


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएको विषय बाहिरिएको छ । उनले काठमाडौं उपत्यकाबाट नै सो अभियान सुरु गर्न निर्देशन दिएको जनाइएको छ ।

संसदमा झण्डै दुई तिहाईको बलमा बनेको बलियो सरकारले सकारात्मक कामको सुरुवात गर्नेमा सबै क्षेत्र आशावादी छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरु सरकारका सकारात्मक कामको पर्खाइमा पनि देखिन्छन् । सरकारले सुशासन र सुधारका क्षेत्रमा कतिपय सकारात्मक निर्णय गरेको पनि छ ।

तर, नीतिगत र संरचनात्मक रूपान्तरणको विषयलाई मूल मुद्दा बनाउन छाडेर सरकारले जनताको मनोविज्ञानमाथि खेल्न त खोजिरहेको छैन भन्ने आशंका पनि पैदा हुन थालेको छ । यद्यपि एक महिना अवधि पनि नपुगेको सरकारको समीक्षा गर्ने समय भने अझै भइसकेको छैन ।

सरकारको नेतृत्वमा बालेन आएलगत्तै नै जेन-जी आन्दोलनमा विद्यार्थी हत्याको अभियोगदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा शक्तिशाली व्यक्ति पक्राउ पर्ने र छुट्ने भइरहेका छन् । सुशासनको चर्को नारा दिएको सरकारले आफ्ना प्रयासहरू असफल हुँदै जाँदा भूमि उपयोगको नीतिबिनै सुकुम्बासीका टहरा भत्काउन थालेर मनोविज्ञान ‘डाइभर्ट’ गर्न खोजेको हो कि भन्ने प्रश्न पनि उब्जिएको छ ।

ओली लेखक पक्राउमा असफलता

बालेन प्रधानमन्त्रीको रूपमा आएको भोलिपल्टै प्रहरीले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनमा विद्यार्थी हत्याको अभियोगमा पक्राउ गरिएका ती दुवै जना अदालतको आदेशपछि रिहा भइसकेका छन् । जेन-जी आन्दोलनको विषयमा पूर्व प्रधानन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बनाएको प्रतिवेदनको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गर्दा प्रहरीले छाड्नुपरेको स्पष्ट देखिन्छ ।

सो विषयमा सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले नै चयनमुखी प्रक्रिया हुनेगरी प्रहरीमाथि फेरि अनुसन्धान गर्ने र अन्यको हकमा सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

एमाले लगायतका विभिन्न पक्षले कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण रहेको भन्दाभन्दै सोही प्रतिवेदको आधारमा उनीहरूलाई गिरफ्तार गर्दा सरकारको चिप्लिन पुगेको देखिन्छ । ओली-लेखकमाथि गरेको अनुसन्धानमा अहिलेसम्म प्रहरीले अदालतमा मुद्दा दायर समेत गरेको छैन ।

दीपक भट्ट पक्राउले सरकारबाट बाहिरिए सुधन

सम्पत्ति शुद्धीकरणको विषयमा प्रहरीले चैत १९ गते व्यवसायी दीपक भट्टलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ । भट्ट पक्राउ परेपछि सम्पत्ति शुद्धीकरणकै विषयमा शंकर ग्रुपका अध्यक्ष र सञ्चालक शंकर अग्रवाल र उनका छोरा सुलभ अग्रवाल पनि चैत २२ गते पक्राउ परे ।

जसमध्ये शंकर हाजिरी जमानीमा रिहा भइसकेका छन् भने दीपक भट्ट र सुलभ अग्रवाल भने प्रहरी अनुसन्धानको क्रममा हिरासतमै छन् । तर, भट्टको पक्राउसँगै विभिन्न मिडियाले बाहिर ल्याएका कागजात र प्रतिवेदनले भने ठूलो पङ्क्तिलाई भट्टको साझेदारको रूपमा सार्वजनिक गरिदियो । श्रृंखलाबद्ध रूपमा सार्वजनिक भएका कागजात तथा प्रतिवेदनमा गृहमन्त्री सुधन गुरुङसहित अन्य व्यवसायी, न्यायालयदेखि कर्मचारीतन्त्रका धेरै व्यक्ति र तिनका परिवार जोडिएको देखाएको छ ।

राज्यको अनुसन्धानकारी निकाय गृह मन्त्रालयको नेतृत्व नै अनुसन्धानको घेरामा रहेको व्यक्तिको साझेदार हुन नहुने भन्दै मिडियादेखि सामाजिक सञ्जालसम्मबाट चर्को टिप्पणी हुन थालेपछि भने सुधन गुरुङले राजीनामा दिएर बाहिरिए । बाहिरिएका प्रमाणले भने निकै ठूलो समूहलाई अनुसन्धानको दायरामा ल्याउनपर्ने स्पष्ट देखाइसकेको छ ।

तर, सरकारको एउटा पक्ष भने बृहत् अनुसन्धान अगाडि बढाउँदा अर्थतन्त्र नै हल्लिने तर्क गरेर चयनमुखी अनुसन्धानमा बल गर्नुपर्नेमा जोड दिएको देखिन्छ । जसले गर्दा सरकार व्यवसायी दीपक भट्टमाथिको आवश्यक अनुसन्धानमा कतै असफल त हुँदैन भन्ने आशंका पैदा गरेको छ ।

भूमिमा रास्वपाको यथास्थितिवादी नीति, आक्रमणको निशानामा ‘सुकुम्बासी’

राष्ट्रिय स्वतन्त्र पार्टी वा बालेन सरकारसँग नेपालको भूमिको वितरण प्रणाली र स्वामित्व प्रणालीसम्बन्धी कुनै नयाँ नीति भएको देखिँदैन । रास्वपाको वाचापत्रमा उत्पादन र औद्योगिकरणको विषयलाई लिएर भूमिको नयाँ वर्गिकरण वा उपयोग वा नीतिको विषय उल्लेख छैन । बरु रास्वपाले नक्कली सुकुम्बासीलाई छुट्याउन अधिकार सम्पन्न भूमि प्राधिकरण गठन गर्ने घोषणा गरेको छ ।

त्यस्तै, बालेन सरकारले पनि अगाडि सारेको एक सय कार्यसूचीमा पनि नेपालको औद्योगिक, कृषि र व्यावसायिक कृषि क्षेत्रको विकासको लागि भूमिसम्बन्धी नयाँ नीति लिने विषय उल्लेख छैन । विगतका सरकारले झैँ नेपालमा सुकुम्बासी मात्रै समस्या हुन् भन्नेजस्तो व्यवहार वर्तमान सरकारले पनि प्रर्दशन गर्न खोजेको स्पष्ट देखिएको छ । जसले वास्तविक भूमिहीन समस्याको हल गर्न सक्दैन ।

नेपालको इतिहास अध्ययन गर्दा केही पुस्ता यता मात्रै भूमिको वितरण र स्वामित्व कायम गर्दै आएको पाइन्छ । जुन प्रक्रियामा असक्षमहरू र केही जाति जमिनको स्वामित्वबाट पर पुगेको विभिन्न तथ्यांकहरूले स्पष्ट देखाउँछन् । 

तर, सबै एतिहासिक यथार्थ र वर्तमानमा मुलुकको तीव्र विकासका लागि नयाँ नीति तर्जुमा गर्ने विषयलाई पर सारेर बालेन सरकार पनि परम्परागत दृष्टिकोणका साथ सुकुम्बासी बस्ती खाली गराउने अभियानमा खटिन लागेको छ । यद्यपि सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व सरकारको हो । तर, जनताको आवासको अधिकार सुरक्षित गर्दै विकासको नेतृत्व गर्ने दायित्व पनि सरकारको नै हो ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ५ : २५ बजे

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

दशरथचन्द– अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन